वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो, दूतावासले गर्‍यो यस्तो आग्रह

गणतन्त्र नेपाल समाचारदाता

वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला) पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू झेल्नुपरेका धेरै घटनाहरू छन्,’ साउदी अरब स्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरूमा समायोजन हुन नसक्दा अविलम्ब घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिँड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरू हुने गरेको उनले सुनाए ।

साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बुझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानुन लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जान सक्छ ।

साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कफला पद्धति । साउदीको भिसा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति बेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो ।

‘कफिल भनेका मालिक हुन् । कफिलले भिसा उपलब्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसाबमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति बेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिँदैन,’ सूचना अधिकारी आचार्यले भने ।

कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौँसम्म अदालतमा  मुद्दा चल्ने र अदालतबाट निरूपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुन सक्दछ ।

‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानुनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानुनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न बाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटिल समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने ।

कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइँदैन ।

साउदी अरब पुगेका महिला कामदारले धेरै समस्या भोग्नु परेपछि अहिले महिला कामदार साउदी लान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भिसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्तताको आधारमा प्रक्रिया अगाडि बढ्दछ ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID