एउटै व्यक्तिलाई एकै दिन १२ पदक !

गणतन्त्र नेपाल समाचारदाता

कला साहित्यमा मानपदवी लेनदेन हुने गरेको यदाकदा सुनिएको छ । पोखरामा एउटै व्यक्तिलाई १२ पदवी दिएपछि पदककै हुर्मत लिने काम भएको भन्दै चर्को आलोचना भइरहेको छ ।

पोखराका देशभक्तसिंह कुँवरलाई विभिन्न संस्थाले प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख रुपैयाँसहित विभिन्न १२ वटा उपाधिले सम्मान गरेका छन् ।

कुँवरले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव गरी १२ उपाधि पाएका हुन् ।

यसअघि पनि कुँवरले ‘अलौकिक कवि’को उपाधि पाएका थिए । डेढ घन्टाभित्र लेखेर सकेको दाबी गरिएको ‘सेतो संसार’ नामक मुक्तक संग्रह प्रकाशन गरेर उनले २०७५ सालमा ‘अलौकिक कवि’को उपाधि पाएका थिए । सोही वर्षको असोज २८ गते विभिन्न सयभन्दा बढी संस्थाको समर्थनमा तत्कालिन मेयर मानबहादुर जिसीको उपस्थितिमा आफूले पाएको उपाधि अनुमोदन भएको उनको दाबी छ ।

कुँवरलाई इन्ल्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्ल्याल्क नेपालकै पोखरा र काठमाडौं शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारावि फाइनान्सियल एजेन्सी, काविन ग्राफिक्स सोलुसन, माछापुच्छ्रे सांस्कृतिक परिवारले संयुक्त रुपमा विभिन्न उपाधि प्रदान गरेको थियो ।

यसवर्ष भने कुँवरलाई एकैदिन १२ उपाधि दिइएपछि अहिले सामाजिक सञ्जालमा उनीमाथि व्यंग्य भइरहेको छ । वरिष्ठ साहित्यकारले समेत सामाजिक सञ्जालमा व्यंग्यसहित तीव्र आलोचना गरिरहेका छन् ।

साहित्यकार सरस्वती प्रतीक्षाले सोमबार सामाजिक सञ्जालमा व्यंग्य गर्दै उपाधिहरुकै हुर्मत लिने काम गरिएको उल्लेख गरेकी छन् । ‘…ब्यानरमै ‘साहित्यिक राष्ट्रनायक’ रे अझै । उपाधिहरुकै हुर्मत काट्ने गरेर यसरी प्रायोजित रुपमा आफैंलाई, अरुलाई सम्मान गरेर वाङ्मयको सम्मान हुन्छ कि अपमान ?’ उनले लेखेकी छन्, ‘साधना र सिर्जना कठिन बाटोको अर्को नाम हो । त्यसलाई यस हदको सस्तो बनाइनु हुँदैन कदाचित ।’

हेटौंडाका कवि निमेश निखिलले पनि सामाजिक सञ्जालमै व्यंग्य गरेका छन् । उनले पोखराकै वरिष्ठ साहित्यकार सरुभक्त तथा तीर्थ श्रेष्ठलाई उल्लेख गर्दै लेखेका छन्, ‘लाजलाई पनि लाज लाग्यो होला ! साहित्यको यतिसम्म हुर्मत ? लौ न भक्त दाइ, तीर्थ दाइ ! के हो यस्तो तपाईंहरुको सहरतिर ?’

निखिलको स्टाटसमा वरिष्ठ साहित्यकार श्यामल अधिकारीले पनि प्रतिक्रिया थपेका छन् । ‘यति विराट अनि अलौकिक प्रतिभाका बारे सुइँकोसम्म नपाउने हामी लौकिक लण्ठूहरुलाई जिस्काउनु कुन ठूलो कुरा भो र ?’ अधिकारीले भनेका छन्, ‘सम्मान गर्ने संस्थाहरुलाई यस अलौकिक कार्यका लागि कस्तो धन्यवाद दिन सकिएला ?’

बा को इच्छा पूरा गर्न सम्मान थापेको हुँ’

कुँवरले आफूले बाबुको इच्छा पूरा गर्न आफूले सम्मान थापेको बताएका छन् । बाबु बिरामी रहेको र जीवन छँदै छोरोको प्रगति देख्ने इच्छा पूरा गर्न सम्मान थापेको अनलाइनखबरलाई बताए । ‘बा पनि बिरामी होइसिन्छ । नत्र म पनि सम्मान लिनुपर्छ, थाप्नुपर्छ भन्ने मान्छे त होइन । तर, जीवनकालमै छोराको प्रगति देख्ने बाबुको इच्छा पूरा गर्न पुरस्कार थापेको हुँ ।’

पुरस्कार प्रदान गर्ने मुख्य आयोजक रहेको इन्ल्याल्कका अध्यक्ष पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक हुन् । पदवी वितरण कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपतिदेखि शिक्षाविद् जर्ज जोनसम्मको उपस्थिति थियो ।

अलौकिक कविको उपाधि पाएको केही महिनापछि नै इन्ल्याल्क नामक संस्थाले अन्य उपाधिका लागि आग्रह गरेको कुँवरको दाबी छ । पछि अन्य संघसंस्थाले पनि आफूलाई उपाधि दिन प्रस्ताव राखेको उनले अनलाइनखबरलाई बताए । ‘सुरुमा यामबहादुर थापा क्षेत्रीले प्रस्ताव गर्नुभयो । त्यतिबेला मैले समय छैन भनिदिएको हुँ । पछि काठमाडौंका विभिन्न संस्थाले मेरोबारे थाहा पाउनुभएछ । उहाँहरुले पनि प्रस्ताव राख्नुभयो,’ कुँवरले भने, ‘तर, १२ चोटि फरक फरक ठाउँमा गर्दा समय र आर्थिक खर्च हुने भएकाले तालमेल मिलाउन एकैपटक गरौं भनेर आफैं भनेको हुँ ।’

कुँवरले आफूले अग्रजहरुलाई सोध्दा पनि पदवी लिन सुझाएको दाबी गरे । ‘मैले अग्रजहरुलाई सोध्दा पनि हुन्छ लिन हुन्छ भन्नुभयो,’ उनले भने, ‘मलाई सम्मान गर्ने संस्थाहरुले दिलबाटै दिनुभएको हो । विभिन्न समयावधिमा साहित्यिक क्षेत्रको छोटो बसाइँमा धेरै सिर्जना गर्न सक्ने भएर दिनुभएको हो, मैले लिएँ ।’ सम्मान गर्ने कुनै पनि संस्थामा आफ्नो आवद्धता नरहेको पनि कुँवरले दावी गरे ।

१०८ किताब प्रेसमै, एकैदिन विमोचन गर्ने इच्छा

कुँवरले अझै १०८ वटा कृति प्रकाशोन्मुख रहेको उनको दाबी गरेका छन् । उनले ती कृति प्रकाशनका लागि प्रेसमा पुगिसकेको  बताए ।

‘२ वर्ष अगाडिदेखि नै तयार छ । एउटा प्रेसले छाप्न भ्याउँदिन भनेपछि फरकफरक प्रेसमा गएको छ’, कुँवरले भने, ‘अब १०८ वटै किताब एकैचोटि विमोचन गर्ने चाहना छ । एकैचोटि विमोचन गर्न सकियो भने देशकै गौरवको कुरा हुन्छ ।’

केही समयअघिमात्रै चितवनमा ‘साहित्यिक राष्ट्रनायक’को उपाधि पाएका कुँवरले गीत, कविता, गजल, मुक्तक, हाइकू, छेस्का, थांकालगायतका दर्जनौं कृति प्रकाशन तथा २५० गीतमा स्वर तथा संगीत दिएको दाबी गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID