नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताउनु भएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताउनु भयो ।
२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उहांको भनाइ थियो । उहांले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गर्नु भयो ।
‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’
पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताउनु भयो । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप लगाउनु भयो ।
ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको पुनले आरोप लगाउनु भयो । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ ।
निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गर्नु भयो । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गर्नु भयो । राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताउनु भयो । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताउनु भयो । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।