मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश

गणतन्त्र नेपाल समाचारदाता

बिहीबार राति मोरङको जहदास्थित माछापुच्छ्रे बैंकको शाखाका सुरक्षा गार्ड बैंकमै सुतिरहेका थिए ।

राति करिब साढे २ बजेबाट डाङडाङ डुङडुङको आवाजले उनी व्यूँझिए । ब्यूँझदा एउटा अपरिचित समूह बैंकको पछाडि पट्टीको दुई वटा ढोका फुटाएर भित्र पस्दैथियो ।

मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश गरेपछि उनी आत्तिए । साथमा रहेको खुकुरी देखाएर तर्साउन खोजे । तर त्यो समूहले टेरेन । एक वर्षदेखि बैंकमा गार्डको काम गरिरहेका उनको घर बैंकबाट नजिकै पर्छ । उनले घर र छरछिमेकमा फोन गरेर बैंकमा लुटेरा समूह छिरेको सुनाए । जहदा गाउँपालिका– ५ जहदा बजारमा रहेको बैंकको शाखा आसपास बसोबास बाक्लो छ ।

मध्यरातमा अपरिचित समूह प्रवेश गरेपछि उनले चिच्याए । ‘राति साढे २ बजे तिर चेनगेट र अर्काे गेट भत्काएर आएपछि साथमा भएको खुकुरी देखाएँ’, उनले भने,‘ राति नै छरछिमेकमा फोन गरेर मान्छेलाई बोलाएँ, अपरिचित समूहलाई पुसिल आइपुग्यो भनेर डर पनि देखाएँ ।’

छरछिमेकमा फोन गरेर हल्ला भएपछि भने दुई वटा ढोका फोडेर बैंक छिर्दै गरेको समूह फरार भएको थियो । ‘सुरुमा २ जनालाई देखे, तर त्यहाँ ७–८ जना मान्छे थिए,’ सुरक्षा गार्ड सिंहले भने, ‘सबैले मुख छोपेका थिए ।’

बैंकको सिसी क्यामेरामा भने दुई जना मात्रै देखिएका छन् । सिसी क्यामेरामा देखिएकाहरुले मुख छोपेका थिए । जहदाका स्थानीय नितिशकुमार साहका अनुसार बिहीबार राति बैंक लुटपाटको प्रयासको हल्ला भएपछि गाउँलेहरु भेला भएका थिए । हल्ला भएको केही समय पछि प्रहरी पनि आएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार जहदा गाउँपालिका– ५ मा बैंक रहेको भवनको पछाडि पट्टीको ढोका फोडिएको अवस्थामा पाइएको थियो ।

‘घरको पहिलो तलामा बैंक र दोस्रो तलामा घरमुली बस्दा रहेछन्,’ उनले भने, ‘बैंक भएको भवनको पछाडि पट्टीको गेट फुटाइएको रहेछ ।’

उनले लुटपाटको प्रयास भए नभएको विषयमा अनुसन्धान भइरहेको बताए । ‘बैंक वा घरमा (लुटपाटको) प्रयास भएको हो खुलेको छैन,’ उनले भने,‘हामी सीसी क्यामेरा फुटेज मगाएर हेर्दैछौं ।’

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID