अभिनेत्री करिश्मा मानन्धरले न्यायका लागि अनशन बसिरहेकी महोत्तरीकी निहारिका राजपूतलाई भेटेकी छिन् । उनी शुक्रबार निहारिकाको अवस्था बुझ्न उनी बसिरहेको उनको आफन्तको घरमा नै पुगेकी हुन् । बिहीबार मात्रै करिश्माले सामाजिक सञ्जालमार्फत निहारिका आफ्नी छोरी (कविता) सँग तुलना गर्दै आफ्नो बच्चासहित आफ्नो घरमा आएर बस्न र छोरीसरह नै राख्ने इच्छा व्यक्त गरेकी थिइन् । त्यसको भोलिपल्ट नै उनले निहारिकाको अवस्था बुझ्नका लागि उनीसँग भेटेको बताइन् ।
“१९ वर्षकी त्यस्तो सानी बच्ची यति धेरै दिनदेखि न्यायका लागि अनशनमा छ । त्यो देखेर मलाई एकदमै पिरोलिरहेको थियो । त्यसैले, मैले बिनोदजीको म्यानेजर कमल चौधरीलाई बिहीबार उनको अवस्था बुझ्नका लागि वसन्तपुरको अनशन बसिरहेको ठाउँमा नै पठाएको थिएँ र फोनमा पनि कुरा गरेको थिएँ” गणतन्त्रसँग कुरा गर्दै करिश्मा बताउँछिन्, “मैले उनलाई आवश्यक हरेक किसिमको सहयोगको लागि तयार भएको जानकारी दिएको थिएँ र आज बिहान उनले फोन गरेर मसँग भेट्ने इच्छा राखेपछि म ऊ बसिरहेको उसको आफन्तको घर भेटन गएको थिएँ ।”
करिश्माले यसबारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी छिन् । धेरैले उनलाई निहारिकालाई छोरी बनाएर राख्ने कुरामा नकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूले यो कुनै प्रचारका लागि गरेको नभएर साँच्चै एउटी छोरीलाई न्याय दिलाउन गरिरहेको बताइन् ।
करिश्मा भन्छिन्, “यस्तो अवस्थामा कोही कुरा सुनिदिने व्यक्ति मात्रै भए पनि पीडितलाई राहत महसुस हुन्छ । ऊ एकदमै बलियो युवती हो, परिवारको समर्थन बिना ऊ एक्लै न्यायको लागि आवाज उठाइरहेकी छ । त्यसैले, ऊ मानसिक र आर्थिक दुवैरूपमा स्फूर्त हुन जरुरी छ । त्यसैले, मैले मात्रै नभएर हामी सबैले उसका लागि सहयोग गर्नुपर्छ र गरि पनि रहनुभएको छ धेरै महिला अनि संस्थाहरूले ।”
करिश्माका अनुसार निहारिका कानुन पढ्न चाहन्छिन् र उनको बच्चा पनि मन्टेसोरीमा राख्ने समय भइसकेको हुनाले आफूले त्यसमा मद्दत गर्ने पनि बताइन् । यदि, निहारिकालाई बस्नमा समस्या छ भने आफ्नो घरमा बस्न आउन सक्ने भन्दै आफूले कानुनीरूपमा एडप्ट गर्नेभन्दा पनि भावनात्मकरूपमा छोरीसरह राख्न आज पनि तयार भएको बताइन् ।