प्रविधिले एक्ल्याएका किशोरकिशोरी

गणतन्त्रनेपाल समाचारदाता, दाङ

केही दिनअघि २१ वर्षीय एक र्‍यापरले आफू आमाबुबासँग बस्न नचाहेको र स्वतन्त्रता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उनले आफू दुर्व्यसनी भएको स्विकार्दास्विकार्दै पनि आफ्नो वैयक्तिता कसैले खोस्न नसक्ने भन्दै आमाबाबुको नियन्त्रण स्वीकार्य नभएको बताए । त्यस्तै भारतको लखनउमा पब्जी गेम खेल्न नदिएको भन्दै १६ वर्षका एक किशोरले आमालाई गोली हाने ।

यी घटनामा दुइटा समानता छन् । दुवैले अभिभावकबाट आफ्नो स्वतन्त्रता हनन भएको आक्रोश पोखेका छन् भने तिनको उमेरमा पनि खासै अन्तर छैन । एक जना किशोरावस्थाको मध्यमा छन् भने अर्को युवावयको संक्रमणमा ।

यी दुवै प्रतिनिधि पात्र मात्र हुन् समाचारमा आएकाले हामीमाझ परिचित भएका । हाम्रो समाजमा यस्ता धेरै किशोर–किशोरी छन् जो निजत्वमाथि आक्रमण भएको विश्वासले क्रुद्ध छन् । मौका परे ध्वंसात्मक गतिविधिमा सामेल हुन पनि पछि पर्दैनन् । आखिर हाम्रो समाजमा कसरी यस्ता पात्रको निर्माण भइरहेछ ? उनीहरूले चाहेको स्वतन्त्रता कस्तो हो ? उनीहरू किन असन्तुष्ट छन् ?

हाम्रो समाजमा असन्तुष्ट, आक्रोशित किशोरहरूको निर्माण हुनुका मुख्यतः तीन कारण छन् । पहिलो, हराउँदो सामाजिक वातावरण । पहिले हाम्रो समाजमा सामूहिकतालाई बढी महत्त्व दिइन्थ्यो ।

पाठ्यपुस्तकमै संयुक्त परिवार, परिवारप्रतिको दायित्व सम्बन्धी ज्ञानलाई प्राथमिकताका साथ राखिन्थ्यो । गुठी लगायत सामाजिक क्रियाकलापमा सपरिवारको संलग्नताले, आपसी सहयोगले केटाकेटीमा ‘हामी’ भन्ने भावको विकास गराउँथ्यो । यसले परिवार र समाजसँगको सम्बन्ध बलियो बनाइरहन्थ्यो ।

प्राविधिमा आएको परिवर्तनसँगै यस्तो सामाजिकता हराउँदै गएको छ । परिवारको आकार सानो भएको छ । त्यसमाथि वैदेशिक रोजगारी र अन्य कारणले अभिभावक सन्तानबाट टाढा रहने अवस्था छ, जसको असर हुर्किरहेका किशोरकिशोरीमा परिरहेको छ । परिवार र समाजसँग नजोडिएका नयाँ पुस्ता एकलकाँटे बनिरहेका छन् ।

दोस्रो हो, प्रविधिको सदुपयोग हुन नसक्नु । आजका अधिकांश किशोरकिशोरीको हातहातमा स्मार्ट फोन र इन्टरनेट छ । उनीहरू आफ्नो कोठामा बसेर दुनियाँ सयर गर्न सक्छन्, विश्वका घटना,

फेसन, सिनेमाबारे सूचित हुन सक्छन् । इन्टरनेट गेम खेल्न सक्छन्, जसका लागि उनीहरू एकान्त चाहन्छन् । यसरी असीमित ज्ञान केटाकेटीसम्म सम्प्रेषण भइरहेको छ, कति सकारात्मक छन् कति नकारात्मक जसको छनोट गर्ने चेतनाको कमी उनीहरूमा हुन्छ ।

विगतमा सामूहिक भावना उत्पन्न गराउन रिले दौड, कबड्डीजस्ता खेल खेलाइन्थ्यो । अहिले इन्टरनेटमा एक्लै खेलिने खेल हुन्छ, जसले केटाकेटीलाई एक्ल्याइरहेको छ, अलग्गै बस्न, आफैं निर्णय गर्न बढावा दिइरहेको छ । यस्ता खेलले एकताको भावनालाई नकार्छ । हिंस्रक तवरबाट हातहतियारको प्रयोग गरी संरचनाहरू ध्वंस गर्ने, हत्या गर्ने भर्चुअल गेम मन्द विषसरह छ । यसले केटाकेटीमा निर्माणभन्दा विध्वंस गर्ने मानसिकता विकास गर्दै लगेको छ । यस्ता खेलले केटाकेटीलाई आपराधिक गतिविधिमा जान प्रेरित गर्छ ।

तेस्रो हो, उपभोक्तावादी शिक्षा । हाम्रो सिंगो शैक्षिक प्रणाली उपभोक्तावादी बन्दै गइरहेको छ । शिक्षाको उद्देश्य असल र समाजोपयोगी मानवको बनाउनु हो तर वर्तमान शिक्षा पद्धतिको एउटा मात्रै उद्देश्य छ— उपभोक्ता बनाउनु । राम्रोसँग पढ्नुको उद्देश्य गतिलो जागिर खानु र धेरै कमाउनुमा सीमित हुँदै गइरहेको छ । अर्कातर्फ शिक्षा आफैंमा व्यापार बनिरहेछ । शिक्षार्थी केवल उपभोक्ता बनिरहेछन् भने शिक्षक उपभोक्तावादको सिकार । राम्रो नम्बरसहित विद्यार्थी उत्तीर्ण गराउने विद्यालयको नाफा पनि बढी हुने भएकाले शिक्षकहरू सकेसम्म धेरै नम्बर ल्याउने विद्यार्थी तयार गर्न बाध्य छन्, असल विद्यार्थी बनाउन होइन । यस्तो प्रणालीले विद्यार्थीको विविधतापूर्ण रुचि र क्षमता अस्वीकार गर्छ । उस्तै तरिकाले सोच्ने मानिस बनाउन शिक्षकहरू अभिशप्त छन् । महँगो विद्यालयको उपभोक्ता बनाइएका विद्यार्थी धेरै कमाउने र धेरै उपभोग गर्न सक्ने बनोस् भन्ने बजार चिन्तनको परिणति हुर्किंदै गरेका किशोरकिशोरीमा देखिइरहेको छ । उनीहरू अब समाजलाई उपभोक्ताको आँखाले हेर्न थालेका छन् ।

यस्ता कारणले हुर्किंदै गरेका किशोरकिशोरीलाई असामाजिक, जिम्मेवारीबोधविहीन र चरम व्यक्तिवादी बनाइरहेका छन् । पैसा हुनेले जे पनि गर्न सक्छ र गर्न पाउनुपर्छ भन्ने मानसिकता बन्दा केवल कमाउने र खर्च गर्नेमै केन्द्रित भइरहेका छन् । त्यसैलाई नै उनीहरूले स्वतन्त्रता भन्छन्, अचेल । आफ्नो रुचि, इच्छाअनुरूपका जुनसुकै गतिविधि गर्न पाउनुलाई स्वतन्त्रताको रूपमा बुझ्न थालेका छन् ।

१८ वर्ष पुगेपछि स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्दै आमाबाबुप्रतिको कर्तव्य, दायित्वबाट पन्छिन खोज्छन् । आफ्नो विचारले अन्य मानिसलाई पर्ने असुविधाप्रति कत्ति पनि जिम्मेवार देखिँदैनन् । अचेलका किशोरकिशोरी स्वतन्त्रतासँगै कर्तव्य जोडिएर आउँछ भन्नेमा सचेत छैनन् । उनीहरू त आफ्नो ‘स्वतन्त्रता’ हनन झएकामा रुष्ट छन् र त्यसो गर्ने व्यक्ति, संस्था, कानुन वा राज्यसँग त्रुद्ध छन् । प्रतिकारमा उत्रिन्छन् ।

हो, सबै किशोरकिशोरी यस्ता हुँदैनन् । तर अहिलेका किशोरकिशोरीमा नौतिक शिक्षा खडेरी परिरहेको देखिन्छ । अर्कातिर अहिले नैतिकताको परिभाषा फेरिएको छ । आर्थिक सम्बन्धमा आएको बदलावले सामाजिक सम्बन्ध र मान्यतामा पनि परिवर्तन ल्याउँछ । अब हिजोको जस्तो ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ मान्यता कायम रहेन । राजनीतिक प्रणाली लोकतान्त्रिक हुँदै गए जसरी सामाजिक अभ्यास पनि लोकतान्त्रिक हुनु जरुरी छ ।

आजको नैतिक शिक्षाको मूल उद्देश्य, लोकतान्त्रिक संस्कार भएको मानव बनाउनु हो । लोकतान्त्रिक संस्कार हुनुको अर्थ हो— आफ्ना विचार शिष्ट र तार्किक रूपमा राख्ने, अरूको विचारको सम्मान गर्ने, फरकमत र विविधतालाई स्विकार्ने तथा सहमति र सहकार्यमा विश्वास राख्ने । लोकतन्त्रले मानिसलाई स्वतन्त्र जरुर बनाउँछ, सँगसँगै दायित्वबोध पनि गर्न सिकाउँछ । लोकतान्त्रिक संस्कारले मानिसलाई स्वतन्त्र विचार राख्न र अरूको विचारको कदर गर्न सघाउँछ । र, यस्तो संस्कारले मात्र हुर्किंदै गरेका किशोरकिशोरीलाई असामाजिक बनाउने जोखिम कम हुन्छ ।

 

मा प्रकाशित