११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो

गणतन्त्र नेपाल संवाददाता

कृषि प्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।  पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेँडा नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।  बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।

विभागका अनुसार उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ । सोही समयमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको विभागले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID