
पूर्व सञ्चारकर्मी रवि लामिछानेको प्रस्तावित दलको नामका विषयलाई लिएर निर्वाचन आयोगमा उजुरी परेको छ ।
स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सम्बोधन गर्दै बुधवार उजुरी परेको हो ।
‘पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पार्टी दर्ताका लागि निवेदन दिएको भन्ने कुरामा स्वतन्त्र उम्मेदवारी अभियानको गम्भीर ध्यानाकर्षण भएको छ,’ डम्बर शाहुको हस्ताक्षरमा दिइएको उजुरीमा भनिएको छ, ‘(यसले) स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति, समूह, वा संस्थालाई गम्भीर आघात पुगेको छ ।’
कुनै पनि दलमा आवद्ध नभई स्वतन्त्र उम्मेदवारी दिन पाउने कानूनी अधिकार हनन् भएको भन्दै प्रस्तावित पार्टीको नामबाट स्वतन्त्र शब्द हटाई अन्य शब्द प्रयोग गर्न उजुरीमा माग गरिएको छ ।




