राेल्पाकाे थवाङमा सुरु भयो भूमे पर्वको रौनक, २ दिन सार्वजनिक बिदा

गणतन्त्र नेपाल संवाददाता

रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।

असार १ गतेदेखि ५ गतेसम्म यो पर्व मनाउने चलन रहँदै आएको छ । भूमे पर्वको उपलक्ष्यमा थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक बिदा दिएको छ ।

भूमे पर्व अगावै गाउँका युवायुवती जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ ।

असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।

आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाइने गरेको स्थानीय अजय घर्तीमगरले जानकारी दिए । ‘यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ’ घर्तीमगरले भने, ‘विगतमा मगरहरुले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।’

मगर राज्य चलेको समयमा वर्षभरिको नियम कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनको रुपमा समेत यो पर्वलाई लिने गरिन्छ । सोही पर्वमा जनताको संख्याको लगत राख्ने जस्ता काम समेत गरिन्थ्यो ।

मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाइने यस पर्व रोल्पाका जेल्वाङ, कुरेलीलगायतका स्थानमा समेत मनाइए पनि थवाङमा भने विशेष रुपमा मनाउने गरिन्छ । थवाङमा लाग्ने भूमे नाच हेर्न तथा रमाइलो गर्न छिमेकी जिल्लाबाट समेत जाने गर्दछन् । यो पर्व मनाउन विभिन्न काम विशेषले देश विदेशमा रहेका थवाङीहरु पनि घर आउने गर्दछन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID