गुल्मीमा शिक्षकद्धारा कक्षा ३ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार

आरोपित शिक्षक पक्राउ

गणतन्त्रनेपाल समाचारदाता, दाङ

आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।

कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले घटना १५ दिन पहिलेको भए पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको जानकारी दिए।

‘घटना जेठ १७ गतेको घटेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने।

खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए।

पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID