काठमाडौंका सडक किनारमा सानोतिनो इलम गरी जीविका चलाउनेप्रति नगर प्रहरीले देखाउने रौद्र रूप नौलो होइन । महानगरले सडकमा मञ्चन गरिरहने यस्तो उपद्रव एक नियमित आकस्मिकता हो, जसको सिकार सडकलाई गरिखाने थलो बनाउन बाध्य दीनहीन नागरिकमध्ये कहिले को हुन्छ, कहिले को ।
शुक्रबार मात्रै मकै बेच्ने एक जोडीलाई बालुवाटार नजिक महानगरपालिका अन्तर्गतको नगर प्रहरीले लछारपछार गरी उनीहरूको ठेलागाडा लिएर गएको घटनाले यतिबेला धेरैको कन्पारो तताइरहेको छ । घटनासम्बन्धी तस्बिर तथा दृश्यहरू सामाजिक सञ्चालमा ‘सेयर’ गर्दै मानिसहरूले यसलाई महानगरको संवेदनहीन कार्य भनेका छन् । हुन पनि, सम्बन्धित व्यवसायीको अनुनय–विनय सुन्दै नसुनी नगर प्रहरीले जबर्जस्ती मकैका घोगासहितको ठेलागाडा ट्रकमा हालिरहेको उक्त दृश्यले जोकोहीको आँखा बिझाउँछ । वर्गीय पक्षधरताका हिसाबले मात्र होइन, मानवीय हृदय भएको कसैले पनि महानगरको यो शैलीलाई न्यायोचित मान्न सक्दैन ।
यस्ता घटनाबाट स्वाभाविक रूपमा प्रश्न उठेको छ, देशका सर्वसाधारणले जीविकाको आधार खोज्नै नपाउने भए, आखिर सडक कसको हो ? फेरि, सामान्यतः यस्ता व्यापारीले न सडकै ढाकेर व्यापार गर्ने हुन्, न मानिस हिँड्ने फुटपाथ पूरै छेकेर । कथं उनीहरूले गाडी र बटुवालाई व्यवधान पुर्याएका रहेछन् भने पो त्यसो गर्न नदिनु महानगरको जिम्मेवारी हो, यद्यपि त्यस क्रममा पनि महानगरको व्यवस्थापन कार्य सर्वथा शिष्ट हुन जरुरी छ । तर अरूलाई असजिलो नपारीकन आफ्नो व्यवसाय गरिरहेकालाई महानगरले घरीघरी यसरी सत्ता–हुज्जत गर्न किमार्थ मिल्दैन; यस्तो कार्यलाई कुनै पनि दृष्टिले जायज ठहर्याउन सकिँदैन ।
काठमाडौं महानगरले बुझ्नुपर्छ- यी व्यापारीहरूले सडक–फुटपाथ कब्जा गरेका होइनन्, त्यहाँ आफ्नो जीविकाको आधार खोजेका मात्र हुन् । र, यो चलन संसारभरकै सहरहरूमा विद्यमान छ । मूलतः फुटपाथका पसलहरू सहरी अनौपचारिक अर्थतन्त्रका एउटा हिस्सा नै हुन् । भनिराख्नै पर्दैन, सहरमा धनी मात्र बस्दैनन्, यहाँ सबै वर्गका मानिसहरू हुन्छन् । सहरमा जसरी फुटपाथमा सामान बेचेर कतिले आफ्नो घर चलाइरहेका हुन्छन्, त्यसरी नै कतिपय मानिसहरू सहजै र सस्तो सामानका निम्ति फुटपाथमै आश्रित हुन्छन् । यसरी फुटपाथ अर्थतन्त्रसित प्रत्यक्ष–परोक्ष लाभान्वित हुनेको संख्या ठूलै हुन्छ । त्यसैले फुटपाथ व्यापारीलाई निषेध होइन, उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने खाँचो छ; उनीहरूलाई उचित विकल्प दिनु आवश्यक छ । बरु उनीहरूलाई कसरी र कुन हदसम्म औपचारिक अर्थतन्त्रसित जोड्न सकिन्छ, त्यतातिर भने ध्यान दिनु वाञ्छनीय छ ।
महानगरको नवनिर्वाचित नेतृत्व स्वयंकै यस्तो जोरजुलुमका निम्ति निर्देशन त पक्कै थिएन/छैन होला, तर नगर प्रहरीको यस्तो कार्यव्यवहारबाट समग्र महानगरको सोच तथा तल्लो तहका व्यापारी–व्यवसायीलाई हेर्ने उसको दृष्टिकोणमाथि भने अवश्य पनि प्रश्न उठ्छ । तसर्थ, महानगर नेतृत्व यस मामिलामा संवेदनशील हुनैपर्छ, र नगरका कार्यसूचीमा फुटपाथ व्यवसायी व्यवस्थापनको विषयलाई पनि प्राथमिकताका साथ राख्नुपर्छ । महानगरले यसको व्यवस्थापनका अनेक विकल्पहरू पहिल्याउनुपर्छ । कतिले यस्तो व्यापारका निम्ति सडकबाहेकको वैकल्पिक स्थान सुझाउने गरेका छन्, तर बिक्रेताहरूलाई यस्ता वैकल्पिक स्थान छनोट गरिदिँदा उनीहरूको इलम यथा रूपमा चल्न सक्छ/सक्दैन भन्नेतर्फ पनि विचार गर्नुपर्छ ।
साँघुरो फुटपाथ भएका र अति व्यस्त सडकमा पक्कै पनि यस्तो व्यवसायलाई प्रतिबन्ध नै लगाउन सकिन्छ । तर सबका सब सडकमा यसलाई रोक्नु न मुनासिब हुन्छ न व्यावहारिक नै । त्यसैले सडककै छेउछाउ पनि कुन बेला, कहाँ–कहाँ मात्रै र कुन रूपमा यस्तो व्यवसाय गर्न दिइने भनेर महानगरले व्यवस्थित मापदण्ड नै जारी गर्नु उचित हुन्छ । बिक्रेताका अधिकार, उनीहरूले पालना गर्नुपर्ने नियम, महानगरले दण्डित गर्न सक्ने अवस्था र दण्डको प्रकृति पनि यस्तो मापदण्डमा सविस्तार खुलाइनुपर्छ । पैदलयात्रुलाई असहज त यस्ता व्यापारीले भन्दा पनि कतिपय स्थानमा सटरभन्दा निकै अघिसम्म सामान राख्ने पसले र फुटपाथमै पार्किङ गर्ने सवारीधनीले पुर्याइरहेका छन् । महानगरको ध्यान त्यसतर्फ पो बढी जानुपर्छ; खालि ‘जो होचो उसको मुखमा घोचो’ भनेजसरी निमुखाहरूलाई मात्रै खेद्नु कदापि हुँदैन ।
अर्को यथार्थ, नगर प्रहरीले फुटपाथका सामान बेच्नेहरूसित घूस असुलिरहेको तथ्य खुला रहस्यजस्तै छ, जसलाई यही पछिल्लो घटनाले पनि फेरि उजागर गरेको छ । पाँच हजार रुपैयाँ दिन नमानेपछि आफूहरूमाथि ज्यादती गरिएको यो जोडीको आरोप छ । यही आरोपका आधारमा पनि यस्ता घूस प्रकरणमाथि महानगरले छानबिन गर्नुपर्छ । यसो गर्नु किन पनि जरुरी छ भने, यो क्षेत्रमा घूसकै कारण पनि समस्या थपिएको छ । घूस दिनेहरू जथाभावी बेचिरहन्छन्, नदिनेहरू नगर प्रहरीको वक्रदृष्टिको सिकार बन्छन् । र, महानगरले यस्ता प्रहरीलाई कार्यक्षेत्रमा खटिँदा सबैसित शिष्ट व्यवहार गर्न पनि प्रशिक्षित गर्नुपर्छ । ऊनीहरूको त्रूर तथा निर्दयी व्यवहारकै कारण महानगरले आफ्नो समग्र छवि धमिल्याउनु हुँदैन ।
हिजो चुनावअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीतमा आफ्ना शब्द जोडेर र्याप गाउने गरेका वर्तमान मेयर बालेन्द्र शाहको आज तिनै गरिबहरूका यस्ता सवालप्रति ध्यानाकर्षण हुनैपर्छ ।