खेत बाँझै, बूढो भयो ब्याड

गणतन्त्र नेपाल समाचारदाता

दंगीशरण गाउँपालिका–३ का ५० वर्षीय भीमबहादुर चौधरीले धानको व्याड राखेको आज ४३ दिन पुग्यो । ०७९ असार १ गते राखेको धानको व्याड सामान्यतया असार १५/२० मा रोपाइँ भइसक्थ्यो । तर यसपालि व्याड राखेको डेढ महिना पुग्दा पनि भीमबहादुरले खेत रोप्न पाउनुभएको छैन । ३२ कट्ठा खेत जोतेर तयार छ । रोपाइँको सबै तयारी पनि छ तर आकाशे पानीको भरमा खेती उतार्ने भीमबहादुरलाई वर्षात नहुँदा आकाश हेरेर बस्ने बनाएको छ । वर्षभरि खाने धान एक बोट पनि रोप्न नपाएपछि चिन्तित भीमबहादुर अझ व्याड पनि दिनानुदिन बूढो हुँदै गएपछि थप पीडा दिएको छ ।

दंगीशरण–३ कै ४५ वर्षीय धनीराम चौधरीले आकाशको पानी कुर्दा कुदै व्याड बूढो हुन थालेपछि साउन ९ गते पम्पसेट भाडामा लिएर १६ कट्ठा खेत रोपाइँ गर्नुभयो । असार १ गते राखेको व्याड बूढो भएपछि एक घण्टाको छ सय रुपैयाँ भाडा तिरेर आठ घण्टा पम्पसेट चलाएर रोपाइँ गर्नुभयो तर वर्षा नहुँदा रोपेको खेत फुट्न थालिसकेको छ । त्यसैले धनीरामले रोपाईं रोक्नुभएको छ । अझै दुई कट्ठा खेत रोप्न बाँकी छ । पानी आए रोप्ने नत्र यसपालि बाँझै राख्ने निष्कर्षमा धनीराम पुग्नुभएको छ । दंगीशरणका धनीराम र भीमबहादुर मात्रै होइन हेकुलीमा मात्रै तीन सय विगाह खेत बाँझै छ । ‘ब्याड बूढो हुन थालिसक्यो पानी पर्दैन’– धनीरामले भन्नुभयो– ‘पानी नपरे रोपाइँ हुँदैन । ब्याड पनि छिप्पिसक्यो । बर्वाद भयो ।’

सिंचाई हुने स्थानमा जेनतेन रोपाइँ भएको छ । तर वर्षा नहुँदा रोपेकै धान पनि मर्ने अवस्थामा पुगेको छ । रोपेको खेत पटपटी फुट्न थालेको छ । देउखुरी क्षेत्रमा रोपाइँ भए पनि घोराही, तुलसीपुर, दंगीशरण, शान्तिनगर, बबई क्षेत्रका सबै खेतमा रोपाइँ हुन सकेको छैन । सामान्यतया असारमा हुने रोपाइँ साउनको १० सम्म पनि रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र दाङले व्याड २५ देखि ३० दिनसम्म रोप्दा राम्रो उत्पादन हुने नत्र ३० दिनभन्दा माथिको व्याड रोप्दा उत्पादन पनि घट्दै जाने बताएको छ ।

३० प्रतिशत खेत बाँझै

दाङमा ७० प्रतिशत खेतमा धान रोपाइँ भए पनि ३० प्रतिशत खेत बाँझै छन् । कृषि ज्ञानकेन्द्र दाङका अनुसार ३० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी छ । दाङका पहाडी क्षेत्र र सिंचाई सुविधा नपुगेका स्थानमा धान रोप्न बाँकी छ । पर्याप्त पानी नपरेर मूल नफुटेका कारण किसानले धान रोप्न नसकेको ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले बताउनुभयो । दाङ जिल्लामा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुन्छ । देउखुरीमा १२ हजार पाँच सय २८ र घोराही, तुलसीपुरलगायतका क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

धानको विकल्प दलहन र तेलहन

वर्षा नहुँदा खेत बाँझै भएपछि कृषि ज्ञान केन्द्रले धानको विकल्प खोज्न सकिने बताएको छ । कृषि प्रसार अधिकृत सिंहले धानको सट्टा दलहन र तेलहन बाली लगाउँदा कम पानीमा पनि राम्रो उत्पादन पाउन सकिने बताउनुभयो । मुङ, सूर्यमुखीलगायतका बाली लगाउँदा यो अवस्थामा धान भन्दा राम्रो उत्पादन पाउन सकिने उहाँको भनाइ छ । ‘पानी नहुँदा त केही हुँदैन तर अहिलेको जस्तो हल्का हल्कारुपमा परिरहेजस्तै पानी परेमा तेलहन र दलहनबाली राम्रो उब्जाउन सकिन्छ’– सिंहले भन्नुभयो– ‘फाटफुट पानी परिरहे किसानले दलहन र तेलहनको विकल्प खोज्दा पनि फाइदै हुन्छ ।’

मकैमा कम असर

ठूलो वर्षा नहुँदा धान बाली प्रभावित भए पनि मकैमा भने असर नपर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । मकैको लागि चाहिने पानी परिरहेकोले मकै उत्पादनमा कुनै असर नपर्ने कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले जानकारी दिनुभयो । उहाँले सिंचाई नै नपुग्ने र पहाडी क्षेत्रमा भने पानी नपरे मकैको पनि उत्पादन घट्न सक्ने बताउनुभयो । ‘मकै कम पानीमा पनि फल्न सक्ने बाली भएकोले अहिलेको अवस्थामा यसको उत्पादन घट्ने अवस्था देखिदैन’– सिंहले भन्नुभयो ।

दोब्बर घट्यो वर्षा

धान रोप्ने समय असारमा यो वर्ष ३ सय ३९ दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीमा रेकर्ड छ । असार महिनाभर २० दिन पानी परे पनि ठूलो पानी परेन । जबकि यही अवधिमा अघिल्लो वर्षको असारमा २३ दिन पानी परेको थियो भने उक्त अवधिमा ८ सय ५ दशमलव पाँच मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय घोराही दाङकी फिल्ड इञ्चार्ज श्रेया रिजालले जानकारी दिनुभयो । अघिल्लो वर्षको असारमा १ गतेदेखि १३ गतेसम्म र फेरि २० गतेदेखि ३१ गतेसम्म झरी लागेको थियो । यसैगरी साउनको १० गते मंगलबारसम्म जिल्लामा ६ दिन पानी पर्दा ४३ दशमलव ५ मिलिमिटर पानी परेको छ । अघिल्लो वर्ष साउन १० गतेसम्म ९० दशमलव ९ मिलिमिटर पानी परेको थियो । गत वर्षको साउनमा महिनाभरमा १९ गते एक दिन मात्रै पानी परेन ।

मा प्रकाशित