नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा बनाइएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिन् ।
आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढावा दिनु अहिलेको आवश्यकता रहेको र त्यसका लागि चार्जिङ स्टेसन स्थापना महत्त्वपूर्ण कदम रहेको मन्त्री भुसालको भनाइ छ ।
प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिटो चार्ज गर्न मिल्ने स्टेसन बनाइरहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा सानाठूला कार चार्ज गर्न मिल्नेछन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप २ गरी ४ वटा चार्जिङ स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ ।
उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्म, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछन् । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।
काठमाडौं उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एउटा र नेपाल विद्युत् प्राधिकरणमा एउटा चार्जिङ स्टेसन रहनेछन् । काभ्रेको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेसन बन्नेछन् ।रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्यालय र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई–दुईवटा चार्जिङ स्टेसन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई–दुई चार्जिङ स्टेसन राखिनेछ ।
रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल बैजनाथ वाहिनीमा चार्जिङ स्टेसन राखिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेसन बनाइँदै छ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेसन बन्नेछ ।
सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेसन बन्दै छन् ।