करोडौं वर्षअघि संसारमा राज गरेका ६ डायनासोरबारे रोचक तथ्य

गणतन्त्र नेपाल संवाददाता

डायनासोर नाम सुनेका र फिल्म/पत्रपत्रिकामा यसको प्रतीकात्मक स्वरूप देखेका अधिकांशको जिन्दगीमा सायद एक न एकपटक डायनासोरप्रति मोह आउँछ।

अचेलका धेरै बच्चाबच्चीलाई त डायनासोर र शार्कहरू एकदम मन पर्ने पाएको छु। हाम्रो पालामा धेरै टिभी वा डायनासोर सम्बन्धी सामग्रीको पहुँच नभएर होला, मलाई बच्चा हुँदा डायनासोरप्रति त्यति धेरै चासो थिएन। हुर्किँदै जाँदा, डायनासोरबारे देख्दै-पढ्दै जाँदा अलि अलि मोह आयो।

प्राणीशास्त्र पढ्न थालेपछि भने यसबारे रूचि जाग्यो। तर जीवाश्म विज्ञानतिर भन्दा क्रमिक विकासतिर धेरै रूचि भएकाले लोप भएका डायनासोरहरू नपढेर जिउँदा-जाग्दा डायनासोरबारे पढियो। चराहरूबारे!

हो, चराहरू जिउँदा जाग्दा डायनासोर हुन्! यसबारे मैले पहिल्यै लेख लेखिसकेको छु।

डायनासोरबारे प्रकाश पार्ने प्रसिद्ध हलिउड फिल्म ‘जुरासिक पार्क’ पहिलोपटक हेर्दाको उत्साह बेग्लै थियो। रिलिज भएको धेरैपछि हेरेको थिएँ। त्यति बेला त्यसमा देखाइएको सामग्री राम्रोसँग बुझेको पनि थिइनँ। बुझ्ने भएपछि फेरि हेरेँ। अनि धेरै कुरा स्पष्ट भयो। फिल्ममा लोप भएका डायनासोर फिर्ता ल्याइएका र यसबाट निम्तिएको परिस्थितिबारे कथा छ। ऊबेला त के बुझ्नु!

जुरासिक पार्क (सन् १९९३) को पहिलो फिल्ममा ‘एम्बर’ (रूखको चोपको अवशेष) मा जमेर बसेको लामखुट्टेको रगतबाट डायनासोरको डिएनए झिकिएको देखाइएको छ।

यो कुरामा जानुअगाडि जीवाश्म कसरी बन्छ भन्ने बुझ्न जरूरी छ। जीवाश्म फरकफरक किसिमले बन्न सक्छ। सबभन्दा सरल तरिका भनेको कुनै पनि प्राणी वा वनस्पति मर्नासाथ माटो, खरानी वा बालुवाले पूरै छोपेको खन्डमा बन्ने हो। नरम तन्तुहरू टुक्रिन्छन् र माटो, खरानी वा बालुवाले हड्डीलाई छोप्छ।

जीवाश्म बन्ने यो प्रक्रियालाई ‘परमिनेरलाइजेसन’ भनिन्छ। ती पुरिएका हड्डीभित्र पानीको माध्यमबाट खनिजहरू छिर्छन्। तिनले जीव र वनस्पतिको कोशिका र तन्तुहरू भर्छन्। त्यसपछि ती खनिजहरू ‘क्रिस्टलाइज’ हुन्छन्। अनि त्यो हड्डीले स्वरूप लिन्छ। यो सबभन्दा सामान्य प्रकारको जीवाश्म बन्ने प्रक्रिया हो।

अर्को भनेको ‘इम्प्रेसन’ हो। यो भनेको गिलो माटोमा खुट्टाले टेक्दा जुत्ताको डाम बसेको जस्तो हो। पृथ्वीको धेरै ठाउँमा डायनासोरहरू र अरू ठूला जनावरका इम्प्रेसन देखिन्छन्।

त्यस्तै अर्को प्रक्रिया भनेको जुरासिक पार्कमा देखाइएको जस्तो एम्बर हो।

के हो त एम्बर?

कुनै रूखमा चोट लागेपछि त्यसबाट चोप निस्किन्छ। यसलाई अंग्रेजीमा ‘रेजिन’ भनिन्छ। त्यो चोप माथि भनेको जस्तै प्रक्रियाबाट दुइटा ‘सेडिमेन्ट’ को बीचमा बसेर अवशेष बन्न थाल्छ अनि एम्बर बन्छ। यो कडा स्वरूपमा वर्षौं रहन्छ। तर सबै चोप रेजिन बन्छ भन्ने हुँदैन।

डोमिनिकन रिपब्लिकमा भेटिएको एउटा दुई करोड वर्ष पुरानो एम्बरमा लामखुट्टे जोगिएर बसेको पाइएको थियो। अझ रोचक के भने, त्यो लामखुट्टेमा मलेरियाको पारासाइट पाइएको थियो। त्यसैगरी दुई करोड ९० लाख वर्षअगाडि एम्बरमै जोगिएर बसेको एउटा किर्नामा डायनासोरको रगत पाइएको थियो।

अब कुरा आउँछ, के त्यो रगतबाट डायनासोर बनाउन मिल्छ?

एम्बरमा त्यसरी जोगिएर बसेका कीराहरूमा रगत नै पाइए पनि त्यति लामो समयसम्म त्यसमा डायनासोरको डिएनए हुन्छ भन्ने छैन। त्यो किर्नामा भेटिएको रगतमा पनि अनुसन्धानकर्ताले डिएनए पाएका थिएनन्।

डिएनए भेटिएकै भए पनि डायनासोर नै बनाउने गरी राम्रो मात्रामा पाइनु धेरै असम्भव कुरा हो। यो विषयमा धेरै नजाऊँ, यहाँ कुरा पर्दाको डायनासोर अर्थात् फिल्म जुरासिक पार्कको हुँदै छ।

यो लेख फिल्मको समीक्षा होइन, त्यसमा भएको डायनासोरका बारेमा हो। जुरासिक पार्क र यसको शृंखला फिल्म जुरासिक वर्ल्डमा भएका मलाई मनपर्ने ६ वटा जातका डायनासोरबारे।

अब यी ६ प्रजातिको व्याख्या गर्नुअघि डायनासोरको बारेमा थोरै भन्छु।

डायनासोर एक प्रकारका सरीसृपहरू हुन् जसले पृथ्वीमा लगभग १४० वर्ष राज गरे। डायनासोर करिब २५ करोड १० लाख वर्षअगाडि देखा परेको अध्ययनले बताउँछ। (यसको पुष्टि विभिन्न ठाउँमा भेटिएको डायनासोरको जीवाश्मले गर्छ। नेसासोरस प्यारइङ्टोनी अहिलेसम्म भेटिएको सबभन्दा पुरानो डायनासोरमा पर्छ।)

डायनासोर सरीसृपको ‘डायप्सिड’ नामक ‘क्लेड’ (जनावरको एउटा वंश जुन एउटै पुर्खाबाट उत्पत्ति भएको हुन्छ) अन्तर्गत ‘आर्कोसोर’ प्रजातिमा पर्छ। डायप्सिडलाई ‘टु आर्चेस’ (दुई चापको आकार) भनेर पनि बुझिन्छ। डायप्सिड प्रजातिमा खप्परको छेउमा दुइटा प्वाल हुने जनावर पर्छन्। आर्कोसोरमा लोप भएका डायनासोरदेखि गोही र चराहरू पनि पर्छन्। गोही र चरा आर्कोसोरका जीवित प्रतिनिधि हुन्।

खप्परमा एउटा मात्र प्वाल हुनेहरू ‘सिनाप्सिड’ (स्तनधारी) वर्गमा पर्छन् भने प्वाल नहुनेहरू ‘अनाप्सिड’ मा (उदाहरण- कछुवा) पर्छन्।

हेर्दा डायनासोरजस्तै देखिने जुरासिक कालका विभिन्न जनावरले गर्दा कुन डायनासोर हो र कुन होइन भन्नेमा धेरै मान्छे झुक्किएको पाएको छु। सामान्य रूपमा भन्दा, उड्ने वा पानीमा पौडिने जनावर ‘सच्चा डायनासोर’ होइन। यसअघि मैले चराहरू डायनासोर हुन् भनेको थिएँ। अहिले उड्नेहरू सच्चा डायनासोर होइनन् भन्दा अलमल हुन पनि सक्छ।

यसलाई यसरी बुझौं।

उड्ने डायनासोरहरू टेरोसोर प्रजातिमा पर्छन्। चराहरू ‘सच्चा डायनासोर’ मध्येको एउटा प्रजाति थेरोपड्सबाट विकास भएका हुन्। अर्थात् टेरोसोर र चराहरूमा उडान छुट्टाछुट्टै विकास भएको हो।

यही कुरामा जोड्दा, टेरोड्यक्टल, जुन एक प्रकारको टेरोसोर हो, (तल देखाइएको तस्बिर) हेर्दा ठ्याक्कै चराझैं देखिन्छ। तर वास्तवमा यो चराको पुर्खामै पर्दैन र डायनासोर पनि होइन। तिनीहरूको प्वाँख नभएर भुत्ला थियो। शरीर र पखेटाको बनावट फरक थियो। तिनीहरूले सरीसृपहरूको जस्तो चिल्लो खालको अन्डा पार्थे। चराहरूको पुर्खा साना स्थलीय प्वाँख भएका डायनासोर हुन्। ती डायनासोरहरूको शरीर ठाडो प्रकारको थियो। तिनको खुट्टा शरीरको ‘पर्पेन्डिकुलर’ (दायाँ कोण) थियो। तिनीहरूले पनि अरू सरीसृपले झैं अन्डा नै पार्थे।

अब डायनासोरबारे सर्सती बुझेपछि जाऊँ जुरासिक पार्क र वर्ल्डमा। मलाई मनपर्ने ६ वटा डायनासोरतिर!

१. एन्किलोसोरस

एन्किलोसोरस करिब ७ करोड वर्षअगाडि क्रेटासियस कालखण्डतिरको डायनासोर हो। साइ-फाइ फिल्महरूमा एलियनझैं केही जनावर देखाउन पर्दा बनाइनेजस्तो देखिने यो डायनासोर हेर्दा नि अचम्मकै हुन्छ। यो सानो खुट्टा भएको, हड्डी हड्डीको कवचझैं भएको, फराकिलो शरीर भएको र टाउकोमा पछाडि साना दुइटा सिङ भएको डायनासोर हो।

कछुवाको जस्तो कवच (सायद सुरक्षाका निम्ति हुन सक्छ) र पुच्छरमा एउटा हड्डीको डल्लो भएको यो डायनासोर हेर्दा पक्कै पनि बलियो हिसाबले बनेकोझैं देखिन्छ। डरलाग्दो देखिने यो डायनासोरको खाने बानीअनुसार शाकाहारी हो। यो डायनासोरका धेरैजसो जीवाश्म अमेरिकाको मोन्टाना राज्यमा पाइएको छ।

२. जिगानोटोसोरस

जिगानोटोसोरस करिब ९ करोड ३० लाखदेखि ८ करोड ९० लाख वर्षअगाडिको डायनासोर हो। यसको नाम को अर्थ ‘जायन्ट साउदर्न लिजर्ड’ (ठूलो दक्षिणी लिजर्ड) हुन्छ। रोचक कुरा, धेरैजसो डायनासोर भन्नासाथ टि-रेक्स अर्थात् टाइरानोसोरस रेक्स बुझ्ने गरिन्छ, एउटा विशाल डायनासोर। तर जिगानोटोसोरस टि-रेक्सभन्दा पनि ठूलो डायनासोरमा पर्छ। जिगानोटोसोरस करिब दस टन जतिको भएको वैज्ञानिकहरूको अनुमान छ।

यो डायनासोरको जीवाश्म पहिलोपटक अर्जेन्टिनाको नेक्वेन प्रान्तमा भेटिएको हो। यसको जीवाश्म कुनै विशेषज्ञले नभएर सौखिन जीवाश्म शिकारी रूबेन क्यारोलिनीले पत्ता लगाएका हुन्। उनको खोजको सम्मान गर्दै, जीवाश्म वैज्ञानिकहरूले यसको वैज्ञानिक नाम जिगानोटोसोरस करोलिनी राखेका छन्।

हड्डीहरूको संरचनाको अध्ययनअनुसार यो एकदमै छिटो कुद्न सक्ने (करिब ३२ किलोमिटर प्रतिघन्टा) डायनासोरमध्ये पर्छ।

३. स्टेगोसोरस

स्टेगोसोरस पनि एउटा शाकाहारी चारखुट्टे डायनासोर हो। धेरै जस्तो बच्चाबच्चीहरूको खेलौना डायनासोर स्टेगोसोरस हुन्छ। सायद हेर्दै डायनासोर भनेर चिनिने रूप भएकाले होला। यो पनि ठूलै डायनासोरमा पर्छ।

यसलाई चिन्ने सजिलो उपाय भनेको यसको ढाडमा भएको चंगाझैं प्लेटले हो। स्टेगोसोरस जुरासिक अन्त्य (१५ करोड ५० लाखदेखि १४ करोड ५० लाख वर्षअगाडि) को डायनासोर हो। स्टेगोसोरसको रोचक कुरा भनेको यसलाई सबभन्दा मूर्ख डायनासोर पनि भनिन्छ। यो डायनासोरको दिमाग र शरीरको अनुपात एकदमै सानो थियो।

४. पाकिसेफालोसोरस

पाकिसेफालोसोरस मलाई एकदमै मन पर्ने डायनासोर हो। ग्रीक भाषामा ‘पाकिस’ भनेको बाक्लो, ‘केफालो’ वा ‘सेफालो’ भनेको टाउको र सोरस भनेको लिजर्ड हो। यसको वैज्ञानिक नामले नै बताउँछ कि यो डायनासोरको टाउको बाक्लो हुन्छ।

अचम्मको देखिने यो डायनासोरको विचित्रको पर्यावरणीय अनुकूलन छ। यसको टाउकोमा एक प्रकारको हड्डीले बनेको डल्लो डोम हुन्छ। यो डायनासोर क्रेटासियस कालखण्डको अन्त्यतिरको (१० करोडदेखि-६ करोड ५० लाख वर्षअगाडि) हो।

केही वैज्ञानिकले यसको टाउको त्यस्तो हुनुको कारण भेडाले झैं टाउको ठोक्ने भएर हुन सक्ने अनुमान गरेका छन्। तर डोम आकारको हड्डी भएकाले धेरै वैज्ञानिक भने त्यो नहुन सक्ने बताउँछन्। उनीहरूका अनुसार त्यो अनुकूलन प्रदर्शनीका लागि मात्र थियो।

५. टाइरानोसोरस रेक्स (टि-रेक्स)

डायनासोरको संसारमा सायद टाइरानोसोरस रेक्स जति प्रसिद्ध अरू नहोला। डायनासोरहरूमा एकदमै क्रूर मानिने यो डायनासोर क्रेटासियस कालको अन्त्यतिरको डायनासोर हो। ठूलो शरीर, ठूला-ठूला दाँत र धेरै नै बलियो बंगारो भएको यो डायनासोर एकदमै नामुद मांसाहारी हो। पश्चिम उत्तरी अमेरिकाका जंगलहरूमा अधिकार जमाएर बसेको यो डायनासोरको वैज्ञानिक नाम टाइरानोसोरस रेक्सको अर्थ नै टाइर्‍यान्ट (तानाशाह) लिजर्डहरूको राजा भनेर बुझिन्छ।

टि-रेक्सको शरीर नै करिब ४० फिट लामो हुन्छ। वजन ८ टन सम्म। यो डायनासोरको आहारा अरू डायनासोर वा मरेका जनावरको सिनो वा अरू टि-रेक्स नै पनि हुन्थे। टि-रेक्सको बंगाराको टोक्ने क्षमता करिब ३५००० न्यूटन भएको मानिन्छ। हामी मानव जातिको यस्तो क्षमता करिब औसत ७०० न्यूटन हाराहारी हुन्छ। यो कुराले बताउँछ, टि-रेक्स कस्तो खालका सिकारी थियो।

टि-रेक्सका करिब ६० वटा दाँत हुन्थे। हरेक दाँत लगभग ८ इन्च लामा हुन्थे। टि-रेक्सको गन्ध थाहा पाउने क्षमता पनि एकदमै राम्रो भएको अध्ययनले देखाउँछ। शरीरको परिमाण र डरलाग्दो देखिने भए पनि टि-रेक्सका हात भने धेरै साना थिए। केही वैज्ञानिकका अनुसार विकासको क्रममा हातको धेरै प्रयोग नहुँदा (सर्पहरूमा जस्तै) बिस्तारै हराउँदै गएको हुन सक्ने अनुमान छ।

सबभन्दा रोचक कुरा के भने, टि-रेक्सको अहिले जीवित जनावरहरूमा सबभन्दा नजिकका आफन्तहरू कुखुरा र अस्ट्रिच हुन्।

६. भलोसिर्‍यापटर

भलोसिर्‍याप्टरको नाम ल्याटिन शब्द भेलोक्स र र्‍याप्टरबाट बनेको हो। ल्याटिनमा भेलोक्स भन्नाले छिटो र र्‍याप्टर भन्नाले चोर वा लुटेरा भन्ने बुझिन्छ। यो डायनासोरको खानपिनको बानीले गर्दा यसले यस्तो नाम पाएको हो। जीवित जनावरहरूमै कुरा गर्ने हो भने बाज, चिल वा उल्लूजस्तो खोसेर खाने चराहरूलाई र्‍याप्टर भनिन्छ।

भलोसिर्‍याप्टरले पनि अहिलेकै र्‍याप्टरहरूले झैं सिकार गर्थे भन्ने अनुमान उल्लू तथा र्‍याप्टरसँग मिल्ने अरू प्राणीको नंग्राको अध्ययनले देखाउँछ। भलोसिर्‍याप्टरको पहिलो जीवाश्म सन् १९२३ मा मंगोलियामा भेटिएको हो। भलोसिर्‍याप्टर एक प्रकारका थेरोपड डायनासोर हो जो ७ करोड ५० लाखदेखि ७ करोड १० लाख वर्षअगाडि पृथ्वीमा थियो।

भलोसिर्‍याप्टरहरू जुरासिक पार्क र वर्ल्ड फिल्म सिरिजमा देखाएझैं ठूला भने थिएनन्। धेरैजसो टर्की चराको आकारका थिए। सानो भएर पनि होला, यी डायनासोर छिट्टो दौडिन सक्थे भन्ने अनुमान छ। करौंतीजस्ता दाँत र ठूला-ठूला नंग्रा भएको यो डायनासोर सानो भए पनि डरलाग्दो पक्कै थियो।

भलोसिर्‍याप्टर डायनासोरहरूमध्यै एकदमै चलाख पनि मानिन्छ। त्यसमाथि यिनले बथानमा सिकार गर्ने पनि मानिन्छ। केही अध्ययनले भने यो कुरा सत्य नहुन सक्ने बताउँछन्।

केही दशकयताका अध्ययनअनुसार भलोसिर्‍याप्टरका प्वाँख भएको पनि देखिन्छ। सन् २००७ मा भेटिएको भलोसिर्‍याप्टरको जीवाश्ममा हाका हड्डीहरूमा प्वाँख अड्किने प्वाल देखिएको थियो। प्वाँख भए पनि भलोसिर्‍याप्टरले उड्न सक्ने क्षमता भने विकास गर्न सकेनन्।

मलाई मनपरेका र अरू सबै डायनासोरहरू धेरै आकर्षक जनावर हुन्। आफूले सक्रिय रूपमा डायनासोर (जीवाश्म) को अध्ययन नगरे पनि खाली समयमा यिनीहरूबारे अध्ययन गरिरहेको हुन्छु। भलोसिर्‍याप्टर नउडे पनि तिनका आफन्तहरू अहिले पृथ्वीको कुना काप्चामा छन्। अरू प्रजातिका डायनासोरका पनि नजिकका आफन्त हामीले देखिरहेका छौं।

६ करोड ५० लाख वर्षअगाडि लोप भएर हराएका डायनासोरको जुरासिक कालखण्डको अन्त्य भए पनि डायनासोरको समय अन्त्य भएको छैन।  स्राेत :  सामाजिक स‌‍ञ्जाल

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID