दक्षिण भारतकाे आत्मसम्मान आन्दोलन

प्रभाष

सन् १९३८ काे कुरा हाे। महिलाहरुका भीडले मद्रास (हाल चेन्नई) का सडकहरुमाथि कब्जा जमाए। नारा लगाइरहेका र झण्डा फहराइरहेका यी महिलाहरुका माँगहरु थिए, तमिलनाडुका विधालयहरुमा हिन्दी सिकाउन बन्द गरियाेस्। त्यहाँका जनतामाथि हिन्दी थोप्न बन्द गरियोस् र तमिल भाषा, संस्कृति र इतिहासलाई हरेक ठाउँमा प्राथमिकता दिइयाेस्। यसका लागि उनीहरु सडकमा धर्ना बसे, भाेक हड्ताल गरे। प्रशासनले पुलिस लगाएर उनीहरुमाथि लाठीचार्ज गरायाे। उनीहरुले पुलिसकाे लाठीकाे प्रहार पनि झेले। फलस्वरूप यी प्रदर्शनकारी महिलाहरुमध्ये ७३ जनालाई उठाएर जेलमा काेचियाे जसमध्ये थुप्रै महिलासँग उनीहरुका सा-साना बालबच्चाहरु समेत थिए।

याे घटना सम्पूर्ण दक्षिण भारतमा फैलिरहेकाे ‘आत्मसम्मान आंदोलन’ काे एउटा सानाे झलक थियाे। यस आत्मसम्मान आन्दोलनकाे सुरुवात सन् १९२५ मा कांग्रेसकाे एस. रामानाथनले गरेका थिए। प्रारम्भमा याे एक दलित अधिकार आन्दोलनकाे रुपमा सुरू भयाे किनभने रामानाथनका अनुसार कांग्रेसमा दलितहरुकाे हितमाथि ध्यान दिने कोही पनि थिएन अनि वर्ण व्यवस्थाबारे महात्मा गान्धीकाे विचार अत्यन्त पिछडिएकाे र रूढिवादी थियाे। दलितहरुलाई आफ्नाे हकअधिकार माग्ने एउटा अवसर दिनका लागि याे आन्दोलन सुरू गरेपछि रामनाथनले यसकाे नेतृत्व प्रसिद्ध क्रान्तिकारी ई. वी. रामस्वामी ‘पेरियार’लाई सुम्पिदिए।

ब्राह्मणवादी सामाजिक व्यवस्थाका कट्टरविरोधी पेरियार न केवल दलित अधिकारकाे कुरा गर्थे, अपितु महिला अधिकारकाे पनि कुरा गर्थे। उनकाे मान्यता थियाे कि रूढिवादी सवर्ण समाज न केवल गैर-सवर्णहरुलाई शोषण गर्छ बरु महिलाहरुका स्वतन्त्रतामाथि पनि बन्देज लगाउँछ। अन्तरजातीय र अन्तरधार्मिक विवाहहरुमाथि प्रतिबन्ध लगाएर यसले महिलाहरुलाई शारीरिक र मानसिक रुपमा गुलाम बनाइराख्छ। तसर्थ, महिलाहरुका स्वधीनताका लागि ब्राह्मणवादलाई जरैदेखि उखालेर फाल्नु जरूरी छ र एक नयाँ समाजव्यवस्थाकाे स्थापना गर्नु जरूरी छ जहाँ महिलाहरुलाई शारीरिक र याैन स्वतन्त्रता हाेस्, उनीहरुलाई सम्बन्धविच्छेद गर्ने अधिकार हाेस्, उनीहरुलाई आफ्नाे गर्भमाथिकाे अधिकार हाेस्। गर्भधारण गर्ने वा गर्भनिरोध गर्ने, यसबारे निर्णय गर्ने अधिकार उनीहरुकाे आफ्नै हाेस् र जहाँ लिङ्गकाे आधारमा हुने भेदभावकाे कुनै अस्तित्व नहोस्।

पेरियारलाई उत्तर भारतकाे संस्कृतिले देशकाे बाँकी क्षेत्रहरुका संस्कृतिहरुलाई निलिरहेकाे कुरामाथि पनि आपत्ति थियाे। हरेक ठाउँमा हिन्दीकाे वर्चस्व भएकाे र गैर-हिन्दीभाषीहरुलाई जबर्जस्ती ‘राष्ट्रभाषा’ काे रुपमा हिन्दी थाेपेकाे, हिन्दी सिक्नका लागि बाध्य पारिएकाे उनलाई फिटिक्कै मनपरेकाे थिएन। पेरियारका लागि याे पनि एक किसिमकाे विभेद थियाे, स्वयं राज्यले आफ्ना नागरिकहरुमाथि गरेकाे संस्थागत विभेद, जहाँ राज्य नै एक जाति-समुदाय बिशेषकाे भाषा र संस्कृतिलाई भारतका अन्य विविध जाति-समुदायहरुका भाषा र संस्कृतिहरुभन्दा उच्च बनाउन लागिपरेकाे छ। पेरियर चाहन्थे कि दक्षिण भारतीयहरुले हिन्दी र उत्तर भारतकाे गुलामी गर्नुभन्दा बरु आफ्नै रैथाने वा माैलिक संस्कृति, इतिहास र पहिचानमाथि गर्व गर्नुपर्छ र जानी-नजानी जबर्जस्ती हिन्दी बोल्ने प्रयत्न गर्नुकाे साटाे आफ्नाे मातृभाषामा कुरा गर्नुपर्छ। आफ्नाे मातृभाषा बाेल्नु कदापि लजाउनुहुदैन। यसप्रकार, आत्मसम्मान आन्दोलन छुवाछुतविरोधी वा दलित आन्दोलनमात्र हाेइन, बरु दक्षिण भारतीयहरुकाे पहिचान र अधिकारकाे आन्दोलन, उनीहरुकाे साँस्कृतिक पूर्नजागरणकाे आन्दोलन, नारीवादी वा महिला आन्दोलन र समग्रमा, सम्पूर्ण सामाजिक परिवर्तनकाे आन्दोलन बन्न पुग्याे।

महिलाहरुकाे सशक्तीकरण गर्नमा आत्मसम्मान आन्दोलनको ठूलाे योगदान रहयाे। ‘देवदासी’ प्रथालाई प्रतिबन्धित गर्नमा यस आत्मसम्मान आन्दोलनकाे धेरै ठूलाे हात रहयाे। यस प्रथाका अनुसार साना बालिकाहरुलाई मन्दिरहरुमा देउताकाे आराधनाका लागि चढाइन्थ्याे। अनि, उनीहरुलाई मन्दिरका ब्राम्हण पुजारीहरुले आजीवन ती मन्दिरहरुमा कैद गरेर राख्थे। उनीहरुकाे शारीरिक शाेषण (श्रम तथा याैन शोषण) गर्थे। यसरी, उनीहरुले आजीवन मन्दिरका ब्राह्मण पुजारी तथा समाजका ठूलाठालुहरुकाे हवसकाे शिकार हुनुपर्थ्याें। आन्दोलनकाे अर्काे, अत्यन्त महत्वपूर्ण कदम थियाे, ‘आत्मसम्मान विवाह’ काे सुरूवात गर्नु, जो जातिवाद र पितृसत्ता दुवैमाथि एक जाेडदार झापड थियाे।

सवर्ण हिन्दू समाज जाति वा धर्मदेखि बाहिर विवाहकाे अनुमति दिदैन्थ्याे। (आज पनि दिदैन)। आज पनि हामी भारतीय समाजमा जाति/धर्मदेखि बाहिर विवाह वा प्रेम गर्नेहरुकाे उनीहरुका परिवारका सदस्यहरुले नृशंस हत्या (अनर किलिङ) गर्ने गरेकाे दिनैपिच्छे देखिरहेकै छाैं/सुनिरहेकै छाैं। पेरियारले याे आन्दोलनकाे माध्यमबाट महिलाहरुलाई आ-आफ्ना जाति र धर्मदेखि बाहिर जीवनसाथी राेज्नका लागि प्रोत्साहित गरे र उनीहरुलाई चाँडै (विवाह गरेकाे पाँच बर्ष नपुगिन्जेलसम्म) बालबच्चा नजन्माउन सल्लाह दिए। उनले स्वयं उपस्थित भएर यस्ता थुप्रै विवाह गराए, जसलाई ‘आत्मसम्मान विवाह’ काे नाम दिइयाे। यस्ता विवाहहरुकाे एक बिशेषता के थियाे भने यसमा न कुनै ब्राह्मण पुरोहित सामेल हुन्थ्यो न विवाहकाे हिन्दू वैदिक रीतिरिवाजकै पालना गरिन्थ्याे। यस्ता विवाहहरु आज पनि तमिलनाडुका कैयौं ठाउँमा प्रचलित छन्। यस्ताे विवाहमा बर-बधुले एकआपसमा विवाहकाे माला पहिर्‍याउनुका अतिरिक्त अन्य कुनै पनि हिन्दु वैदिक विवाहकाे रीतिरिवाज वा सँस्कारकाे पालना गर्दैनन्। अर्काे बिशेषता, विवाहकाे वाचा पनि संस्कृतकाे साटाे तामिलमा नै लिइन्छ-दिइन्छ। बधुलाई सिन्दूर, मंगलसूत्र आदि केही पनि लगाइदिइन्दैन। पेरियारकी पत्नी नागम्माई यस्ता धेरै विवाहमा सहभागी हुन्थिन्, यस्ता विवाहहरुमा सहभागी भएर उनी विवाहित महिलाहरुलाई सिन्दूर र मंगलसूत्रकाे ‘ग़ुलामी’बाट छुटकारा पाउन प्रेरित गर्थिन्।

नागम्माई यस आत्मसम्मान आन्दोलनकाे एक प्रमुख अभिकर्ता थिइन्। उनी यस आन्दोलनकाे मुखपृष्ठ ‘कुडी अरस’का सम्पादिका थिइन् र ‘वैकोम सत्याग्रह आन्दोलन’काे नेतृत्व पनि गरिसकेकी थिइन्। उनकाे साथमा अन्य महिलाहरु पनि यस आत्मसम्मान आन्दोलनमा थिइन्। जसकाे यस आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका रहयाे।

उदाहरणका लागि, ‘भारतीय अनुसूचित जाति सम्मेलन’काे अध्यक्ष अन्नाई मीनंबल, जसले ई. वी. रामस्वामीलाई ‘पेरियार’ अर्थात् ‘महान’काे उपमा दिएकी थिइन्। त्यस्तै, मूवलूर रमामिर्ताम जो स्वयं कुनैबेला देवदासी थिइन् र पछि देवदासी प्रथाकाे विरुद्धमा मुखर भएर बुलन्द प्रतिराेध गरेकी थिइन्। उनले पनि कैयौं आत्मसम्मान विवाह गराएकी थिइन् र कांग्रेसकाे सदस्य भएकाे बेला पुरुषवादी सामाजिक रीतिरिवाजका विरुद्ध कैयौंचाेटि आवाज उठाइसकेकी थिइन्। यिनै महिलाहरुका अथक प्रयत्नहरुका कारण आत्मसम्मान आन्दोलन अझ ठूलाे र फराकिलो हुँदै गयाे र यसकाे प्रभाव पनि व्यापक रुपमा फैलिन्दै गयाे।

विस्तारै-विस्तारै याे आन्दोलनले कैयौं संगठनहरुकाे रूप पनि लिन थाल्याे। उदाहरणका लागि, ‘तमिलनाडु पुरोहित बहिष्कार संगठन’ जसकाे उद्देश्य थियाे ब्राह्मण पुरोहितहरुलाई सम्पूर्ण रुपमा बहिष्कार गर्नु र विवाहहरुमा ब्राह्मणवादी प्रथापरम्परा र रीतिरिवाजहरुमाथि राेक लगाउनु। अर्काे संगठन थियाे, ‘विधवा विवाह सभा’, जसले पूरै दक्षिण भारतमा लगभग हजाराैं विधवा महिलाहरुकाे पूर्नविवाह सम्पन्न गरायाे। आत्मसम्मान आन्दोलनले महिलाहरु, विशेष गरेर दलित महिलाहरुकाे एक ठूलाे संख्यालाई याे बाेध गरायाे कि, ‘उनीहरुलाई आफ्नाे जीवन आफ्नै हिसाबले जिउने पूर्ण अधिकार छ। उनीहरुकाे जाति वा लिङ्ग उनीहरुकाे बाटाेमा अवरोध बन्न सक्दैन र समाजले पनि उनीहरुले आफ्नाे व्यक्तिगत जीवन कसरी जिउनुपर्छ भन्ने निर्धारण गर्न सक्दैन। समाजले उनीहरुकाे निजी जीवनलाई नियन्त्रण गर्ने अधिकार राख्दैन। उनीहरु कहाँ जान्छन्, काे सँग जान्छन्, के के गर्छन्, काे सँग बिहे गर्छन् वा गर्दैनन्, याे नितान्त उनीहरुकाे निजी कुरा हाे। यससँग समाजकाे कुनै सराेकार छैन र समाजले सराेकार राख्नु पनि हुदैन।’

समावेशी नारीवादकाे इतिहासमा त आत्मसम्मान आन्दोलन एक छुटाउनै नमिल्ने अध्याय हाे। याे आन्दोलनले महिलाहरुलाई जातिवाद र पितृसत्ता दुवैकाे जंजीरहरुबाट मुक्त गरिदियाे र उनीहरुलाई शीर ठाडाे पारेर आत्मसम्मान र स्वभिमानका साथ जिउन सिकायाे। आज फेरि महिला तथा दलितहरुलाई यस्तै आत्मसम्मान आन्दोलनकाे खाँचाे छ। महिला तथा दलितहरुले विगतकाे गरिमामय आत्मसम्मान आन्दोलनबाट प्रेरणा लिएर एकपटक फेरि नयाँ सँस्करणकाे आत्मसम्मान आन्दोलनकाे उठान गर्नुपर्छ र आफ्नाे स्वाधीनता तथा मुक्तिकाे अपूर्ण अध्यायलाई पूर्णता प्रदान गर्नुपर्छ।

लेख:- ईशा, नेपाली अनुवाद:- प्रभाष

मा प्रकाशित