प्राधिकरणको मनोमानीः केबल व्यवसायीका कार्यालयमा बिजुली काट्न थालियो, घरको पनि काट्ने !

गणतन्त्र नेपाल संवाददाता

नेपाल विद्युत प्राधिकरणले पोल भाडाको बहानामा केबल तथा इन्टरनेट व्यवसायीलाई थप दुःख दिन थालेको छ । प्राधिकरणको निर्देशनमा धमाधम सेवा प्रदायकका कार्यालयको बत्ती काट्ने काम भइरहेको व्यवसायीले बताएका छन् ।

विद्युत प्राधिकरणले एकतर्फी रुपमा आफूले बढाएको रेटअनुसार पोल भाडा तिर्नुपर्ने भन्दै व्यवसायीलाई दुःख दिएको हो । यस सम्बन्धमा गठित समितिले दिएको प्रतिवेदनलाई समेत प्राधिकरणले लत्याएको छ ।

नेकपा केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले उच्चस्तरमा भएका सहमति र समितिको सुझावविपरीत प्राधिकरणले एकतर्फी कदम चालेको बताए । शर्माका अनुसार आज प्राधिकरणको निर्देशनमा पोखरा वितरण केन्द्रले केबल सेवा प्रदायकहरुको कार्यालयमा बिजुली काट्न थालेको छ ।

शर्माले भने, ‘दुई दिन अगाडि मात्रै सञ्चार मन्त्रालयका सचिव र सूचना तथा प्रशारण विभागका महाप्रवन्धकलाई भेटेर समस्याबारे अवगत गराएका थियौं । उहाँहरुले पुरानै भाडादर कायम गरेर जाने प्रतिबद्धता जनाउनुभएको थियो । तर, प्राधिकरणले भने व्यवसायीलाई पेलेर जान खोजेको छ ।’

प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार वरनवालले पोखराका केवल सेवा प्रदायकको कार्यालयको विद्युत काट्ने काम सुरु भएको स्वीकार गरे । आज नै गुरुङ केबल, विसी केवल, म्याक्स, बैधवा र पोखरा केबलको कार्यालयमा विद्युत कटौती गरेको उनले जानकारी दिए ।

उनले भने, ‘करिब २ वर्षअघिदेखि हामीले पोल भाडा नतिर्ने केबल तथा इन्टरनेट सेवा प्रदायकलाई विद्युत कटौती गर्ने भनेर सूचना निकालेका थियौं । केही सेवा प्रदायकहरुले हामीले सूचना निकालेपछि पोल भाडा तिरेका छन् । केहीले भाडा नतिरी बसेका छन् । आज हामीले पोल भाडा तिर्न नमान्ने सेवा प्रदायकहरुको कार्यालयको विद्युत काटेका हौं । अहिलेसम्म ५ वटा कार्यालयको मात्रै विद्युत काटिएको छ । अरु पोल भाडा तिर्न बाँकी कार्यालयको पनि विद्युत धमाधम काट्ने छौं ।’

एनसेल, एनटीसी र वर्ल्ड लिंकलगायत केहीले पोल भाडा तिरिसकेको वरनवालले बताए । अहिले विद्युत् काटिएका इन्टरनेट सेवा प्रदायकले सम्झाैता  गरेर पोलको भाडा तिर्ने सहमति गरेरमा वितरण केन्द्रले नै विद्युत जोडिदिने उनको भनाइ छ ।

‘अहिले इन्टरनेट सेवा प्रदायकको कार्यालयको मात्रै विद्युत काटिएको हो’, वरनवालले भने, ‘कार्यालयको विद्युत काट्दा पनि पोल भाडा तिर्न आएनन् भने हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीका सञ्चालकको घरमा पनि विद्युत काट्ने छौं । हामीलाई केन्द्रले यही निर्देशन दिएको छ । केन्द्रको सोही निर्देशनअनुसार नै विद्युत काट्न थालेका हौं ।’

नेपाल विद्युत प्राधिकारणका प्रवक्ता सुरेशबहादुर भट्टराईले पनि पोल भाडा नतिरेका केबल तथा इन्टरनेट सेवा प्रदायकको कार्यालयको विद्युत काट्न सुरु भएको बताए ।

पोखरा केबल संघका अध्यक्ष शिशिर क्षेत्रीले भने विद्युत प्राधिकरणले एकतर्फी रुपमा इन्टरनेट सेवा प्रदायकहरुलाई पेल्दै गएको भन्दै आपत्ति जनाए । उनले भने, ‘पहिले पोल भाडा सरकारले अस्वाभाविक वृद्धि गरेपछि केबल व्यवसायी महासंघले दह्रो प्रतिकार गरेको थियो । महासंघको आन्दोलपछि सरकारले पोल भाडा वृद्धि नगर्ने सहमति जनायो । तर, पोखरामा भने वृद्धि भएको भाडा नै प्राधिकरणले मागेकाले व्यवसायीले तिर्न सकेका छैनन् ।’

केन्द्रबाट नै पोल भाडा वृद्धि फिर्ता भएको अवस्थामा पोखरामा भने बढेको भाडा नै मागिएपछि समस्या आएको उनले बताए ।

 

 

 

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID