भुपेन्द्र सिहँ:- एक शालीन गायक, एक अविस्मरणीय आवाज

प्रभास

‘मेरी आवाज़ ही
पहचान है,
गर याद रहे’,

याे गीत उनीमाथि एकदमै सुहाउँछ। उनी अर्थात् उत्कृष्ट र अर्थपूर्ण गीत तथा ग़ज़लहरु गाउने संगीतकाे सच्चा साधक, एक शालीन गायक भुपेन्दर उर्फ भूपेन्द्र सिहँ। एक अलगै किसिमकाे मधुर आवाज अनि गायनकाे आफ्नै एक अलग अंदाज़का धनी। भुपेन्द्र सिहँकाे पहिचान यही थियाे।

आज भुपेन्द्र सिहँकाे जीवनकाे केही जान-अंजान पाटाेहरुबारे चर्चा गर्दैछु।

भुपेन्द्र सिहँकाे जन्म ६ जनवरी १९४० मा ब्रिटिस इंडियाकालीन पँजाबकाे अमृतसरमा भएकाे थियाे। उनकाे पिता प्राेफेसर नत्था सिहँ एक ट्रेन्ड भाेकलिस्ट थिए र ट्रेन्ड म्युजिसियन पनि। सँगीतकाे प्रारम्भिक ज्ञान उनले आफ्नाे पिताबाट हासिल गरेका थिए।

तर सिकाउने क्रममा उनकाे पिता नत्था सिहँ एकदमै कठाेर रुपमा प्रस्तुत हुन्थे। उनलाई कठाेर अनुशासनमा बाँधेर सिकाउने प्रयत्न गर्थे जुन उनलाई पटक्कै पनि मनपर्दैनथ्याे। त्यसैले प्रारम्भमा उनलाई सँगीतप्रति बितृष्णा जाग्याे। स्वतन्त्रता नहुँदा सँगीतजस्ताे कुराकाे सिकाई पनि कति नमिठाे र बेमज्जाकाे हुँदाे रहेछ भन्ने अनुभूति उनले गरे।

तर सँगीत भनेकाे सँगीत नै हाे। जतिसुकै बितृष्णा जागे पनि ढिलाेचाँडाे सँगीतले मन जित्छ नै। भुपेन्द्रकाे हकमा पनि यही कुरा लागु भयाे। बिस्तारै सँगीतमा उनकाे मन बस्दै गयाे, सुर र तालमा उनकाे रस भिज्दै गयाे।

आफ्नाे प्रारम्भिक दिनहरुमा भुपेन्द्र सिहँ ‘अल इंडिया रेडियाे’मा काम गर्थे, ‘अल इंडिया रेडियाे’मा प्रस्तुति दिन्थे। उनी ‘दिल्ली दुरदर्शन केन्द्र’सँग पनि आबद्ध थिए।। यसबीच उनले उनले गिटार र भ्वाईलिन पनि सिके।

सन् १९६२ मा सतिश भाटिया नामक एकजना व्यक्तिले सँगीतकार मदनमाेहनकाे सम्मानमा डिनर पार्टी आयाेजना गरेका थिए। सतिश भाटिया दिल्ली आकाशवाणीका निर्माता थिए र उनकै अधीनमा भुपेन्द्र सिहँ गिटारिस्टकाे रुपमा काम गरिरहेका थिए।

त्यसैले, भुपेन्द्रले साे डिनर पार्टीमा केही गीतहरु गाए। मदनमाेहनले पहिलोचाेटि भुपेन्द्रलाई साेही डिनर पार्टीमा सुने। उनलाई भुपेन्द्रकाे आवाज र गायनकाे अंदाज़ यति मनपर्‍याे कि उनले त्यसैबखत भुपेन्द्रलाई बम्बई आउने निम्ताे दिए। त्यसबेला उनी ‘हक़ीक़त’ (१९६४) नामक फिल्मकाे सँगीत सिर्जनामा काम गर्दै थिए। त्यही फिल्मकाे एउटा गीत ‘हाेके मज़बूर मुझे उसने भुलाया हाेगा’ गीत गाउन लगाउन उनले भुपेन्द्रलाई बम्बई आउन निम्ताे दिएका थिए।

मदनमाेहनकाे निम्ताेकाे मान राख्दै यही गीत रेकर्ड गर्नकाे लागि भुपेन्द्र सिहँ बम्बई आए। बम्बई आएपछि थाहा भयाे, याे गीत त उनले सगाेलमा पाे गाउनुपर्ने थिएछ, माेहम्मद रफी, मन्ना डे र तलत माेहम्मद जस्ता दिग्गज गायकहरुका साथमा। उनले यी दिग्गज गायकहरुका साथमा सुरमा सुर मिलाएर याे गीत गाए। याे गीतबाट उनलाई खासै पहिचान मिलेन तर पनि दिग्गज गायकहरुसँग गीत गाएकाे अनुभव उनले बटुले। यधपि, गीत लाेकप्रिय भयाे तर रफी, तलत, मन्ना डे जस्ता गायकहरुका अघि उनी छायाँमा परे। उनकाे चर्चा भएन।

तर मदनमाेहनकाे ‘कल’मा उनी बम्बई आएकाे बेकार भएन। बरु यसले उनकाे लागि अवसरकाे नयाँ ढाेका खाेल्याे। उनले ‘साेलाे’ गीत गाउने अवसर पाए। मनमाेहनले उनलाई याे अवसर नदिए पनि अर्काे दिग्गज सँगीतकार खय्यमले उनलाई याे अवसर दिए। खय्यमले उनलाई ‘हाेके मज़बूर मुझे’ गीतबाट नाेटिस गरे र उनलाई आफ्नाे फिल्म ‘आख़िरी ख़त’ (१९६६) मा साेलाे गीत गाउने अवसर दिए जुन गीत उनीमाथि नै खिचिन्दै थियाे। खय्यमकाे सँगीतमा उनले ‘आख़िरी ख़त’मा गाएकाे साेलाे गीत थियाे, ‘रुत जवाँ जवाँ’।

मदनमाेहन र खय्यमसँग काम गरेपछि पनि भुपेन्द्र सिहँले म्युजिक इंडष्ट्रीमा गिटारिस्टकाे रुपमा काम गरिरहे। हजुर, गिटारिस्टकाे रुपमा। तपाईंलाई याे कुरा जानेर आश्चर्य लाग्ला कि भुपेन्द्र सिहँ गिटार बजाउनमा उस्ताद थिए। गिटारका हरेक बान्की उनले सिकेका थिए, जानेका थिए। महान् सँगीतकार खय्यमले भनेका थिए, ‘जहाँ गिटारकाे कुरा आउँछ नि, भुपेन्द्रकाे छेऊछाऊ काेही पनि आउँदैन।’ यस्ताे शानदार गिटारिस्ट थिए उनी।

‘चुरा लिया है तुमने जाे दिल काे’ (यादाें की बारात), ‘दम माराे दम’ (हरे रामा हरे कृष्णा), ‘महबूबा महबूबा’ (शाेले), ‘चिंगारी काेई भड़के’ (अमर प्रेम), आनेवाला पल’ (गाेलमाल), ‘चलते चलते मेरा ये गीत’ (चलते चलते), ‘प्यार हमे किस माेड़ पे ले आया’ (सत्ते पे सत्ता), ‘तुम जाे मिल गए हाे’ (हँसते जख़्म), ‘आपकी आँखाें में कुछ’ (घर), ‘नहीं नहीं अभी नहीं’ (जवानी दीवानी), ‘चला जाता हूँ किसी की धून में’ (मेेरे जीवनसाथी), ‘चाँद मेरा दिल चाँदनी हाे तुम’ (हम किसी से कम नहीं), ‘इक दिन बिक जाएगा माटी के माेल’ (धरम करम), ‘लेकर हम दीवाना दिल’ (यादाें की बारात) आदि लाेकप्रिय गीतहरुमा जुन शानदार गिटारकाे धुन सामेल छ, त्याे भुपेन्द्रकै प्रतिभाकाे कमाल हाे। उनकाे औलाहरुकाे जादू हाे।

गिटारका लागि उनले धेरै जसाे आरडी बर्मनसँग सहकार्य गरेकाे पाईन्छ। त्यतिमात्र हैन, आरडी बर्मनका पिता एसडी बर्मनका लागि उनले ‘हाेठाे पे ऐसी बात मैं दबा के चली आई’ (ज्वैल थिफ) गीतमा, गीतकाे मध्यमा स्वर तान्ने काम पनि गरेका छन्।

बताैर गिटारिस्ट भुपेन्द्र सिहँले सर्वप्रथम ‘तुम जाे मिल गए हाे’ (हँसते जख़्म, सँगीतकार मदनमाेहन) मा गिटार बजाए जसलाई सुनेर सिङ्गाे इंडष्ट्री उनकाे गिटार बजाउने जादुई कलालाई ‘अप्रिसिएट गर्न’ बाध्य भयाे।

भुपेन्द्र सिहँले एकाध गीत गाएपछि प्राईवेट एल्बम पनि निकाल्न सुरु गरे। बलिउडमा सर्वप्रथम प्राइवेट एल्बम निकाल्ने सम्भवतः भुपेन्द्र सिहँ नै हुनुपर्छ। उनकाे पहिलाे एलपी/एल्बम सन् १९६८ मा रिलिज गरिएकाे थियाे जसमा उनी आफैले कम्पाेज गरेका तीनवटा गीतहरु थिए। उनले आफ्नाे दाेस्राे एलपी/एल्बममा स्पेनिश गिटार, बेसड्रम (ठूलाे ड्रम, जसलाई किकड्रम पनि भनिन्छ) लाई ग़ज़लकाे शैलीमा ‘इंट्रड्युस’ गराए, याे एलपी/एल्बम ग़ज़लहरुले भरिएको थियाे र यसलाई सन् १९७८ मा रिलिज गरिएकाे थियाे। उनकाे तेस्राे एल्बम ‘वह जाे शायर था’ सन् १९८० मा रिलिज गरिएकाे थियाे जसमा गुलज़ारले गीतहरु लेखेका थिए।

भुपेन्द्र सिहँकाे निजी जीवनकाे कुरा गर्दा उनले बंगलादेशी गायिका मिताली मुखर्जीसँग अप्रिल १९८३ मा विवाह गरे। उनीहरुकाे भेट कसरी भयाे याे जान्नु पनि राेचक हुनेछ।

भुपेन्द्रले मितालीलाई दूरदर्शनकाे एउटा कार्यक्रम ‘आराेही’मा गाईरहेकाे सुनेका थिए। उनका अनुसार उनले यस्ताे मनमाेहक आवाज यसअघि कहिल्यै सुनेका थिएनन्। मितालीकाे पारिवारिक पृष्ठभूमि पनि सँगीतसँग जाेडिएकाे थियाे। मितालीलाई पनि उनकाे भाईले एकदिन भुपेन्द्रकाे एउटा बाङ्ला गीत सुनायाे। जसलाई सुनेपछि उनलाई पनि भुपेन्द्रकाे आवाज मनपर्‍याे।

पहिलाेचाेटि भेट्दा मितालीले जब भुपेन्द्रलाई आफ्नाे परिचय दिईन्, तब भुपेन्द्रले भने ‘म तपाईंलाई चिन्छु।’

मितालीले साेधिन्, ‘कसरी’?

भुपेन्द्रले उत्तर दिए, ‘मैले तपाईंलाई दूरदर्शनमा सुनेकाे छु।’

खासमा, एकअर्कालाई नदेखिकनै-नभेटिकनै (एकअर्काको आवाज सुनेर मात्र पनि) उनीहरुकाे मनमा एकअर्काप्रति ‘सफ्ट कर्नर’ सिर्जना भएकाे थियाे। प्रेमकाे बिऊ त्यसबेलै राेपिएकाे थियाे सायद। एकअर्कासँग भेटेपछि उनीहरुकाे प्रेम अझ हुर्कियाे, झ्याङ्गियाे र अन्ततः विवाहसम्म पुग्याे।

भुपेन्द्र सिहँकाे भ्वाईसलाई पार्श्वगायनमा सर्वाधिक ‘युनिक भ्वाईस’हरुमध्ये एक मानिन्छ। उनले हिन्दीमा एक से बढ़कर एक गीत तथा ग़ज़लहरु गाएका छन्। ‘दिल ढूंढ़ता है’, ‘जब कभी मुड़ के देखता हूँ मैं’, ‘हुज़ूर इस क़दर भी ना इतराके चलिए’, ‘किसी नज़र काे तेरा इंतज़ार आज भी है’, मीठे बाेल बाेले, बाेले पायलिया’, ‘नाम गुम जाएगा’, ‘कभी किसी काे मुक़म्मल जहाँ नहीं मिलता’, ‘दाे दीवाने शहर में’, ‘एक अकेला इस शहर में’, ‘फिर तेरी याद नयें दीप जलाने आई’, ‘बादलाें से काट काट के’, ‘कराेगे याद ताे हर बात याद आएगी’, ‘आज बिछड़े है कल का डर भी नहीं’ जस्ता उनका गीतहरु अझै पनि हृदयमा गुन्जिरहन्छन्।

साेलाे गीतहरुमात्र हैन, उनले राम्रा राम्रा, सुमधुर र कर्णप्रिय युगल गीतहरु (duets) पनि गाएका छन्, त्याे पनि लता मंगेशकर, आशा भाेषले, किशाेर कुमार र माेहम्मद रफीजस्ता त्यसबेलाका ठूला-ठूला गायकहरुसँग।

लता मंगेशकरसँग उनले सर्वाधिक डुएट गाएका छन्। ‘दिल ढूंढ़ता है’ (माैसम), ‘थाेडी सी ज़मीं थाेड़ा आसमाँ’ (सितारा), ‘बिती ना बिताए रैना’ (परिचय), ‘नाम गुम जाएगा’ (किनारा), ‘मीठे बाेल बाेल’ (किनारा), ‘सैया बिना घर सुना सुना’ (आँगन की कली),  ‘बादलाें से काट काट के’ (सत्या) आदि डुएट गाएका छन्।

त्यसैगरि, आशा भाेषलेसँग ‘किसी नज़र काे तेरा इंतज़ार आज भी है’ (एतबार), ‘आवाज़ दी है आशिक़ नज़र ने’ (एतबार), अनुराधा पाैड्वालसँग ‘ज़िन्दगी ज़िन्दगी मेरे घर आना’ (दूरियाँ),  रुना लैलासँग ‘दाे दीवाने शहर में’ (घराैदा), प्रिति सागरसँग ‘सावन के दिन आए सजनवा आन मिलाे’ (भूमिका), शबाना आज़मीसँग ‘गुलाब जिस्म का यूँ नहीं खिला हाेगा’ (अंजुमन), एस जानकीसँग ‘कैसे कहूँ कुछ कह न सकूँ’ (नंदू, तमिल फिल्म) गाएका छन्।

त्यस्तै, पुरुष गायकहरुमा माेहम्मद रफीसँग ‘आने से उसके आए बहार’ (जीने की राह), ‘दुनिया छुटे यार ना छुटे’ (धरम काँटा), किशाेर कुमारसँग ‘प्यार हमे किस माेड़ पे ले आया’ (सत्ते पे सत्ता), ‘ज़िन्दगी मिल के बिताएँगे’ (सत्ते पे सत्ता), सुरेश वाडकरसँग ‘हुज़ूर इस क़दर भी ना इतराके चलिए’ (मासूम) आदि उनले गाएका केही उत्कृष्ट डुएटहरु हुन्।

उनले अरु चल्तीका गायकहरुका तुलनामा कम गीतहरु गाए तर प्राय: सबै उत्कृष्ट गाए। उनका गीतहरु निकै लाेकप्रिय पनि भए। निकै मनपराईए तर यतिका शानदार र लाेकप्रिय गीतहरु गाएर, डेलिवर गरेर पनि फिल्म इंडष्ट्रीले उनलाई खासै महत्व दिएन। उनले फिल्म इंडष्ट्रीबाट त्याे सम्मान पाउन सकेनन् जसकाे उनी हकदार थिए।

त्यसबेला फिल्म इंडष्ट्रीमा एकजना पनि यस्ताे मान्छे भेटिन्दैनथ्याे (अहिले पनि भेटिन्दैन) जसले उनकाे गायनलाई नराम्राे भनाेस्, उनकाे गायनमा खाेट देखाउन सकाेस्, तर पनि उनलाई अवसरहरु खासै दिईएन। राम्राे गायक पनि भन्ने तर काम पनि नदिने। याे पनि अचम्मैकै कुरा हाे। बलिउडमा यस्ताे अचम्म अक्सर देख्न पाईन्छ।

एउटा अन्तर्वार्तामा भुपेन्द्र सिहँले भनेका थिए, ‘त्याे दाैरमा फिल्म इंडष्ट्रीमा यतिका दिग्गज गायकहरु थिए कि उनीहरुका बीचमा आफ्नाे स्थान बनाउनु सजिलाे थिएन। मैले सायद त्यसाे गर्न सकिन।’

हेर्नुहाेस् त, कति साेझाे थिए भुपेन्द्र अनि कति ईमानदार पनि। उनले आफ्नाे असफलताकाे लागि अरुलाई दाेष दिएनन्। मैले उत्कृष्ट गाउँदागाउँदै पनि अनि मेरा गीतहरु हिट हुदाँहुदै पनि मैले थप अवसर पाईन’ भनेर गुनासाे गरेनन्। ‘बरु म भन्दा अरु गायकहरु नै समर्थ निस्के, उनीहरु अघि बढे। त्यसैले मैले अवसर पाईन वा कम पाए। म उनीहरुकाे अघि उत्कृष्ट साबित हुनु सकिन। म असमर्थ भए’ भने।

कति ईमानदार स्वीकाराेक्ति गरे भुपेन्द्रले, त्याे पनि कति सजिलैसँग। यसरी सजिलै सत्य स्वीकार गर्ने इमानदार गायक वा कलाकारहरु किन हाेला फिल्म इंडष्ट्रीमा?

बंगलादेशी गायिका मितालीसँग विवाह गरेपछि, अस्सीकाे दशकको मध्यतिरबाट उनले फिल्ममा पार्श्वगायन छाडे। त्यसपछि भने उनीहरुले एल्बम र कन्सर्टहरुका लागि सँयुक्त रुपमा गाउन थाले। उनीहरुले थुप्रै एल्बम र कन्सर्टहरुमा सँगै गाए। सँगै मिलेर थुप्रै गजल र गीतहरुका क्यासेटहरु निकाले। यसप्रकार उनी स्वतन्त्र कर्ममै रमाए। बाल्यकालदेखि बन्धनमा बस्न नचाहने, स्वतन्त्रतामा रमाउने भुपेन्द्र वयस्क हुदाँ पनि बन्धनमा बाँधिन चाहेनन्। स्वतन्त्र बाटाे समाते। उनले आफ्नाे बाटाे आफै खने।

जे भए नि, एउटा सत्य के हाे भने भुपेन्द्रमा जति प्रतिभा थियाे, त्यस हिसाबले बलिउडबाट उनले जति ‘रेस्पेक्ट’ पाउनुपर्थ्याे, त्यति पाएनन्। तर पनि स्राेताहरुमाझ गहिराे प्रभाव, गहिराे असर र अमिट स्मृति छाडेर गए भुपेन्द्र सिहँले।

भुपेन्द्र सिहँले आफ्नाे पछाडि, आफ्नाे पत्नी मिताली र छाेरा निहाल सिहँ (जाे एक गायक हुन्) लाई छाडेर गएका छन्।

अलविदा भुपेन्द्र सिहँ। भुपेन्द्र सिहँ सदैव सँगीतप्रेमीहरुकाे सम्झनामा रहिरहनेछन्।

भुपेन्द्र सिहँलाई मेराे हार्दिक श्रद्धाञ्जली र उनकाे परिवार र कद्रदानहरुलाई गहिराे संवेदना।

मा प्रकाशित