स्कटल्याण्डमाथि नेपालको सानदार जित

गणतन्त्र नेपाल समाचारदाता

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ।

ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका उनले १० चौका र १ छक्का हाने । ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।

यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो । टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीले गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

९४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्कटल्याण्डका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले हमजा ताहिरसँग मिलेर १०औं विकेटका लागि ४९ रनको साझेदारी गरे । ५९ बल खेल्दै उनले ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए ।

स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए ।

स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए । आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

स्कल्याण्ड भ्रमणको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो ।

 

मा प्रकाशित