बढ्दो जलवायु परिवर्तनको कारण सगरमाथा आधार शिविरस्थित हिउँको तह पातलो हुँदै गएको छ । जसकारण आधार शिविर नै सार्ने तयारी गरिएको छ ।
खुम्बु हिमनदीस्थित शिविरको तह पातलिने क्रम तीव्र भएसँगै शिविर अन्यन्त्रै सार्ने पहल गरिएको बीबीसीले जनाएको छ । तर, शिविर कुन ठाउँमा सार्ने भन्ने हालसम्म टुंगो लागिसकेको भने छैन ।
‘वर्षभरि हिउँ नहुने हालको भन्दा कम उचाइमा शिविर सारिने छ’, एक अधिकारीलाई उद्र्धत गर्दै बीबीसीले लेखेको छ । हिउँ पग्लिने क्रम बढ्दै गएकाले हाल आधार शिविरमा सुत्ने पर्वतारोहीहरूले हिउँको तह चर्किने समस्या भोग्दै आएका छन् ।
सिजनमा हरेक वर्ष १५ सय व्यक्तिहरुले सगरमाथा आरोहण गर्ने गरेका छन् । सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूको चाप बढ्न थालेकाले पनि आधार शिविरमा समस्या थपिएको हो । ‘हामी अहिले स्थानान्तरणको तयारीमा छौं र हामी छिट्टै सबै सरोकारवालाहरूसँग परामर्श सुरु गर्नेछौं’ पर्यटन विभागका महानिर्देशक अरनाथ अधिकारीले भने ।
आधार शिविर अहिलेको स्थान भन्दा २०० देखि ४०० मिटर तल कुनै स्थानमा सर्ने अधिकारीको भनाइ छ । सगरमाथा क्षेत्रमा पर्वतारोहणलाई सहजीकरण र अनुगमन गर्न नेपाल सरकारद्वारा गठित समितिको सिफारिसमा यो योजना अगाडि सारिएको जनाइएको छ ।
जलवायु परिवर्तनका कारण हिमालयका अन्य हिमनदीहरू जस्तै खुम्बु पनि तीव्र गतिमा पग्लने र पातलो हुँदै गएको वैज्ञानिकहरूको भनाइ छ । लिड्स विश्वविद्यालयले २०१८ मा गरेको एक अध्ययनअनुसार खुम्बु हिमनदीले वर्षेनी ९.५ मिलियन घनमिटर पानी गुमाउँदै गएको छ । जसको कारण आधार शिविर हरेक वर्ष १ मिटरको दरले पातलो हुँदै गएको छ ।
‘हामीले आधार शिविर क्षेत्रमा बरफ पातलो हुने दर ग्लेसियरका अन्य भागहरूभन्दा बढी भएको फेला पारेका छौं किनभने यसमा चट्टान र बोल्डर मलबेको पातलो आवरण छ’, अनुसन्धानकर्ता स्कट वाट्सनले भनेका छन् ।
यस्तै नेपाली अधिकारी तथा पर्वतारोहीहरुले पनि शिविरको बीचमा रहेको खोला वर्षैपिच्छे विस्तार हुँदै गएको बताउँदै आएका छन् । ग्लेसियरको सतहमा पहिलाको भन्दा धेरै चिराहरु देखिन थालेको उनीहरुको भनाइ छ ।