एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने

गणतन्त्र नेपाल समाचारदाता

राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर, कोभिड-१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्ड बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको हो ।

बोर्डले आज सार्वजनिक गर्ने तयारी गरिरहेको शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार गर्ने जनाएको छ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने छ ।

लेटर ग्रेडिङ निर्देशिकामा के छ ?

गत २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका जारी गर्दै सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको छ । त्यही अनुरुप एसईईको नतिजामा यो पटकदेखि विद्यार्थीको प्राप्ताङ्क सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक हुने र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।

निर्देशिकामा ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वाेत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बी प्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ग्राह्य (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

यो निर्देशिका २०७९ मा जारी भएपछि लागू हुने भनिए पनि कोभिडका कारण यो वर्ष लागू नगर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैले आज सार्वजनिक हुने भनिएको नतिजामा पुरानै अक्षरांकन (ग्रेडिङ) विधि अपनाइनेछ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरिनेछ ।

अक्षरांकन (ग्रेडिङ) विधि अनुसार ९० देखि १०० अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्यांकन गर्ने व्यवस्था छ ।

अक्षरांकन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर आउने कुल अंकको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उत्तीर्ण हुने अवस्था छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID