संरक्षित वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।
वन्यजन्तुको अखेटोपहार अवैध रुपमा रुपमा खरिद बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको टोलीले गोंगबु नजिकै गणेशस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४८ वर्षीय खार्पा तामाङ, ३९ वर्षीय सुकबहादलुर घले र ४१ वर्षीय सूर्यबहादुर घले छन् ।
असार २ गते पक्राउ परेका तीनै जनामध्ये खार्पा धादिङ खनियाबास गाउँपालिका २ का स्थायी बासिन्दा हुन् भने सुकबहादुर र सूर्यबहादुर धादिङ गंगाजमुना गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार खार्पाले बोकेको झोला खानतलासी गर्ने क्रममा संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला जस्तो देखिने अखेटोपहार बरामद गरिएको हो । आरोपित तीनै जनालाई प्रहरीले बरामद सामानसहित आवश्यक करबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको जनाइएको छ ।