संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।
समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।
राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल, हेम पौडेल छन् ।
प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौत सम्मानित भए ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरी सम्मानित भए भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले सम्मानबाट स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृति प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मूर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए ।