किन गरिन्छ म्ह:पूजा र भाइटीका ?

गणतन्त्रनेपाल डटकम

नेपाल उपत्यकावासी तथा प्रवासी नेवार जातिले कार्तिक शुक्ल प्रतिपदाको दिन बेलुकी देह शुद्धि तथा कल्याणको निम्ति गरिने पूजालाई म्ह:पूजा भनिन्छ भने द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई पूजा गरी मखमलीको माला लगाई एकआपसमा दीर्घायू र कल्याणको कामना गर्ने दिन हो–भाइटीका ।

त्यतिखेर मलाई तिहार पैसा उपार्जन हुने र गर्न सकिने चाडको रूपमा लाग्थ्यो । जसरी दशैंमा पैसा प्राप्त गर्न उद्यत रहन्थें त्यसरी नै तिहारमा लक्ष्मीपूजाका दिन स्कूल चलाउन आवश्यक पैसा जोरजाम गर्न भैलो खेल्ने गर्थें । यसरी पनि पैसा उठाई स्कूल चलाएकी थिएँ ।

वर्षाऋतु बितेर स्वच्छ, शीतल, शरद् ऋतुको शुभागमन भइसकेपछि निर्मल नभले नौलो नेत्र लिई निहारिरहेको बखत तिहार चाड देखापर्छ अनि कसैकसैले शास्त्रोक्त कथनको अनुशरण गरी यसलाई कार्तिक कृष्ण द्वादशीकै दिनदेखि गज र गणेशको पूजा गरी स्वागत गर्न थाल्छन् तर व्यवहारिक तवरबाट यस चाडलाई धेरैजसो मानिसले कात्र्तिक कृष्ण त्रयोदशीको दिनदेखि द्वितीयाको दिनसम्म जम्मा पाँच दिनमात्र प्रत्येक दिन विविध प्रकारले पाठ, पूजा, उत्सव तथा अन्य अनेक कार्य गरी मनाउँछन् ।

यस चाडमा पाँचदिनसम्म धर्मराजले पनि आफ्ना दैनिक कार्यलाई स्थगित राखी आफ्नी बहिनी जमुनाकहाा पाहुना बनी बस्न जाने गर्नुहुन्छ भन्ने किंवदन्ती छ । त्यसैले यो चाड यमपञ्चक भन्ने नामले पनि प्रख्यात छ । यस चाडको आगमनमा मानिसहरूले आफ्नो हार्दिक हर्षोल्लास दर्शाउन विशेष किसिमका विभिन्न कार्य गर्छन् ।

यस चाडको बखत लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको दिनसम्म जम्मा तीन दिन बेलुकी आआफ्नो घरको दैलो, संघार, म्याल, ढोका, चोटा, कोटा, अटाली, कौसी, बरण्डा, भर्‍याङ्ग आदि ठाउँठाउँमा दियो, पाला, पातको खोरी वा केराका सुत्लाहरूमा घिउ वा तेल हाली बत्ती बाली झलमल्ल हुने गरेर दीपावली गरिन्छ । त्यसकारण यस चाडलाई दीपावली चाड पनि भनिन्छ । फेरि यसै चाडलाई नेवारी भाषाबाट ‘स्वन्ति नख:’ अर्थात् ‘स्वन्ति चाड’ भनिन्छ । सायद् यो चाडको पाँचदिन भित्रमा गाईतिहार नामले प्रसिद्ध औंसीको दिन ज्योतिष शास्त्रअनुसार स्वाति नक्षत्रले संयुक्त भएको दिन परेकाले त्यही स्वाति नक्षत्रको अपभ्रंश नाम स्वन्तिबाट यस चाडको नामाकरण गरिएको हो कि ? किनभने गाईजात्रा एक दिने जात्राको आठै दिनको नाम ‘गाईजात्रा’ रहेको र विजयादशमीको अपभ्रंश दशैं नामले नौरथाभरिकै नाम दशैं रहेकोबाट यस कुराको अनुमान गर्न सकिन्छ । तर कुनैकुनै मानिसले तिहारलाई नेवारी भाषाबाट स्वन्ति नख: भनिएको बारे यस कुराको चर्चा गर्छन् । पहिले पहिले नेपाल उपत्यकामा तिहारको चाड लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म जम्मा तीन दिनमात्र मानिन्थ्यो । त्यसकारण यो चाडलाई ‘स्वन्हु तिथि नख:’ अर्थात् ‘तीन तिथिको चाड’ भनिन्थ्यो । पछि हुँदाहुँदा उक्त ‘स्वन्ति नख:’ भन्न थालेका हुन् । जेहोस्, यस चाडका अरू नामभन्दा ‘तिहार’ र ‘स्वन्ति’ भन्ने नाम नै ज्यादै प्रचलित छन् ।

यो तिहारको चाड मनाउने तरिकाबारे पद्मपुराणमा ब्रह्मवचन भनी यस्तो लेखिएको छ— कार्तिक कृष्ण द्वादशीको दिन हात्ती र गणेशको पूजा, त्रयोदशीको दिन कागको पूजा, चतुर्दशीको दिन कुकुरको पूजा र स्वाति नक्षत्रले संयुक्त भएको औंसीको दिन बिहान गाईपूजा र बेलुकी लक्ष्मीको पूजा गर्ने र अनि कार्तिक शुक्ल प्रतिपदाको दिन बिहान गोवर्धन र बलिको पूजा गरी आआफ्नो शरीरको समेत पूजा गरी केही खेलवाड गर्ने र त्यसको भोलिपल्ट अर्थात् द्वितीयाको दिन दिदीले भाइलाई वा बहिनीले दाजुलाई पूजा गरी तिहारको चाड मनाउने गरिन्छ ।

दशैं आउन लागेको बेलाझैं यो चाड आउन लाग्दा पनि केही दिन अघिबाटै घरघरमा लिपघस, सफासुग्घर गरिन्छ र पूजा र खानेकुराका सरजामहरू जोरजाम गरेर राखिन्छन् । कुनै चाडमा मासुलाई प्रधानता दिइने, कुनै चाडमा सखरखण्ड, पिंडालुलाई प्रधानता दिइने आदि कार्य गरिएझैं यो चाडको बखत अनेक थरिका मिठाई र फलफूललाई प्रधानता दिइने चलन छ । त्यसकारण यो चाडको बखत अनेक थरिका मिठाई र फलफूलको जोरजाम गर्नमा नै साराले ध्यान दिन्छन् । यो तिहारको बखत धनश्री रागमा नारायणको महिमा गीत गाइन्छ ।

तिहारको पहिलो दिन कागतिहार नामक त्रयोदशीको दिन पर्छ । त्यसैले यसदिन विहानदेखि घरघरबाट केटाकेटीहरू काग बोलाउन थाल्छन् । अनि अरू बखतमा भएदेखि मानिसलाई अजम्बरी हुने मौकाबाट बञ्चित हुने गरी अमृतको घडा घोप्ट्याइदिने चण्डाल भनी धेरैजसो मानिसले यातना दिन खोज्ने कागलाई ‘यमदूत’ र ‘संदेशवाहक’को प्रतीक मानी गृहस्थीहरू सबैले पूजा गरी केही खानेकुरो ख्वाउने गर्छन् । यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने लोकोक्ति पनि छ । फेरि यसै त्रयोदशीको दिन भैषजशास्त्रका धन्वन्तरीले अवतार लिनुभएको दिन भनी शास्त्रवत् कथनअनुसार यस त्रयोदशीलाई धन त्रयोदशी पनि भनिन्छ र यसदिन विशेषगरी वैद्यराज र अरूहरू पनि धेरैले धन्वन्तरीको पूजा गरी उत्सव मनाउँछन् ।

त्यसदिनको भोलिपल्ट चतुर्दशीको दिनलाई ‘नरक चतुर्दशी’ वा कुकुर तिहार भन्छन् । यसदिन पनि मानिसहरूले बिहान सबेरैदेखि उठी स्नान कार्य गर्छन् । त्यसपछि अरूबखत हेलाको दृष्टिले हेरिने र कसैलाई हेला गरी नामोच्चारण गर्नुपर्दा कुकुर भनिने प्राणीलाई पनि यमदूत र भैरवको बाहनको प्रतीक मानी अनेक खानेकुरो ख्वाई फूलमालाले सिंगारी पूजा गर्छन् । त्यसदिन कुकुरलाई कसैले कुट्ने पिट्ने गर्दैनन् ।

तिहारको तेस्रो दिन गाई तिहार र लक्ष्मीपूजाको नामले प्रख्यात छ । यो औंसीको दिन पर्छ । यो दिन चाड पर्वादिमध्ये रमाइलो चाड तिहारको पाँच दिनमध्ये पनि सबैभन्दा रमाइलो दिन हो । यसदिन बिहान मानिसहरूले गाईलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्छन् । अनि लक्ष्मीपूजाको रात सारा संसारमा लक्ष्मी डुल्छिन् र उज्यालो नभएको घरमा उनी जान्नन् भन्ने लोकोक्तिको अनुशरण गरी बेलुकी आफ्नो घरमा लक्ष्मीको बास होस् भन्ने हेतुले प्रत्येक गृहस्थी आआफ्ना घरमा लिपपोत गरेर शुद्ध पारी घरभरि तिहारका अरू दिनभन्दा बढी बत्ती र अनेक सुगन्धी धूप बाल्छन् । रुपियाँ, पैसा, धान, चामल तथा किसिम किसिमका फलफूल, रोटी, फूलका माला र चौरासी व्यञ्जन आदि अनेक पदार्थ चढाई सुनचाँदीको लक्ष्मीको मूर्ति या कागजमा लेखिएका लक्ष्मीको चित्र र धनदेव अर्थात् अष्ट दिग्पालमध्ये उत्तर दिशाका दिग्पाल कुवेरको पनि पूजा गर्छन् । साथै घरघरमा छोरीहरूलाई पनि लक्ष्मीको प्रतीक मानी पूजा गर्छन् । त्यसै अवसरमा भकारी, सेफ र ढुकुटीको पनि पूजा गरिन्छ । यस दिन मध्यान्हदेखि नै लक्ष्मीको स्वागत गर्न प्रत्येक घरका केटाकेटीहरूले आआफ्नो घरको ढोका, झ्याल र भर्‍यङको दायाँवायाँ चक्काचक्का पारेर लिप्दै तिनीहरूमाथि अक्षता, फूल, सिंदूर र फलफूल राखी मालाहरू राख्छन् र घरका दैलोमा बसी लक्ष्मीलाई अनेक गाना गाई वा केही भाषा भट्याई बोलाइरहेका केटाकेटीहरूका मायालु स्वर गुन्जिरहन्छन् ।

लक्ष्मीपूजा गरिसकेपछि लक्ष्मीको फूलप्रसाद लिई भोज खाइन्छ । यस्ता कार्यले गर्दा लक्ष्मीपूजाको दिनले भन्दा रातले हाम्रो हृदयमा चिरस्मरणीय छाप लगाइदिन्छ । लक्ष्मीपूजा गरिसकेपछि त्यस दिन आफूसँग भएको पैसा वा कुनै पदार्थ बाहिर पठाउनु हुन्न, लक्ष्मी जान्छिन् भन्ने लोकोक्ति छ । त्यसकारण सहरतिरका कुनैकुनै मानिसले लक्ष्मीपूजाको दिन पूजा गरिसकेपछि आफूलाई नभई नहुने पदार्थ किनमेल गर्ने कार्य समेत गर्दैनन् । तर गाउँघरतिर यसै लक्ष्मीपूजाको राती भैलो र द्यौसी माग्ने भनी केटाकेटीहरू र युवकयुवतीहरू एकएक जमात मिली भैलो गीत गाउनेलाई पैसा वा खानेकुरा दिने पनि गर्छन् ।

लक्ष्मीपूजा गर्ने तरिकाबारे पनि लक्ष्मी कुलार्णव तन्त्रमा उल्लेखित गरिएको कुरा भनी नेपाल वर्षक्रिया पुस्तकमा यस्तो लेखिएको छ, ‘लक्ष्मीपूजाको दिन घरमा लिपपोत गरी बढारिसकेपछि बिहान गाईको पूजा गर्ने, बेलुकी घरभरि दीपावली गर्ने र सुगन्धी धूप बाल्ने अनि ढुकुटीमा अविरादि पाँच रङले लक्ष्मीको मण्डप पनि बनाई लावा, अक्षता, धान तथा सुगन्धी फूल र तेलको मण्डप पनि बनाउने, कुचो, पूर्ण जलघडाको पनि स्थापना गर्ने अनि दही, बिमिरो, केरा, मूला आदि नानाप्रकारका फलफूल र रोटी चढाई पंचोपचारसहित लक्ष्मीको पूजा गर्ने । पूजा गर्दा महालक्ष्मी पहेंलो वर्णकी, पहेंलो वस्त्र धारण गरेकी, रत्नको गहना लगाएकी, घुंगुरिएका कपाल भएकी, मुस्कुराएकी, पद्मको आसनमाथि ललितासन गरी कछुवाको शरीरमाथि विराजमान भएकी भनी सम्झी ध्यान र पाठ गर्ने, त्यसपछि चौरासी व्यञ्जनले संयुक्त भएको खानेकुरा र दक्षिणा चढाई प्रार्थना आदि कार्य गर्ने र लक्ष्मीको प्रसाद टीका र फूल आफ्नो परिवारले लाउने । आजकल पनि लक्ष्मीको पूजा गर्दा यसै रीतले गरिन्छ । तर साँच्चै भनौं भने यही लक्ष्मीपूजाको दिन गरिने कार्यकलाप र दीपावलीले गर्दा नै तिहारको नाम नै दीपावली गरिने बारेको पौराणिक कथन यसप्रकारको छ—‘बलिले चुनिएकी लक्ष्मीलाई नारायणले लक्ष्मीपूजाको दिन छुटाउनु हुँदा देवताहरूले ठूलो उत्सव मनाएका थिए । त्यसैकारण सबैले आआफ्ना घरमा लक्ष्मीको पूजा गरी दीपावली गर्ने प्रथा चलेको हो ।’ अर्को कथन छ ‘बलीले पातालको राज्य यो दिन पाउँदा उत्सव मनाएकोले यो दिन उत्सव मनाई दीपावली गरिएको हो ।’

फेरि अर्को कथन छ–‘विष्णुले सो दिन नरकासुर राक्षसलाई मारी सुखशान्ति दिएको उपलक्ष्यमा यो दीपावली उत्सव गरिएको हो ।’ फेरि अर्को कथन छ–‘यो दिन रामचन्द्रले राजसिंहासन आरोहण गर्नुभएको शुभोपलक्ष्यमा महालक्ष्मीको पूजा गरी बत्तीको लहर लगाई उत्सव मनाइएकोले लक्ष्मीपूजा र दीपावलीको प्रथा चलेको हो ।’ कोही भन्छन्– ‘आर्य संस्कृतिअनुसार नयाँवर्षको प्रारम्भ हुन लाग्दा उत्सव मनाउने प्रथा छ । त्यसकारण हाम्रो नेपालमा नेपाल सम्वत्अनुसार नयाँवर्ष प्रारम्भ हुने दिन भएको हुनाले लक्ष्मीपूजाका साथै दीपावली गरी उत्सव गरिएको हो ।’ यसप्रकारका कथनहरू धेरै छन् । यी कथनहरू सबैमा केही न केही तथ्य कुरा भएकाले कुनचाहिं सत्य हो भनी छुट्याउन गाह्रो छ । तापनि यो दीपावली प्रथा हर्षोललास र शुभसूचक कार्य हो भन्न सकिन्छ ।

 

म्ह:पूजा/गोबर्धनपूजा

अब हामी तिहारको चौथो दिनमाथि विचार गरौं । तिहारको दिन कार्तिक शुक्ल प्रतिपदाको दिनमा पर्छ । यो दिन गोवर्धन पूजाको दिन भनी प्रख्यात छ । यो दिन गोवर्धनको, बहरहरूको र बलिराजाको पूजा गरिन्छ । हाम्रो संप्रदायका मानिसहरू यस दिनलाई म्ह:पूजाको भन्छन् । अरू पूजाको अतिरिक्त आफ्नो शरीरको पनि पूजा गरी भोज खाने गर्छन् । यो दिन गोवर्धन पूजा गर्ने चलनबारे पौराणिक कथन यस्तो छ–‘उहिले द्वापर युगभन्दा पहिले गोकुल निवासीमा इन्द्रको पूजा गर्ने प्रथा थियो तर द्वापरयुगमा कृष्णले गोकुल निवासीलाई इन्द्रको पूजा गर्ने प्रथा बन्द गराई गोवर्धन पर्वतको पूजा गराउन लगाउनु भयो । आफूलाई पूजा नगरेकोले इन्द्र रिसाई ठूलो वर्षा गराइदिए । तर श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वतलाई उचाली गोकुलबासी गोपालहरूलाई वर्षाबाट बचाउनुभई इन्द्रको घमण्ड नष्ट गरिदिनुभयो । त्यसकार्यले गर्दा इन्द्र स्वयं कृष्णको दर्शन गर्न आए । त्यसै्बेलादेखि यस दिन गोवर्धन पर्वत र बहरहरूको पूजा गर्ने प्रथा चलेको हो ।’

यसै कार्तिक शुक्ल प्रतिपदाको दिन बलिराजाको पूजा गरिनेबारे पनि यस्तो लोकोक्ति–‘बलिराजाले लक्ष्मीलाई समेत आफ्नो कब्जामा राखि छोड्नुभएको थियो । त्यसकारण उहाँ सम्पत्तिले सुसम्पन्न हुनुहुन्थ्यो । साथै उहाँ खूब दानी पनि हुनुहुन्थ्यो । उहाँले आफ्ना घरमा कुनै वस्तुको अभिलाषा गरी आएकाहरूलाई खाली हात फर्काउने गर्नुहुँदैनथ्यो । कालान्तरमा एकदिन नारायण वामनको अवतार लिई बलिराजाकहाँ आउनुभयो । अनि वामनरूपी नारायणले वलिराजासँग तीन पाइला जमीन माग्नु भई विशालकाय रूप धारण गरी एक खुट्टा आकाशमा र एक खुट्टा पृथ्वीमा टेकेर एक खुट्टाले बलिराजाको टाउकोमा टेकी बलिराजालाई पातालमा पठाउनुभयो । त्यसै अवसरमा नारायणले बलिराजालाई पातालको राज्य प्रदान गरी लक्ष्मीलाई उहाँको कब्जाबाट छुटाउनुभयो । त्यसबेलादेखि बलिराजाले पातालमा राज गरी यस पृथ्वीको भार बहन गरेर बस्नुभएकोले वर्षको एकपटक उहाँलाई पृथ्वीको भार वहन गरिरहनुभएको गुणको बदलामा कार्तिक शुक्ल प्रतिपदाको दिन पूजा गरिने चलन चलेको हो ।’

यसप्रकार कार्तिक शुक्ल प्रतिपदाको दिन हामी म्हपूजा गर्ने गर्छौंं । आफ्नो शरीरको पूजा गर्नेबारे पनि शास्त्रोक्त वचन र वंशावलीमा अनेक कथनहरू छन्, जसमध्ये नेपाल वर्ष क्रियाको शास्त्रोक्त वचन यसप्रकारको छ—‘कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन चन्द्रमा उदाउने प्रमाण मानेर विहान दुई घडीमात्र प्रतिपदाको तिथि पर्ने भए पनि यस दिन चन्द्रमा सम्मुख पारी स्नान, दान तथा शुद्ध वस्त्र धारणादि कार्य गरी गोवर्धन र बहरकै पूजा गर्नुको साथै बलिराजाको पूजा गरेको भनी विचार गरेर चन्द्रमाको पूजा गर्न े। त्यसपछि अवीर, सिंदूर आदि पाँच रङको घेरा भएको मण्डप बनाई त्यसको बीच भागमा तेलको मण्डप पनि बनाउने । उक्त मण्डपको वरिपरि धान, लावा, आखेँ नामक अक्षता र फूलले घेर्ने र मण्डपको अघिल्तिर विमिरो, केरा, ओखर तथा अनेकप्रकारका फलफूल तथा मखमली फूल, धागोको डोरो राखी सिंगार्ने । अनि पूर्ण घट र कुचो तलमाथि स्थापना गरी पंचोपचारले आआफ्नो शरीरलाई पूजा गर्ने । त्यसपछि दही र ‘सगं’ लिई मंगल गर्ने । जुनसुकै कार्यमा पनि ‘सगं’ लिनु मंगल कार्य हो, ‘सगं’ लिँदा चन्द्रमा नदेखिने गरी लिनु हुँदैन अमङ्गल हुन्छ, सगं लिँदा चन्द्रमालाई अगाडि वा दाहिने पार्न ुपर्छ । वर्ष दिनमा एकपटक आफ्नो शरीरको कल्याणको लागि विहान चन्द्रमा उदाउने प्रमाणबाट आफ्नो शरीरको पूजा गरी ‘सगं’ लिनाले वर्ष दिनसम्मलाई मंगल हुन्छ । तर चन्द्रमा नउदाईकन त्यो कार्य गरेमा वर्ष दिनसम्मलाई अमंगल हुन्छ । यही कारणले गर्दा बिहान चन्द्रमा उदाउने प्रमाणबाटै कार्तिक शुक्ल प्रतिपदाको दिन नेपाल सम्वत् फेरिन्छ । यसै दिन ‘सगं’ लिएर मंगल गर्ने भनी धौ, फूल आदिको ‘संगं’ लिने र आफ्नो जीवनस्तर अनुसार भोजन गरी मुख शुद्धिको लागि पान, सुपारी आदि पनि खाने । यो दिन रातमा सुत्नु हुँदैन । पैसाको आवाज आउने गरी केही खेलवाड गर्नुपर्छ । यो दिन खेलिने खेलमा जीतबाजी गर्न सकेमा वर्षभरलाई असल हुन्छ ।’ यो भयो म्ह:पूजा गर्ने बारेको शास्त्रोक्त वचन ।

अब हामी यसै म्ह:पूजा गर्नेबारे वंशावलीको कथनमा विचार गरौं । उक्त कथन यसप्रकारको छ— ‘आजभन्दा १०८९ वर्ष पहिले काठमाडौं निवासी शंखधर (साख्वा:) नामक एकजना फौबन्जारले नेपालमा त्यसबखत कोही ऋणी व्यक्ति नरहने गरी सारा ऋणीहरूको ऋण तिरिदिए । ऋण मुक्त गरेर नेपाल सम्वत् नामक आफ्नै राष्ट्रिय सम्वत् चलाए । त्यसकारण नयाँ सम्वत् चलाएको सम्झनास्वरूप वर्षेनि कार्तिक शुक्ल प्रतिपदाको दिन राष्ट्रिय चाडको रूपमा त्यसबेलाका नेपाल उपत्यका निवासीले शास्त्रोक्त कथनमा उल्लेख गरिएको तरिका बमोजिम म्ह:पूजा गर्ने भनी आआफ्नो शरीरको पूजा गर्ने चलन गरे । त्यसैबेलादेखि म्ह:पूजा गर्ने प्रथा चलेको हो ।’

अनि उक्त शंखधर नामक एकजना साधारण फौबन्जारले नेपालवासी सारा ऋणीहरूलाई ऋण मुक्त गर्न कहाँबाट पैसा पाए भन्नेबारे यस्तो कुरा लेखिएको छ—‘आजभन्दा १०८९ वर्ष पूर्व भादगाउँका एकजना ज्योतिषीले ज्योतिषशास्त्रअनुसार साइत हेर्दा भद्रमती र विष्णुमती नदीको बीच पर्ने लखुतीर्थको बालुवा लिई आउँदा काठमाडौंका उक्त शंखधर साख्वा: फौबन्जारले कुनै कामको लागि ती मानिसहरूले बोकेर ल्याएको बालुवा किनेर लिए । ती मानिसले पनि आफूले बोकी ल्याएको बालुवा साधारण किसिमको भनी ठानेर बेचेछन् । तिनीहरूले नै फेरि लखुतीर्थबाट अरू नै बालुवा लिएर भादगाउँका ज्योतिषीलाई बुझाएछन् । तर बिना साइत बेलाको बालुवा भएको हुनाले त्यो बालुवा सुन भएन ।

यता शंखधरले किनेको बालुवा सुन भयो । साधारण बालुवामा सुन पाइएको हुनाले शंखधर साह्रै ताजूब भए । शंखधर साख्वा: खूब उदार र धार्मिक प्रवृत्तिका थिए । त्यसकारण उनले बिना परिश्रमबाट प्राप्त उक्त सुनबाट कुनै एउटा ठूलो कार्य गर्ने विचार गरे । अनि आफ्नो विचारअनुसार उनले त्यसबेलाका काठमाडौं सहरका राजा जयदेवबाट स्वीकृति लिई आफ्नो देशका सारा ऋणीहरूको ऋण तिरेर नेपाल सम्वत् अर्थात् राष्ट्रिय सम्वत् चलाए । त्यसबेलादेखि उक्त शंखधरको सुकार्यले गर्दा नेपालीहरू वर्गवाद र जातिवादको आधारमा नामाकरण भइरहेका शक सम्वत् र ठकुरी सम्वत् तथा व्यक्तिवादको आधारमा नामाकरण भइराखेको विक्रम सम्वत् करैले मान्नुपर्ने बाध्यताबाट पनि मुक्त भए । त्यसकारण उक्त महान दिनको सम्झनामा म्ह:पूजा गरी उत्सव मनाउने प्रथा चलिआएको हो ।’

आजकाल पनि नेपाल उपत्यकावासी तथा प्रवासी नेवार जातिका मानिसहरूले कार्तिक शुक्ल प्रतिपदाको दिन बेलुकी देह शुद्धि तथा कल्याण गर्न भनी हुबहु माथि शास्त्रोक्त कथनमा उल्लेख गरिएका विधिअनुसार कूचो, घैटो, नांग्लो र यमदूतका प्रतीकस्वरूप मण्डपहरूको स्थापना गरी म्ह:पूजा गर्छन् ।

भाइटीका/तिहारको अन्तिम दिन

रमाइलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिनलाई भातृ द्वितीया अर्थात् ‘भाइटीका’ भनिन्छ । यो दिन आफ्ना दिदी वा बहिनीहरूका हातबाट दाजु वा भाइले टीका लाउने गर्छन् । त्यसरी दिदी वा बहिनीका हातबाट दाजु वा भाइले लाउने टीका वा लिने अनेक प्रकारका मेवा, मिष्ठान्न, फलफूल, मसला, ओखर, कटुस आदि खाद्य पदार्थहरू पहिले यमराज, यमुना, चित्रगुप्त, चिरञ्जीवीहरूको विधिपूर्वक पूजा गरिसकेर बाँकी रहेका शेष प्रसादहरू हुन्छन् । यस दिन दाजुभाइले आआफ्ना दिदी वा बहिनीहरूले दिएका खाद्य पदार्थहरू भोजन गर्नुपर्ने र दिदीबहिनीहरूलाई केही रुपियाँ पैसा र बस्त्र दिनुपर्ने चलन छ । यो दिन आफ्ना दिदीबहिनी र दाजुभाइ नहुनेले अरू कसैसँग सम्बन्ध गाँसेर भए पनि भाइटीका गर्छन् ।

काठमाडौंंमा दाजुभाइ नहुने दिदी बहिनीहरूले रानीपोखरीको बीचमा रहेको गोपालको पूजा गर्छन् । भ्रातृ द्वितीयाका दिन आआफ्ना दाजुलाई यमराजको र भाइलाई चित्रगुप्तको स्वरूप मानी विधिपूर्वक तेलको मण्डपसमेत बनाई पूजा गर्नुपर्छ । पूजा सकिएपछि सगुन दिई भोजन गराई मुख शुद्धिको लागि पान, सुपारी दिनु पर्छ । तेलको मण्डप नसुकुञ्जेलसम्म प्रदान गरिने ओखर पानीले नछाडियुञ्जेल यमराज र चित्रगुप्तले दाजुभाइ, दिदीबहिनीहरूलाई रक्षा गरिराख्छन् । अनि दिदीबहिनी, दाजुभाइहरू निरोगी र दीर्घायु भई वर्ष दिनसम्म महामंगलले ऐश्वर्य वृद्धि हुने भएकाले दिदीले भाइलाई र बहिनीले दाजुलाई पूजा गर्ने चलन चलेको हो ।

यही भाइटीकाको बारेमा पौराणिक कथन यसप्रकार छ—‘उहिले कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाजीले एकपटक आफ्ना दाजु यमराजलाई निमन्त्रणा गरी परस्परमा भोजन, पूजन गरेर यमराजको मनोरथपूर्ण गराइन् । त्यसैबखत यमुनाजीले यमराजसँग मानिसहरूले पनि हाम्रै झैं भाइबहिनीले परस्परमा पुजनादि गरी अभीष्ट सिद्धि प्राप्त गर्न पाऊन्’ भनी वरदान मागिन् । यमराजले पनि हुन्छ भनी वरदान दिनुभयो । त्यसैकारण यस भातृ द्वितीयाको दिन भाइटीका गर्ने प्रथा चलेको हो ।

फेरि यही भाइटीका कार्यले आयु समाप्त भइसकेको एकजना व्यक्तिको आयु थपिएको बारेमा एउटा किंवदन्ती पनि प्रचलित छ—‘एक समय आयु समाप्त भइसकेको एकजना व्यक्तिलाई लिन यमदूतहरू र स्वयं यमराजसमेत आएका थिए । तर त्यस व्यक्तिकी दिदीले यमराजसँग ‘भाइटीका गरुञ्जेलसम्मलाई मेरो भाइलाई नलैजाउनुहोस्’ भनी आग्रह गरिन् किनभने त्यसदिन भाइटीकाको दिन परेको थियो । तिनको आग्रहअनुसार यमराजले पनि उक्त व्यक्तिलाई भाइटीका लगाउञ्जेलसम्म नलगी आफू र आफ्ना दूतहरूले पर्खिरहने विचार गरे । उक्त व्यक्तिलाई उनकी दिदीले विधिपूर्वक तेलको मण्डलाकार बनाई, ओखर आदि फलफूल प्रदान गरी ग्वेस्वां नामको फूलको माला पहिराई पूजा गरिन् ।

साथै यमराज र यमदूतहरूलाई पनि दिदी चाहिले ठूलो सेवा श्रद्धा भक्तिपूर्वक पूजा गरिन् । तिनले गरेको आदरसत्कार सेवा र भक्तिले यमराज साह्रै खुशी हुनुभयो । अनि उहाँले दिदीलाई आफ्नो इच्छानुसारको वर माग भनी आदेश दिनुभयो । त्यस अवसरमा दिदीले मौका छोपी ‘मेरो भाइलाई तपाईंले लैजाने नै हुनुभएको छ किनभने मेरो भाइको आयु सिद्धिएको छ तैपनि तपाईंसँग म यही एउटा बर माग्दछु त्यो के भने मेरो भाइलाई आज मैले पूजा गर्दा दिएको ओखर पानीले नढाडिउञ्जेल, बनाइएको तेलको मण्डप नसुकुञ्जेलसम्म र पहिराएको ग्वेस्वां (मखमली) फूलको माला नओइलाइउञ्जेलसम्म तपाईंले उनलाई नलैजानुहोला ।’ यो कुरा सुन्दा आफूलाई गरिएको पूजा र सत्कारले खुशी भएका यमराजले झुक्किएर मागिएको वर प्रदान गरे । अनि त्यही वरले गर्दा उहाँले उक्त आयु समाप्त भइसकेको व्यक्तिलाई लान पाउनु भएन किनभने ओखर कहिले पनि पानीले नढाडिने फल थियो र ग्वेस्वां फूल पनि कहिल्यै नओइलाउने फूल थियो । साथै तेलद्वारा बनाइएको मण्डप पनि कहिल्यै नसुक्ने मण्डप थियो । यसप्रकारको चातुर्यपूर्ण दिदीको माग र भाइटीकाको कार्यले गर्दा यमराजलाई करैले उक्त आयु समाप्त भइसकेको व्यक्तिलाई नलगी रक्षा गरिराख्नुपर्‍यो । त्यसकारण भाइटीकाको कार्य दिदीबहिनी र दाजुभाइहरूका लागि कल्याणकारी कार्य सम्झिएको छ ।

(यो सामग्री दिवंगत मंगलादेवी सिंहको नेपाली संस्कृतिका छटाहरूनामक किताबबाट साभार गरिएको हो ।)

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID