सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि किताब पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् ।
मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई पढ्नै मुस्किल परिरहेको छ । कोरोनाले गर्दा ३ वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थी अहिले पढ्ने आशा बोकेर विद्यालय जान थाले पनि पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको छ । ‘स्कुल खुलेको एक महिना भइसक्यो अझै नयाँ पुस्तक हातमा परेको छैन,’ महाकाली माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत दुर्गादेवी शाहीले भनिन् ।
जेठ २ गतेबाट शैक्षिक सत्र सुरु भई पठनपाठन सुरु भएको थियो । नयाँ पाठ्यपुस्तक नआउँदा विद्यार्थीको पठनपाठन प्रभावित हुन थालेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । उनका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नुपर्ने नियम भए पनि निर्वाचनले गर्दा असर परेको शिक्षा विकास समन्वय इकाइले जनाएको छ । इकाइ प्रमुख सूर्य खत्रीका अनुसार स्थानीय निर्वाचनले गर्दा मुगुमा पाठ्यपुस्तक ढुवानीमा समस्या भएको हो ।
छायानाथरारा नगरपालिकाभित्रका विद्यालयका लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ । मुगुमकार्मारोङ गाउँपालिकाअन्तर्गतका विद्यालयको निम्ति यूके जनरल स्टोरले सम्झौता गरेको छ । चुनावले गर्दा समयमै नयाँ पुस्तक ढुवानी गर्न नसकेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर जयलक्ष्मी भामले जनाए । उनले अबको एक हप्ताभित्र पुस्तक जिल्लामा पुग्ने बताए ।
सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाको बामेस्थित मुक्ति माध्यमिक विद्यालयमा पढ्दै आएका १५ वर्षीय उमेश बुढाथोकी जेठ ८ गते कक्षा ९ मा भर्ना भए । तर उनले अहिलेसम्म किताब पाएका छैनन् । यस्तै, कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका १५ वर्षीय दीपक रावत पनि एक साताअघि नै त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भए । भर्ना भएदेखि नयाँ पुस्तक पाउने आशामा उनी दैनिकजसो विद्यालय धाउने गर्छन् । तर उनले अहिलेसम्म पुस्तक पाउन सकेका छैनन् ।
केही वर्षअघिदेखि विद्यार्थी भर्ना गर्नेबित्तिकै सरकारले उनीहरूको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । तर जिल्लामा विद्यालय सञ्चालन भएको दुई साताभन्दा बढी भइसकेको छ । तर सल्यानका १० स्थानीय तहमा ४ सय ४३ सामुदायिक विद्यालयका ३३ हजार १ सय ४५ विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी विद्यालय जाने र हाजिर भएर मात्र फर्किने गरेका छन् । सरकारले भर्ना हुनेबित्तिकै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने भने पनि जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक प्रकाशन गर्न नसकेको भन्दै बिक्रेताले ल्याउन आनाकानी गरिरहेका छन् । विद्यालयमा पुस्तक नपाएपछि पढाइ नभएकै कारण खेतीपातीको सिजन सुरु भएकाले खेतबारी जोत्नमा लागेको सिद्धकुमाख गाउँपालिका–५ दलका नवीन रोकाले बताए । बन्गाडकुपिण्डे नगरपालिका–७ को कृष्ण माध्यमिक विद्यालय संग्रहीमा कक्षा ८ मा भर्ना भएका उनले पुस्तकको अभावकै कारण केही दिनपछि मात्र विद्यालय सञ्चालनमा आउने खबर पाएपछि खेतीपातीमा लागेको जानकारी दिए । ‘मेरो रोजाइ भनेको पहिला पढाइ हो, त्यसपछि खेतीपाती,’ उनले भने, ‘विद्यालय नै नखुलेपछि घर बसेर के गर्नु ?, त्यही भएर अभिभावकलाई सघाउन खेतीपातीमा जुटें ।’
मुक्ति मावि बामेका प्रधानाध्यापक नोखिराम बीएमले पाठ्यपुस्तक नआएकाले विद्यालयमा पठनपाठन हुन नसकेको बताए । उनले पाठ्यपुस्तकका लागि बिक्रेतालाई ताकेता गरेको र आउनेबित्तिकै सञ्चालनमा आउने दाबी गरे । त्रिभुवन मावि च्युराका प्रधानाध्यापक गुमानसिंह विष्टले अहिलेसम्म विद्यालयका ३० प्रतिशतले मात्र पुस्तक पाएको बताए । पुस्तक कम आए पनि आंशिक रूपमा पठनपाठन भने सुरु गरेको उनको भनाइ छ । ‘पुस्तक आउन अझै केही समय लाग्ने देखिन्छ, हामीले व्यवसायीलाई ताकेता गरिरहेका पनि छौं,’ उनले भने । सल्यानका १० स्थानीय तहका शिक्षा प्रमुखहरूले पाठ्यपुस्तकका लागि चैतमै रकम निकासा गरेर विद्यालयको खातामा पठाइसकेको भए पनि विद्यालयले पाठ्यपुस्तक वितरण गर्न नसकेको बताएका छन् । शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले नगरभित्रका ५८ सामुदायिक विद्यालयमध्ये ४० वटामा पुस्तक पुगिसकेको र अन्यका लागि आउने तयारी भइरहेको बताइन् ।
कुमाख गाउँपालिकाका शिक्षा प्रमुख दीपक चन्दले चैत्रमै पुस्तकका लागि विद्यालयलाई भुक्तानी दिए पनि अहिलेसम्म पुस्तक आउन नसक्नु विद्यालयको पनि कमजोरी रहेको बताए । उनका अनुसार पालिकाभित्र ४८ सामुदायिक विद्यालयमा ६ हजार ७ सय विद्यार्थी भर्ना भए पनि २ हजार ५ सय विद्यार्थीले अझै किताब पाउन नसकेको बताए ।
पाठ्यपुस्तक बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष डम्मर केसीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँको ३८ हजार ८ सय ५५ थान पुस्तक जिल्लामा भित्रिएको जानकारी दिए । उनका अनुसार भित्रिएकामध्ये सबै पुस्तक विद्यालयमा पुग्न सकेको छैन । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीले निर्वाचनका कारण जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्न ढिलाइ गरेकाले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको बताए ।