‘दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ’

गणतन्त्र नेपाल समाचारदाता

राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।

प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको हो ।

‘हालसम्म ८ जनामा हैजा देखिएको छ भने यो संक्रमण राजधानीमा भित्रभित्रै छरिएर रहेको र बढ्दो क्रममा देखिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने–‘अहिलेसम्म पाएको जानकारी अनुसार हैजा फैलिने मुख्य कारण दिसाले संक्रमित ट्युबेल, धारा र जार लगायतका पानी र स्ट्रिट फुड हो ।’

हालको अवस्थामा पानी उमालेर मात्र खान वा उपयुक्त मात्रामा क्लोरिनको प्रयोग गरेर शुद्ध बनाएर मात्र खानुपर्ने डा. दास बताउँछन् । यस्तै सडक छेउको खाने कुरा पटक्कै नखान र सकेसम्म घर बाहिर खाना नखान उनले आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार डिल्लीबजारमा धारा, ट्युबेल आदिबाट संकलित पानीमा ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवैमा संक्रमण देखिएको थियो। बुढानीलकण्ठमा धारा, जार लगायतका पानीको नमूनामध्ये ७५ प्रतिशत ‘कोलिफर्म’ र ‘इकोलाइ’ दुवैबाट प्रदूषित रहेको पाइएको छ।

अनियन्त्रित रुपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीको भाषामा झाडापखाला भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यो हैजा हो ।

भिब्रियो कलेरीबाट संक्रमित दूषित खाना वा पानी सेवन गर्दा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । विज्ञहरूका अनुसार महामारीको समय सामान्यत: हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ ।

हैजाको बिरामीहरूको चिकित्सकीय इतिहासको अनुसार उनीहरूले सोझै धारा, ट्युबेल र जारको पानी सेवन गर्नुको साथै चटपटे लगायत सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ र होटेलको खाना सेवन गरेको देखिएको डा. दास बताउँछन् ।

हैजा हुँदा धेरै मात्रामा वान्ता र पखाला हुनाले शरीरमा भएको पानीसँगै द्रव्य र लवणसमेत निस्किन्छ । शरीर बाहिर निस्किएका यी पदार्थको तुरुन्त आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी शुद्ध खाना, पानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छताले हैजाको संक्रमणबाट जोगिन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण दुई घन्टादेखि पाँच दिनसम्म देखिन सक्छ । धेरै कम अवधि भएकोले यो संक्रमण समाजमा विस्फोटकै रुपमा फैलिने क्षमता राख्छ । यसको उपचार नगरिए बिरामीको मृत्युसमेत हुने चिकित्सकहरूको चनाइ छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID