केके सँग परिचय
सन् १९९९ मा म सानै थिए, त्यसबेला केके काे एउटा गीतले युवाहरुमाझ खुबै लाेकप्रियता हासिल गरेकाे थियाे, ‘तडप तडप के इस दिल से’ (फिल्म:- हम दिल दे चुके सनम)। मेरा अग्रज दाइहरु याे गीत खुब सुन्थे, भावुक हुन्थे, चर्चा गर्थे, गुनगुनाउँथे। म त्यसबेला ‘लव’ गर्ने उमेरमा त पुगिसकेकाे थिईन, तर लवकाे बारेमा बुझ्ने भने पक्कै भईसकेकाे थिए।
म उनीहरुकाे फिलिङ्सलाई बुझ्थे। त्यसैले उनीहरुले मनपराउने याे गीत मलाई पनि मनपरेकाे थियाे। सत्र, अठारकाे भएपछि मलाई पनि लव सङ सुन्ने मेनियाले गाँज्याे। हुन त लव सङ यसअघि सुन्ने नगरेकाे हैन, तर ‘उमेर पुग्नु’भन्दा अघि सुन्नुमा र उमेर पुगेपछि सुन्नुमा अन्तर हुने रहेछ।
त्यसबेला बीस रुपैयाँमा खाली अडियाे क्यासेट आउँथ्यो जसमा आफुलाई मनपरेकाे गीतहरु भरेर सुन्न सकिन्थ्याे। एउटा गीत भरेकाे तीन रुपैयाँ लाग्थ्याे। गीतकाे लम्बाई अनुसार एउटा क्यासेटमा आठदेखि दसवटासम्म गीत अट्थे। गीत भर्न बढीमा तीस रुपैयाँ खर्च हुन्थ्याे, क्यासेटकाे बीस रुपैयाँ। पचास रुपैयाँमा आफुलाई मनपर्ने गीतहरुकाे खजाना प्राप्त हुन्थ्याे। त्यसबेला मैले पैसा दिएर गीत भरेका क्यासेटहरुमा उल्लेखनीय गीतहरु केके का पनि हुन्थे।
केके का गीतहरु त्यसबेला खुबै सुनियाे। त्यसबेला मैले खुबै सुनेका उनका गीतहरु थिए, ‘तडप तडप के इस दिल से’, ‘याराें दाेस्ती बडी ही हसीन है’, ‘जब भी काेई हसीना’, ‘काेई कहे कहता रहे’, ‘तुमसे मिलकर हुआ है एहसास एक नयाँ नयाँ’, ‘ओ हमदम साेनियाे रे’, ‘ये तेरी माेहब्बत बेईमान माेहब्बत’, ‘इट्स द टाइम टु डिस्काे’, ‘आवारापन बंजारापन’, ‘ऐसा क्याें हाेता है’, ‘ओ जाना कह रहा है दिल ओ जाना’, ‘तेरे सँग एक सिम्पल सी कफी भी किक देती है’, ‘हमे इश्क है सरजमीन से’, ‘तू है खुशबू, तू है जादू’, ‘चले जैसी हवाए सनन सनन’, ‘गाेरी गाेरी’, दिलनशी दिलनशी’, ‘दस बहाने करके ले गए दिल’, ‘मैने दिल से कहाँ ढूँढ लेना खुशी’, ‘माफ कर ए फितना दिल है’, ‘बर्दाश्त नहीं कर सकता’, क्याें आज कल नींद कम ख्वाब ज्यादा है’, ‘तू ही मेरी शब है सुबह है’, ‘या अलि रहम वाली’, ‘अलविदा अलविदा’ आदि।
भर्सटाइल सिँगर
केके अत्यन्त भर्सटाइल सिँगर थिए। उनले कमै गीत गाए तर स्तरीय गाए। उनले हरेक अवसरमा फिट हुने गीत गाएका छन्। यदि तपाई कलेजमा हुनुहुन्छ र फेयरवेल फंशनकाे आयाेजना गर्नुहुदैछ भने त्यसबेला बजाउन उनकाे गीत ‘हम रहे या न रहे कल पर याद आएँगे ये पल’ एकदमै उपयुक्त हुनेछ। पुराना साथीहरुसँग गेट टुगेदर गर्दै हुनुहुन्छ भने उनकाे गीत ‘याराे दाेस्ती बडी हसीन है’ सुन्दै पुराना दिनहरुलाई याद गर्दै नाेस्टाल्जिक हुन सक्नुहुन्छ। न्यू येयर सेलिब्रेशनकाे अवसर हाे भने उनकाे ‘हम है नए अंदाज क्याें हाे पुराना’ गीतमा र पार्टीसार्टी, डिस्काेसिस्काेमा हुनुहुन्छ भने ‘इट्स द टाइम टू डिस्काे’, ‘दस बहाने करके ले गए दिल’ र ‘बर्दाश्त नहीं कर सकता’ जस्ता उनका गीतहरुमा ‘थिरकन’ सक्नुहुन्छ।
भर्खरै युवावस्थामा प्रवेश गर्नुहुदैछ भने ‘जब भी काेई हसीना देखु मेरे दिल के तार बजे बार बार’, ‘फितना दिल’, ‘ओ जाना’ आदि गीतहरु गाउँदै हिड्न सक्नुहुन्छ। कसैसँग प्रेममा पर्दै हुनुहुन्छ भने ‘तुमसे मिलकर हुआ है एहसास एक नयाँ नयाँ’, ‘क्याें आज कल नींद कम ख्वाब ज्यादा है’ ‘आखाें में तेरी अजब सी अजब सी अदाए है’, ‘दिल क्याें ये मेरा शाेर करे’, ‘जरा सा दिल में दे जगह तू’ आदि गीत सुन्न र गुनगुनाउन सक्नुहुन्छ।
प्रेम गहिराे हुँदै गईरहेकाे अवस्थामा ‘तू ही मेरी शब है सुबह है’, ‘तुम मिले ताे मिल गया ये जहाँ’, ‘खुदा जाने के मै फिदा हूँ’ आदि गीत सुन्न सक्नुहुन्छ। भर्खरै डेटिङ फेजमा हुनुहुन्छ भने ‘ओ हमदम साेनियाे रे’, ‘तेरे सँग एक सिंपल सी कफी भी किक देती है’ सुन्न सक्नुहुन्छ। प्रेममा असफल भएर वियाेग र पीडामा छट्पटिरहनु भएकाे छ भने ‘तडप तडप के इस दिल से’, ‘मैंने दिल से कहाँ ढूँढ लेना खुशी’, ‘अलविदा अलविदा’ आदि गीत सुन्न सक्नुहुन्छ। पीरमा हुँदा उनकाे ‘या अलि रहम वाली’ गीतले तपाईलाई राहत दिनेछ, अथवा यी सबैभन्दा विपरीत आफुले चाहेकाे मानिसलाई हासिल गर्नुभएकाे अवस्थामा ‘सजदे किया है लाखाें लाखाें दुआये माँगी’ र ‘तू जाे मिला लाे हाे गया मैं काबिल’ सुन्न सक्नुहुन्छ। यदि तपाईं भर्खरै नाैजवान हुनुहुन्छ, युवा जाेश र जाँगरले भरिपूर्ण हुनुहुन्छ, जिन्दगीमा केही गर्न चाहनुहुन्छ, अघि बढ्न चाहनुहुन्छ, भने ‘है जुनून’ गीत सुन्न सक्नुहुन्छ। देशप्रेमले ओतप्राेत हुनुहुन्छ भने ‘हमें इश्क है हमे सर जमीं से’ गीत सुन्न सक्नुहुन्छ। केके सँग हरेक मुड, हरेक सिचुएशन, हरेक फँशन र हरेक सेलिब्रेशनका लागि गीतहरु छन्।
केके हर मुडका गीतहरु त गाउन सक्थे नै, हर रेन्ज र स्केलका गीतहरु पनि गाउन सक्थे। उनी हाई स्केलमा जति अब्बल गाउँथे। उति नै उत्कृष्ट लाे स्केलमा पनि गाउँथे। तपाईं ‘तडप तडप के इस दिल से’ सुन्नुहाेस् र ‘मैंने दिल से कहाँ ढूँढ लेना खुशी’ सुन्नुहाेस्, अथवा ‘क्याें आजकल नींद कम ख्वाब ज्यादा है’ सुन्नुहाेस् र ‘तुमसे मिलकर हुआ है एहसास ईक नयाँ नयाँ’ सुन्नुहाेस्। मैले भन्न खाेजेकाे कुरा बुझिहाल्नुहुनेछ।
दिल्लीमा जन्म र गायक बन्ने सपना
केके काे पूरा नाम कृष्ण कुमार कुन्नत हाे। उनी सन् १९६८ अगस्तमा दिल्लीमा एक मलायली परिवारमा जन्मिएका थिए। उनी दिल्लीमै जन्मिए, हुर्किए। सानाेमा उनकाे घरमा आउने डाक्टर अङ्कलकाे व्यक्तित्वबाट प्रभावित भएर उनले पनि डाक्टर बन्ने सपना साँचेका थिए। तर पछि गएर उनी गायक बन्न पुगे।
उनी गायक बन्ने वातावरण उनकाे घरमै थियाे। उनकाे घरकाे वातावरण संगीतमय थियाे। उनकी आमा अक्सर घरमा मलायली गीत गाउने गर्थिन् र उनकाे बाबु त्यसलाई टेपमा रेकर्ड गर्ने गर्थे। केके ले कहिल्यै पनि गायन वा संगीतकाे प्रोफेशनल ट्रेनिङ लिएनन्। उनलाई त बाल्यकालदेखि नै गीत सुन्ने र गुनगुनाउने शाैख थियाे। ‘शोले’काे ‘महबूबा महबूबा’ गीत उनकाे फेवरेट थियाे। उनी घण्टाैं गाईरहन्थे। उनकाे कण्ठ त सुरिलाे थियाे नै।
त्यसैले आमाबाबुका साथीसँगीहरुका सामु गीत गाउँदै केके हुर्किरहेका थिए। उनले दुई कक्षामा हुदाँ पहिलोपटक स्कुलकाे स्टेजमा गीत गाए। राजेश खन्नाकाे फिल्म ‘राजा रानी’ (१९७३) काे अत्यन्त मुश्किल गीत ‘जब अंधेरा होता है’ उनले यति उत्कृष्ट ढंगले गाए कि सिङ्गाे स्कुल नै मन्त्रमुग्ध भयाे अनि फेरि उनकाे लागि तालीहरुकाे गडगडाहट गुन्जियाे। यही पलबाट उनकाे मनमा गायक बन्ने सपनाले जन्म लियाे।
केके-ज्याेति लव स्टाेरी
केके ले न केवल लव स्टोरी फिल्महरुमा गाए बरु उनकाे आफ्नाे लवस्टोरी पनि कसैको भन्दा कम थिएन। केके छैठौं कक्षामा पढ्थे। उनकाे एकजना सहपाठी थिईन् जसकाे नाम ज्याेति थियाे। दुवैबीच मित्रता भयाे र मित्रता शनैशनै प्रेममा परिणत भयाे। उनीहरु दुवै संग-संगै हुर्किए र जवान भए। उनीहरुकाे उमेरसँगै उनीहरुकाे प्रेम पनि हुर्कियाे र एकदिन बिहेसम्म पुग्याे। उनीहरुकाे बिहेकाे कुरा चल्याे। तर ज्योतिकाे परिवारले पहिले त उनीहरुकाे बिहेकाे प्रस्तावलाई सीधै अस्वीकार गर्याे। भन्याे कि, ‘केके ले पहिले काम खाेजाेस्, जागिर गराेस्। तब साेचाैंला।’
अब केके के गर्न सक्थे र जागिर खाेजेर गर्नुबाहेक? उनीसँग अर्काे विकल्प थिएन। बिहे गर्नकै लागि उनी जागिर खाेज्न थाले। किराेरी मल कलेज, दिल्ली युनिभर्सिटीबाट कमर्समा ग्रेजुएशन गरेका उनले मार्केटिङ एक्सक्युटिभकाे जागिर पाए र जागिर गर्न थाले। ज्योतिकाे परिवारले देखे कि केटाले जागिर गर्दैछ। केटा अब कमाउने भयाे। तब उनीहरु ज्योतिसँग केके काे बिहे गरिदिन राजी भए।
केकेले सन् १९९१ मा ज्योतिसँग बिहे गरे। ज्याेतिसँग बिहे गर्न केके ले जागिर त गरे तर छ महिनापछि नै उनी जागिरबाट वाक्कदिक्क भए। उनी सँगीतका लागि बनेका थिए। अफिसकाे काममा उनलाई सास निस्सासिएजस्तै हुन्थ्याे। तसर्थ, उनले जागिर छाेडे र गायनक्षेत्रमै आफ्नाे करिअर बनाउने निश्चय गरे। उनकाे यस फैसलामा उनकी पत्नी ज्योतिसमेत उनकाे पूरै परिवारले उनलाई साथ दिए।
बम्बईकाे यात्रा, जिँगल्स र ए आर रहमान
प्रख्यात गायक हरिहरनले एकपटक भनेका थिए, ‘यदि तिमी केही बन्न चाहन्छौ भने तिमीले अहिलेकाे काम छाेडेर मुम्बई जानुपर्छ।’ याे कुरा उनकाे दिमागमा बसेकाे थियाे। उनकाे मनमा बाल्यकालदेखि नै आफ्नो एउटा म्युजिक एल्बम निकाल्ने इच्छा पनि थियाे। त्यसैले, उनले एकपटक हिम्मत गरे र सन् १९९४ मा मुम्बईतर्फ प्रस्थान गरे।
मुम्बईमा आएर केकेले एउटा कीबोर्ड किने र विज्ञापनहरुका लागि जिंगल्स बनाउन थाले। सन् १९९४ मा उनले संगीत क्षेत्रमा ब्रेक पाउन लाेवुईस बैंक्स, रंजीत बराेट र लेसले लेविसलाई आफ्नाे डेमाे टेप दिए। उनलाई युटिभीले बाेलायाे र उनले सँटाेगे सुईटिङ एडका लागि जिंगल गाए। यसरी मुम्बईमा उनले पहिलो ब्रेक युटिबीमा पाए जिँगल गाउन। यसकाे श्रेय उनी आफ्नाे मेन्टर लेसले लेविसलाई दिन्छन्।
केके ले शंकर-एहसान-लाेयकाे लाेय मेन्डोन्सासँग हीरो होण्डाका लागि एक अत्यन्त फेमस जिङ्गल गाए। यस जिङ्गलका म्यूजिक डायरेक्टर थिए रंजीत बरोट। रंजीतले केके लाई साेधे कि, ‘उनी जिङ्गल गाएकाे कति पैसा लिन्छन्?’
अब केके लाई त इंडस्ट्रीकाे रेट केही पनि थाहा थिएन। उनले भने, ‘जति अरुलाई दिने गर्नुभएकाे छ, त्यति नै दिनुभए हुन्छ’। रंजीतले केके काे कुरा सुने र उनीतिर आफ्नाे पाँच औला देखाए। केके लाई लाग्याे, रंजीत ५०० रुपैयाँ भनिरहेका छन्। उनलाई लाग्याे यही इंडस्ट्रीकाे रेट होला। उनी माने। पछि उनीकहाँ जब चेक आयाे, तब उनी खुशीले उफ्रिए। किनभने चेक ५०० काे हैन, ५००० रुपैयाँकाे आएकाे थियाे।
चार बर्षकाे अवधिमा केके ले ११ भाषामा ३,५०० जिंगल गाए। जिँगल गायनबाट केकेले राम्राे पैसा कमाईरहेका थिए तर सन्तुष्टि भने पाईरहेका थिएनन्। उनी प्लेब्याक सिङ्गिङ गर्न चाहन्थे तर प्लेब्याक सिङ्गिङ गर्न उनकाे लागि दैलाे खुलिसकेकाे थिएन।
https://twitter.com/Bollywoodirect/status/1531921064753672192?t=U06Q-Vl7vX8EZeuX3nOOUQ&s=19
सन् १९९६ मा गुलजारकाे फिल्म ‘माचिस’मा विशाल भारद्वाजकाे कम्पाेजिशनमा उनले ‘छाेड आए हम’ गीतकाे छाेटाे अन्तरा गाउन पाए।
साेही बर्ष ए आर रहमानले ‘कढल देशम’मार्फत् उनलाई प्लेब्याक सिँगरकाे रुपमा इन्ट्रड्युस गराए। रहमानले उनकाे आवाजमा ‘कढल देशम’काे दुईटा गीत रेकर्ड गरे, ‘कल्लुरी सालेय’ र ‘हेल्लाे डाक्टर’। दुवै गीत हिट भए। त्यसपछि अर्काे बर्ष १९९७ मा ‘मिनसारा कानाभु’काे ‘स्ट्रबेरी कन्ने’ गीत उनकाे आवाजमा रेकर्ड गरे।
यसरी रहमानकाे तमिल गीतहरुबाट केके काे गायनकाे चर्चा बढ्दै गएपछि उनकाे लागि प्लेकब्याक सिङ्गिङकाे ढाेका पनि क्रमशः खुल्दै गयाे। अन्तत: सन् १९९९ मा उनले बलिउडमा पनि ब्रेक पाए। फिल्म थियाे, सँजय लीला भँसालीकाे ‘हम दिल दे चुके सनम’ र गीत थियाे, ‘तडप तडप के इस दिल से’। यही गीतले उनकाे पहिचान बनायाे। उनलाई देशविदेश सबैतिर चिनायाे। केके लाई प्रारम्भिक ख्याति दिलाउने गीत यही हाे।
यसपछि केके ले बलिउडमा नियमित रुपमा गीतहरु पाउन थाले र गाउँदै जान थाले। यस गीतपछि बलिउडमा उनकाे यात्रा सहज भयाे।
टाेईलेटमा ‘अलविदा’ काे चर्चा
सन् १९९८ काे कुरा हाे। त्यसबेला केके, प्रितम, विशाल, शेखर जस्ता कैयौं गायक र संगीतकार दिल्ली एड एजेन्सिजमा काम गर्थे। प्रीतम र केके आपसमा घनिष्ठ थिए। उनीहरु एकअर्काका असल मित्र थिए। एकदिन ‘फेमस स्टुडियोज’काे टाेयलेटमा प्रीतम र केकेकाे भेट भयाे। प्रीतमले टाेयलेटमै मिटिङ सुरू गरे।
उनले केके लाई भने, ‘भाई मैले तिम्राे लागि एउटा उत्कृष्ट गीत बनाएकाे छु।’
केके ले भने, ‘भाई पहिले बाहिर त जाऔं। के गीत यहाँ नै सुनाउँछाै?’
उनीहरु जसै टाेयलेटदेखि बाहिर निस्किए, प्रितमले सामुन्ने कुर्सीमा राखिएको आफ्नाे गिटार उठाए र गीत गाउन थाले। केके लाई त्याे गीत असाध्यै मनपर्याे। प्रितमले गीत सुनाईसकेपछि भने, ‘एकदिन याे गीत म तिमीसँग रेकर्ड गर्छु।’
याे कुरा त्यही सकियाे। सन् २००६ आयाे। यसबेलासम्म प्रितम र केके दुवैले राम्राे नाम कमाईसकेका थिए। एकरात अचानक केके लाई प्रीतमकाे कल आयाे। प्रीतमले केके लाई भने, ‘भाई भाई तिमीलाई त्याे गीत याद छ जुन गीत मैले तिमीलाई टाेइलेटकाे बाहिर सुनाएकाे थिए?’
आधीरातमा निन्द्रादेखि जागेकाे बिचरा केकेले लाई कति बर्ष पुरानाे त्याे गीत अचानक कसरी याद हुन सक्थ्याे र? धेरै बेरसम्म दिमागकाे घोडा दौडाएपछि मात्र उनलाई त्याे घटना र गीत याद आयाे।
प्रीतमले भने, ‘हाे, तिमीसँग त्यही गीत रेकर्ड गर्नु छ ‘लाइफ इन ए मेट्रो’ फिल्मका लागि।’
केके ले स्वीकृति जनाए। अर्काे दिन गीत रेकर्ड गरियाे। गीत ब्लकबस्टर भयाे। त्याे गीत थियाे, वेरी फेमस सङ्ग ‘अलविदा अलविदा’।
१९९९ मा साेनी म्युजिकबाट डेब्यु र ‘पल’ एल्बम
सन् १९९९ मा उनले क्रिकेट विश्वकपकाे दाैरान इंडियन क्रिकेट टिमलाई सपाेर्ट गर्न ‘जाेश अफ इंडिया’ बाेलकाे गीत गाएका थिए जसमा तत्कालीन इंडियन क्रिकेट टिमका खेलाडीहरु देखा परेका थिए।
सन् १९९९ मै ‘साेनी म्युजिक’ इंडियामा भर्खरै लञ्च गरिएको थियाे र उनीहरु लञ्च गर्नलाई नयाँ कलाकारकाे खाेजी गरिरहेका थिए। यस्तोमा केके नयाँ कलाकारकाे रुपमा छानिए र आफ्नाे साेलाे डेब्यु एल्बम ‘पल’ लिएर प्रस्तुत भए जसकाे सँगीत लेसले लेविसले कम्पाेज गरेका थिए। याे एल्बमलाई लेसले लेविसकाे काेलाेनियल कजिन्सले अरेन्ज, कम्पाेज र प्राेड्युस गरेकाे थियाे। यस एल्बमका गीतहरु ‘आपकी दुआ’, ‘याराें’ र यसकाे टाइटल सङ्ग ‘पल’ युवाहरुकाे मुखमा झुण्डियाे र म्युजिक चार्टमा पनि शीर्षस्थान कब्जा गर्याे। ‘पल’ र ‘याराें’ गीत त इंडियाकाे स्कुलहरुकाे फेयरवेल फंशनहरुकाे अभिन्न हिस्सा बन्याे। केके का यी दुई गीतबिना कुनै पनि फेयरवेल फंशन पूर्ण हुदैनथ्याे। ‘पल’ केके ले साेनी म्युजिक अन्तर्गत रहेर रिलिज गरेकाे पहिलाे एल्बम थियाे जसबाट उनले ‘बेस्ट सिँगर’ काे स्क्रीन अवार्ड पनि जिते।
८ बर्षकाे अन्तरालपछि २२ जनवरी २००८ मा केके ले आफ्नाे दाेस्राे एल्बम ‘हमसफर’ निकाले। यसका गीतहरु ‘आसमान के’, ‘देखाे ना’, ‘ये कहाँ मिल गए हम’ र ‘रानी भाइ कारी (माझी) चर्चित भए। यसबाहेक केके ले एउटा अँग्रेजी रक बल्लड ‘सिनेरारिया’ पनि गाएका थिए। ‘हमसफर’ काे टाईटल ट्रयाककाे लिरिक्स अँग्रेजी र हिन्दी मिश्रित थियाे। यस एल्बममा १० वटा गीत थिए जसमध्ये ८ वटा केके स्वयंले कम्पाेज गरेका थिए। अन्य दुईटा गीत चाहिँ उनकाे पूर्व एल्बम ‘पल’बाट लिईएकाे थियाे।
स्टुडियाेमा एक्लै ‘तू जाे मिला’ काे रेकर्डिङ
सलमान खानकाे ‘बजरंगी भाईजान’मा केके काे एउटा गीत थियाे, ‘तू जो मिला’। अत्यन्त अद्भुत गीत। यसकाे रचनाकाे कथा झनै बढी अद्भुत छ।
भयाे के भने केके आफ्नाे परिवारसँग छुट्टी मनाउन अस्ट्रेलिया गएका थिए। उनी अस्ट्रेलिया आएकाे दुई दिनमात्र भएकाे थियाे कि उनलाई प्रितमकाे कल आयाे। प्रितमले भने कि, एउटा गीत अर्जेन्टली रेकर्ड गर्नु छ। केके ले उनलाई बताए कि उनी सिड्नीमा छन् र एक महिनापछि मात्र इंडिया आउनेछन्। प्रितमले आफ्नाे स्वभावअनुसार हडबडाउँदै भने कि, ‘केके यार जसाे गरेर भए पनि त्यहीबाट गीत रेकर्ड गरेर पठाऊ।’ यति भनेर उनले लिरिक्स र ब्रिफ केकेलाई मेल गरिदिए।
अब केके ले याे कुरा उनकी पत्नी ज्योतिलाई बताए। उनलाई भने, ‘मैले गीत रेकर्ड गर्नुपर्ने भयाे।’ ज्योतिले केके माथि राेष पाेखिन्। तर केके ले उनलाई यसाे भन्दै समझाए कि ‘याे प्रीतमकाे गीत हाे। त्याे पनि कबिर (खान) काे फिल्मकाे लागि।’ कबिर (खान) र केके बाल्यकालदेखि कै साथी थिए र एकसाथ स्कूलमा पढेका थिए। पत्नीलाई सम्झाएर केकेे गीत रेकर्डिङ गर्न स्टुडियो पुगे।
याे पहिलाे अवसर थियाे जहाँ केके विदेशमा गीत रेकर्डिङ गरिरहेका थिए, त्याे पनि एक्लै। उनकाे साथमा न काेही सँगीतकार थियाे, न अरु कोही थिए जसले याे भेरिफाई गरुन् कि गायन राम्रो भईरहेकाे छ वा छैन। केके ले आईडिया लगाए र गीतकाे चार-चार लाइन रेकर्ड गरेर प्रितमलाई पठाउन थाले।
प्रितमले रेकर्डिङ सुने, उनलाई रेकर्डिङ मनपर्याे। अनि उनले केकेलाई भने, ‘भाई, यसरी पटकपटक मलाई गीत पठाइरहनुपर्दैन। यसाे नगर। याे तिम्राे गीत हाे। तिमी आफ्नाे हिसाबले गाऊ, जसरी तिमीले पछिल्लो गीत गाएको छाै र गीत पूरा भएपछि पठाऊ।’
केके ले त्यसै गरे। दुई-अढाई घण्टापछि रेकर्डिङ पूरा भयाे। केके ले प्रितमलाई फाइनल प्रोडक्ट पठाए। प्रितमलाई केके काे याे गीत यति मनपर्याे कि उनले गीतलाई कतै पनि एडिट नगरि जस्ताकाे तस्तै सलमान र कबीर खानलाई फरवर्ड गरिदिए।
दुवैलाई उक्त गीत यति मनपर्याे कि उनीहरुले प्रीतमसँग गीतमा अझै एउटा अन्तरा थप्न माँग गरे। अन्तरा थपेर गीतलाई अलि लामाे बनाउन भने। केही दिनपछि केके इंडिया फर्केर आए र गीतमा नयाँ अन्तरा थपियाे। यसरी, ‘तू जो मिला’ गीत तयार भयाे जसलाई आज यूट्यूबमा करिब ७ करोड भ्युज मिलेकाे छ र भ्युज बढ्ने क्रम जारी छ।
केके ले मिडियामा देखिने चाहना कहिल्यै गरेनन्। उनले सधै मिडियासँग मर्यादित दूरी बनाए। उनी भन्थे, ‘गायककाे अनुहार मिडियामा देखिनु महत्वपूर्ण कुरा हैन, उनकाे गायन मान्छेहरुले सुन्नु चै महत्त्वपूर्ण कुरा हाे।’ उनका समकालीन गायकहरु जहाँ टिभी च्यानलहरुमा सिङ्गिङ रियालिटी शाेहरुमा जजकाे रुपमा रेगुलर आईरहेका थिए, त्यही केके ले मात्र एउटा रियलिटी शो गरे।
पछिल्ला बर्षहरुमा उनी गायनमा पूर्ण रुपमा सक्रिय थिएनन् तर हरेक बर्ष उनकाे एकाध गीत आईरहन्थ्याे। पछिल्लोपटक आलिया भट्ट र संजय दत्तकाे फिल्म ‘सड़क २’ मा उनले गाएकाे गीत ‘शुक्रिया’ राम्राे हिट भएकाे थियाे। यसअघि कार्तिक आर्यन र सारा अली खानकाे ‘लव आजकल २’ मा उनले गाएकाे ‘और तन्हा’ गीतले पनि राम्राे प्रशंसा पाएकाे थियो।
तर उनको यस्ताे गीत एकादुई मात्र आईरहेकाे थियो। अब उनले कहिलेकाहीँ मात्र गीतकाे अफर पाउन थालेका थिए। त्याे दाैर गुज्रिसकेकाे थियाे जहाँ सिँगाे एल्बममा केके छाउँथे र एल्बम हिट हुने गर्थ्याे। केके ले अन्तिमपटक कबिर खानकाे फिल्म ‘८३’ का लागि प्रितमकाे सँगीतमा ‘ये हाैसले’ गीत गाएका थिए।
के के काे मृत्यु कसरी भयाे?
५३ बर्षकाे उमेरमा केके काे कर्डियक अरेस्टका कारण मृत्यु भयाे। ५३ बर्ष भनेकाे मर्ने उमेर त हैन। तर याे दुखान्त कलकत्तामा घटित भयाे। त्याे दिन आखिर केके काे साथमा के के भएकाे थियाे त? केके काे मृत्यु के कसरी, के कारणले, कस्ताे अवस्थामा भएकाे थियाे त? त्याे दिनकाे सम्पूर्ण विवरण तल सँक्षिप्तमा उल्लेख गरिएकाे छ।
केके काे काेलकातामा दुईदिनकाे लाईभ कन्सर्ट थियाे। उनी काेलकाताकाे एक निजी कलेज ‘सर गुरुदास महाविद्यालय कलेज’काे फेस्टका लागि पर्फम गर्न काेलकाता आएका थिए। कलेजकाे लागि कन्सर्ट काेलकाताकाे सबैभन्दा ठूलाे सरकारी अडिटाेरियम ‘नजरुल मञ्च’मा राखिएकाे थियाे। ३० मे मा केकेले यहाँ पर्फम गरे र हाेटल फर्किए। त्याे दिन उनलाई केही भएन।
भाेलिपल्ट, ३१ मे, मँगलबारमा दिन पनि उनले फेरि उही अडिटाेरियममा पर्फम गर्नुपर्ने थियाे। त्याे दिन चाँहि उनकाे लागि दशाकाे दिन बन्न लेखेकाे रहेछ। उनकाे जिन्दगीकाे अन्तिम दिन, उनकाे प्राणपखेरु उड्ने दिन भनेर लेखेकाे रहेछ।
३१ मे मा साँझ करिब पाँच बजेदेखि नजरुल मञ्चमा कार्यक्रम सुरु भयाे। साँझ ६ बजेर १० मिनेटमा स्टेजमा केके काे ‘इन्ट्री’ भयाे। स्टेजमा इन्ट्री गरेपछि उनले एकपछि अर्काे गर्दै गीतहरु गाउँदै गए। उनलाई देखेर यस्ताे पटक्कै पनि लागिरहेकाे थिएन कि उनी गाउँदागाउँदै अस्वस्थ्य हुनेछन् र अबकाे केही घण्टापछि नै उनकाे प्राणपखेरु उड्नेछ भनेर। उनी स्टेजमा फिट र खुशी देखिएका थिए। स्टेजमा आएपछि उनले एकपछि अर्काे गर्दै २० वटा गीत गाए।
तर कन्सर्टकाे अन्त्यतिर आउँदै गर्दा भने यस्ताे लाग्न थाल्याे कि उनी थाक्दै गईरहेका छन्, उनकाे श्वास फुल्दै गईरहेकाे छ, उनलाई तिर्खा लागिरहेकाे छ, उनलाई लगातार पसिना आइरहेको छ।
यधपि बताईन्दैछ कि उनले गाउन सुरु गरेकाे आधा घण्टा बितेदेखि नै उनलाई गीत गाउन असजिलाे हुन थालेकाे थियाे। त्यसपछि उनलाई पटकपटक माईक छाेडेर लगातार रुमालले पसिना पुछ्दै गरेकाे देखियाे। उनमा छट्पटी पनि देखिन थालेकाे थियाे। सायद उनकाे याे छट्पटी एक अन्जान खतरा उनीतिर बढ्दै आइरहेकाे कुराकाे सँकेत पाे थियाे कि?
जुन अडिटाेरियममा याे कन्सर्ट चलिरहेको थियाे त्यहाँ लगभग अढाई हजार मानिस बस्ने क्षमता थियाे, अफिसियल रेकर्ड अनुसार २,४८२ दर्शक क्षमता। तर केके काे लाइभ परफर्मेन्सका दाैरान यस अडिटाेरियममा ७,००० भन्दा बढी मानिसहरु उपस्थित थिए। याे ठूलाे भीडका कारण भित्र अत्याधिक गर्मी थियाे, एसी चलिरहेको थिएन जसकाे कारणले उनकाे श्वास निस्सासिन्दै जान थाल्याे।
जी न्यूजकाे पत्रकार सुधीर चाैधरीका अनुसार उनकाे लाइफ परफर्मेन्सका दाैरान केकेले कसैसँग पनि उनकाे स्वास्थ्यस्थिति बिग्रिन्दै गएकाे, उनलाई गर्मी भईरहेकाे, लगातार पसिना आईरहेकाे अथवा उनलाई पटकपटक पानी पिउने इच्छा भईरहेकाे गुनासाे गरेनन्। तर पत्रकार नन्दिता पुरी (ओम पुरीकी पूर्व पत्नी) ले भने यसकाे विपरीत केकेले चारपटकसम्म आयाेजकहरु सामु गुनासाे गरेकाे तर कसैले उनकाे गुनासाे नसुनेकाे बताएकी छिन्।
सत्य जे सुकै हाेस्, केके काे कन्सर्टकाे त्यतिबेलाकाे पूरै भिडियाेलाई हेर्दा याे चाहिँ स्पष्ट थाहा हुन्छ कि उनी गर्मीले बेहाल थिए। अडिटाेरियममा अत्याधिक भीड भएका कारण जुन ‘सफाेकेसन’ उत्पन्न भएकाे थियाे, त्यसभित्र श्वास नै निस्सासिने जुन वातावरण थियाे, त्याे उनकाे अनुहारमा स्पष्ट झल्किरहेकाे थियाे। अनि, त्यहाँकाे एयरकन्डिसनिङ पनि ठीक थिएन जुन कुरा अघि नै उल्लेख गरिएकाे छ। तर उनकाे शान्त र भद्र स्वभावका कारण नै हुनुपर्छ, प्रचण्ड गर्मीमा स्वास्थ्यस्थिति बिग्रिन्दा र छट्पटी भईरहन्दा पनि उनी स्टेज छाेडेर गएनन्, स्टेजमा पर्फम गरिरहे।
एकातिर केके जुनसुकै हालतमा पनि कन्सर्ट पूरा गर्न चाहन्थे, अर्काेतिर नजरुल अडिटाेरियमभित्र र बाहिर अराजकतापूर्ण माहाैल थियाे। भित्र अढाई हजारकाे ठाउँमा सात हजारभन्दा बढी मानिसहरु घुसेका थिए। हुन त सुरुमा अडिटाेरियममा मानिसहरुकाे सँख्या सन्तुलित थियाे। तर आयाेजकहरुले बिस्तारै पैसा लिदै अडिटाेरियमभित्र क्षमताभन्दा बढी मानिसहरुलाई घुसाउन थाले जसकाे कारण अडिटाेरियम ‘ओभर क्राउडेड’ भयाे। अडिटाेरियमभित्रकाे वातावरण त ‘हिट च्याबर’ जस्तै भएकाे थियाे।
अडिटाेरियम बाहिर पनि सैयाै मानिसहरु थिए जाे जबर्जस्ती अडिटाेरियमभित्र घुस्ने प्रयास गरिरहेका थिए। उनीहरु आफ्नाे हातमा जे पर्याे, पानीकाे बाेतल, ढुँगा, बाँस, त्यसैले ढाेकामा हिर्काइरहेका थिए। टायल्स भत्काइरहेका थिए। आयाेजकहरु भीडलाई नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएका थिए। उनीहरुले भीडलाई नियन्त्रण गर्न बाउन्सर्स र भाेलेन्टियर्सहरुलाई फायर एस्टिङ्ग्युसर प्रयाेग गर्न निर्दैशन दिए र भीडमाथि फायर एस्टिङ्ग्युसर छाेडियाे तर पनि भीड नियन्त्रणमा आउन सकेन। कार्यक्रमपछि जाँच गर्दा अडिटाेरियमकाे एक्जिटकाे सबैतिरकाे ढाेका ताेडफाेड भएकाे, चुकुल भत्किएकाे पाईयाे। किनभने मानिसहरुकाे चाप थाम्नै नसकिने थियाे। आयाेजकहरुले भीड नियन्त्रण गर्नका लागि जति पनि बाउन्सर्स र भाेलेटियरहरु राखेका थिए, तिनीहरु सबैजना भीड नियन्त्रण गर्न पूर्णतया असफल भएका थिए।
सामान्यतया कलाकारहरुलाई लिएर कुनै कन्सर्टकाे आयाेजना गर्दा पुलिसकाे मदत लिने गरिन्छ। कार्यक्रमस्थलमा सुरक्षाकाे लागि पुलिससँग मदत माग्ने गरिन्छ र पुलिस हेडक्वार्टरले सुरक्षाका लागि आफ्ना सुरक्षाकर्मीहरुलाई कार्यक्रमस्थलमा तैनाथ गर्ने गर्दछ। तर त्याे दिन नजरुल मञ्चकाे केके काे कन्सर्टमा पुलिसकाे तर्फबाट कुनै पनि सुरक्षाकर्मीलाई तैनाथ गरिएकाे थिएन, सुरक्षाकाे केही पनि व्यवस्था गरिएकाे थिएन। आयाेजकले पुलिसकाे मदत नलिएकाे हाे वा पुलिस आफैले कार्यक्रमकाे सुरक्षालाई वेवास्ता गरेकाे हाे, उनीहरु नै जानुन्। तर सत्य के हाे भने यदि पुलिस त्याे दिन त्यहाँ तैनाथ भईदिएकाे भए भीड नियन्त्रण गर्न धेरै हदसम्म सहज हुन्थ्याे। परिस्थिति यति भयावह हुदैनथ्याे।
यस्ताे अवस्थामा केके ले शाे पूरा गरिसकेपछि जब उनलाई बाहिर निकालियाे तब उनकाे स्वास्थ्यस्थिति बिग्रिसकेकाे थियाे।
केके ले दुईघण्टासम्म यस कन्सर्टमा परफर्म गरे। त्यसपछि जब उनकाे स्वास्थ्यस्थिति झनै बिग्रियाे, तब उनलाई आयाेजक र उनकाे टिमले त्यहाँबाट निकाल्याे र गाडीमा हालि उनकाे हाेटलमा लिएर गयाे। हलदेखि निकाल्ने क्रममा उनीहरुले केके लाई पैदलै हलदेखि पार्किङ एरियासम्म निकालेका थिए। उनकाे अन्तिम भिडियाेमा स्पष्ट देखिन्छ कि उनलाई श्वास फेर्नमा समस्या भईरहेकाे थियाे र उनी पसिनाले लथपथ थिए।
केके बसेकाे हाेटल याे अडिटाेरियमबाट ६ किमी टाढा थियाे र उनलाई हाेटलमा पुग्न लगभग २० मिनेट लाग्याे। त्यसपछि हाेटलमा उनकाे स्वास्थ्यस्थिति झनै बिग्रिएकाे र काेठामा एउटा साेफामा लडेर उनकाे टाउकाे र ओठमा चाेट लागेकाे बताईन्दैछ।
याे उनकाे अन्तिम भिडियाे हाे जसमा केके लाई बाहिर लिएर गईन्दैछ। यहाँ हामी देख्न सक्छाैं केके भिडियाेमा पसिनाले भिजेर लथपथ भएकाे, अस्वास्थ्य र परेशान देखिन्दैछन्। उनलाई श्वास फेर्नमा समस्या भईरहेकाे पनि देखिन्दैछ।
यहाँ याे पनि प्रश्न उठिरहेको छ कि यदि केके काे स्वास्थ्यस्थिति बिग्रन्दै थियाे भने उनलाई अस्पताल नलगेर किन हाेटल लगियाे? हाेटलकाे साटाे अस्पताल किन लगिएन? किनभने डाक्टरहरुकाे भनाई थियाे कि यदि त्यसबेला उनलाई सिधै अस्पताल ल्याइएकाे भए सायद उनीहरुले केही गर्न सक्थे, सायद उनकाे ज्यान बचाउन सकिन्थ्याे। तर जब उनलाई अस्पताल लगियाे तबसम्म त उनकाे मृत्यु भईसकेकाे थियाे।
आयाेजकहरुकाे तर्फबाट केके का लागि कुनै मेडिकल टिम वा अटेन्डिङ डाक्टरकाे पहिल्यै व्यवस्था गरिएकाे थिएन। यदि मञ्चमा मेडिकल टिम माैजुद हुन्थ्याे भने जब केके काे स्वास्थ्यस्थिति बिग्रिन्दै थियाे, तब तत्काल उनलाई मेडिकल ट्रिटमेन्ट मिल्न सक्थ्याे। उनकाे स्वास्थ्यस्थिति यतिसाह्राे बिग्रन पाउँदैनथ्याे।
केके काे अकस्मात् मृत्युलाई लिएर पत्रकार नन्दिता पुरी अत्यन्त आक्राेशित भएर प्रस्तुत भएकी छिन्। उनले आफ्नाे फेसबुक पेजमा काेलकातामा लाईभ कन्सर्टका दाैरान उपलब्ध गराइने सुविधाहरुमाथि प्रश्न उठाएकी छिन्। उनले लेखेकी छिन्, ‘पश्चिम बंगाललाई लाज लाग्नुपर्ने हाे, काेलकाताले केके काे हत्या गरिदियाे र सरकार अब यसलाई ढाकछाेप गर्न खाेजिरहेकाे छ। नजरुल मञ्चमा कुनै सावधानी अपनाईएकाे थिएन। अढाई हजार क्षमता भएकाे (अफिसियल रेकर्ड अनुसार २,४८२ दर्शक क्षमता भएकाे) नजरुल मञ्चमा सात हजार मानिस थिए। त्यहाँकाे एसीले काम गरिरहेकाे थिएन। गायक पसिनाले नराम्ररी लथपथ भईरहेका थिए। उनले चारचाेटि कम्लेन गरे तर कसैले पनि उनकाे कुरा सुनेन। त्यहाँ न त दबाईकाे सुविधा थियाे न त फर्स्ट एडकै सुविधा थियाे। यसकाे सिबिआई जाँच हुनुपर्छ र तबसम्म बलिउडले बंगालमा पर्फम गर्नबाट जाेगिनुपर्छ। बँगाललाई बाईकट गर्नुपर्छ।’
नन्दिताले एकदमै ठीक भनेकी हुन्। कार्यक्रमकाे व्यवस्थापन साँच्चै नै अत्यन्त खराब थियाे। मात्र २,४८२ दर्शक क्षमता भएकाे अडिटोरियममा आयाेजकहरुले धेरै पैसा कमाउन अडिटाेरियमकाे वास्तविक क्षमताभन्दा तीनगुणा बढी मानिसहरुलाई पैसा लिएर भित्र हुले। याे डेन्जर जाेनमा मानिसहरुलाई धकेले समान थियाे। यसले मानिसहरुकाे ज्यानकाे खतरालाई बढायाे। दुर्घटनाकाे खतरालाई बढायाे। याे अत्यन्त अमानवीय कर्तुत थियाे। ७,००० मानिसकाे विशाल भीडलाई नियन्त्रण गर्नका लागि स्वयँसेवकहरुले फायर एस्टिङ्ग्युसरकाे समेत प्रयाेग गर्नुपर्याे।
त्यसमाथि अडिटाेरियमकाे एसी चुस्तदुरस्त नगरि कार्यक्रम सँचालन गर्नु आयाेजकहरुकाे अर्काे अमानवीय कर्तुत थियाे। एसी चलिरहेता पनि ठीकसँग काम गरिरहेकाे थिएन वा एसी चलेकै थिएन, याे पनि जाँच गर्नुपर्ने प्रश्न हाे। अत्याधिक भीड र त्यसमाथि एसीले काम नगर्दा अडिटाेरियम हिट च्याम्बर जस्तै बनेकाे थियाे। अडिटाेरियमभित्र गाइरहेका केके गर्मीले बेहाल भएका थिए। पसिनाले लथपथ भएका केके लगातार रुमालले पसिना पुछिरहेका थिए। साेसल मिडियामा भाईरल भएकाे कन्सर्टका भिडियाेमा केकेलाई लगातार पसिना पुछिरहेकाे देख्न सकिन्छ अनि भेन्टिलेशनतर्फ पनि इशारा गरिरहेकाे देख्न सकिन्छ। खासमा उनी त्यसबेला आयाेजकहरुलाई गर्मी अति नै भएकाेले आफुमाथिकाे स्पटलाईट बन्द गर्न अनुराेध गरिरहेका थिए।
माथि नै भनियाे, पत्रकार नन्दिता पुरीका अनुसार त केके ले चारपटकसम्म आयाेजकहरु सामु गुनासाे गरेका थिए तर आयाेजकहरुले उनकाे कुरालाई एक कानले सुनेर अर्काे कानले उडाईदिए। यस्ताे निस्सासिन्दाे वातावरणमा केके गीत गाउँदागाउँदै नाजुक अवस्थामा पुगिसकेका थिए। तर आयाेजक त लापरवाह भई नै हाले, केके काे टिम पनि कम लापरवाह थिएन। उनीहरुले पनि याे कुराकाे ख्याल गरेनन्। जब उनले असहज हुनका बावजूद पनि ‘हम रहे ना रहे कल’ गाई सके त्यसपछि मात्र उनकाे टिमले यसलाई नाेटिस गरे र उनलाई हतारहतार झण्डैझण्डै कुदाउँदै बाहिर निकाले। (उनीहरु केके लाई स्ट्रेचरमा राखेर पनि त बाहिर निकाल्न सक्थे। तर त्यहाँ अव्यवस्थाकाे यस्ताे पराकाष्ठा थियाे कि त्यहाँ एउटा स्ट्रेचरसम्म थिएन। डाक्टर वा मेडिकल टिम त धेरै टाढाकाे कुरा) कारमा हुले, एसी चालू गरे र हाेटल लिएर गए। त्यसकाे केही बेरमै उनकाे प्राणपखेरु उड्याे।
केके काे मृत्युपछि कार्यक्रमकाे अव्यवस्थालाई लिएर आयाेजकहरुमाथि अनेकाैं प्रश्नहरु उठेकाे छ। क्षमताभन्दा तेब्बर बढी मानिसहरुलाई भित्र हुलेकाे, एसीले काम नगरेकाे, मेडिसिन र मेडिकल टिम त टाढाकाे कुरा फर्स्ट एड र स्ट्रेचरकाे समेत व्यवस्था नगरेकाे कुराहरुलाई लिएर उनीहरुकाे आलाेचना त भईरहेकै छ, हलभित्र अचानक केके काे स्वास्थ्यस्थिति बिग्रिएपछि उनकाे खराब अवस्थाकाे बावजूद पनि उनलाई हलभित्रदेखि पार्किङ एरियासम्म हिडाएर लैजानु, एउटा स्ट्रेचरसम्मकाे व्यवस्था नगर्नु, आपतकालीन प्रयाेजनलाई ख्याल गरेर एउटा एम्बुलेन्स समेत स्ट्याण्डबाई नराख्नु, उनलाई सिधै अस्पताल नलगेर हाेटलमा लैजानु आदि कुरालाई लिएर आयाेजकहरुकाे कडा निन्दा गरिन्दैछ। खासमा त्याे दिनकाे कार्यक्रममा आयाेजकहरुकाे अव्यवस्थाले सीमा नाघेकाे थियाे।
एउटा प्रश्न त प्रशासनमाथि पनि उठ्छ/उठ्नुपर्छ कि प्रशासनले यति नामि कलाकारकाे कार्यक्रमलाई मध्यनजर गरेर सुरक्षाकाे व्यवस्था किन गरेन जबकि सामान्यतया यस्ता कार्यक्रमहरुमा प्रशासनले आधारभूत सुरक्षाव्यवस्था उपलब्ध गराउने गर्छ वा उपलब्ध गराउनुपर्छ।
केकेले ‘हम रहे ना रहे कल’ गाईसक्दा ८:३५ भएकाे थियाे। ८:४० मा उनलाई अडिटाेरियमबाट बाहिर निकालियाे र उनकाे हाेटलमा लिएर गईयाे। अडिटाेरियमदेखि ६ किमीकाे दुरीमा रहेकाे हाेटलमा उनलाई पुर्याउन २० मिनेट लाग्याे। राति नाै बजेसम्म उनी हाेटल पुगिसकेका थिए। तर उनलाई अस्पताल भने १०:१५ बजे लगिएकाे थियाे। उनलाई अस्पताल लैजान यत्राे एकघण्टाभन्दा बढी समयकाे बिलम्ब किन गरियाे? यसबीचमा के भयाे? केके काे स्वास्थ्यस्थिति कस्ताे थियाे? के उनी जीवित नै थिए या मरिसकेका थिए? यदि जीवित थिए भने तत्काल अस्पताल नलगेर किन एक घण्टासम्म कुरेर राखियाे? यहाँनेर एकातर्फ, उनले हाेटलमा आएर बान्ता गरेकाे, साेफामा लडेर टाउकाे र ओठमा चाेट लागेकाे बताईन्दैछ। अर्काेतर्फ, एक पक्षबाट केकेलाई हाेटलमा ल्याईपुर्याउँदा नै उनकाे मृत्यु भईसकेकाे कुरा पनि आईरहेकाे छ। यदि हाेटलमा ल्याईपुर्याउँदा नै उनकाे मृत्यु भईसकेकाे थियाे भने फेरि उनकाे टाउकाे र ओठमा चाेट चै कसरी लाग्याे त? यी प्रश्नहरु अहिलेसम्म अनुत्तरित छन्। यसैकारण जनस्तरबाट घटनाकाे सिबिआई जाँच गर्न र आयाेजकहरुलाई गिरफ्तार गरेर कडा कानुनी कारवाही गर्न माँग गरिन्दैछ।
केके काे मृत्युलाई पुलिसले पनि ‘अननेचुरल डेथ’ भन्याे। उनकाे टाउकाे र ओठमा चाेट पाईएकाेले पुलिसले यसलाई अननेचुरल डेथ केसकाे रुपमा दर्ज गर्याे र छानबिन थाल्याे। उनकाे शवलाई पाेष्टमार्टमका लागि पठाईयाे। तर पछि अटोप्सी रिपोर्टबाट थाहा भयाे कि केकेकाे मृत्यु कर्डियक अरेस्टका कारण भएकाे हाे। त्यसपछि प्रकाशित पाेष्टमार्टम रिपाेर्टमा केके काे अचानक मृत्यु हुनुकाे कारण विस्तृत रुपमा बताइयाे।
पोस्टमार्टम रिपोर्टका अनुसार केके को मुटुमा ‘मेजर ब्लकेज’ भएकाे थियाे। केके काे मुटुमा विगत केही बर्षदेखि याे गम्भीर समस्या उत्पन्न भएकाे थियाे तर उनले यसलाई गम्भीरतापूर्वक लिएनन्। किनभने उनकाे जीवनशैली सामान्य थियाे। उनमा कुनै पनि किसिमकाे व्यसन वा दुर्व्यसन थिएन। उनी धुम्रपान, मध्यपान वा गुट्खा सेवन गर्दैनथे। उनी समयमै सुत्थे, समयमै उठ्थे। आफ्नाे स्वास्थ्यकाे ख्याल राख्थे। ५० काे उमेर पार गरेदेखि नै उनी खानपानलाई लिएर अत्यन्त सजग रहन्थे। उनी आफ्नो फिटनेसलाई लिएर अत्यन्त सजग रहन्थे। उनी निकट सुत्रका अनुसार उनी मसालेदार खाना खादैनथे। मात्र यात्राकाे दाैरान जब बाध्यता आईपर्थ्याे, तबमात्र उनी केही समयका लागि यससँग सम्झाैता गर्थे, तर यसकाे पूरताल उनी याेगा र खानपानमा कडाई गरेर गर्थे। उनका धेरैजसाे फ्यान युवा थिए, त्यसैले उनी आफ्नाे व्यक्तित्वलाई युवाजस्तै बनाईराख्थे।
उनले सकेसम्म आफ्नाे जीवनशैलीलाई स्वास्थ्य राखेका थिए। उनकाे कुनै मेडिकल हिस्ट्री थिएन कि यसरी अचानक मृत्यु हाेस्। उनलाई न डाईबिटिज थियाे, न हाई ब्लड प्रेसर। त्यसैले अचानक भएकाे उनकाे मृत्युबाट अनेक प्रश्नहरु उब्जिए। उनकाे मृत्युले सबैलाई आश्चर्यमा पार्याे। उनका परिवारका सदस्यहरु तथा इष्टमित्रहरु झनै आश्चर्यचकित भए। उनीहरूका अनुसार केके यसरी मर्नुपर्ने व्यक्ति नै थिएनन्।
उनकी पत्नी ज्योतिले पुलिसलाई बताएअनुसार केके लाई छात्तीमा पीडा हुने गर्थ्याे तर उनले त्यसलाई एसिडिटीकाे कारण भएकाे भन्ठाने। यसकाे निदानका लागि उनी हर समय आफुसँग एन्टिसिड बाेकेर हिँड्थे। पोस्टमार्टम गर्दा उनकाे शरीरमा एन्टिसिडकाे अंश पनि पाइएकाे थियाे। पुलिसले उनी बसेकाे होटलकाे काेठाबाट पनि एन्टिसिडकाे पाउच बरामद गरेका थिए।
केके काे पोस्टमार्टम गर्ने डाक्टरहरुका अनुसार केके काे मुटुकाे बायाँ भागमा रक्तसंचार गर्ने नली (जसलाई अँग्रेजीमा ‘Left coronary artery’ भनिन्छ) ८०% बन्द भएकाे थियाे। यसका अतिरिक्त उनकाे मुटुसँग जाेडिएकाे केही अन्य नलीहरुमा पनि साना साना ब्लकेजहरु पाइए। डाक्टरहरुले याे पनि बताए कि यदि उनलाई सही समयमा CPR (Cardiopulmonary resuscitation) दिइएकाे भए उनकाे ज्यान बचाउन सकिन्थ्याे। परफर्मेन्सकाे दौरान एक्साइटमेन्टकाे कारणले उनकाे मुटुकाे रक्तसँचार राेकियाे। यही कारणले केके लाई कार्डियक अरेस्ट भयाे र उनकाे प्राण गयाे।
केके ने आफ्नाे असाधारण प्रतिभाकाे बलमा कराेडाैं मानिसकाे हृदयमा आफ्नाे लागि स्थान बनाए। एक समय ‘किशाेर कुमार अफ न्यू मिलेनियम’ कहलिएका गायक केके ले अचानक याे सँसारलाई अलविदा गरे र आफ्नाे पछाडि आफ्नी पत्नी ज्याेति, दुईजना सन्तान (छाेरा नकुलकृष्ण र छाेरी तमारा), हजारभन्दा बढी गीत र यादहरुलाई छाेडेर गए। काेलकाताकाे नजरुल मञ्चकाे याे कन्सर्ट नै उनकाे फेयरवेल प्राेग्राम बन्न पुग्याे अनि सँयाेगवश कार्यक्रममा उनले गाएकाे अन्तिम गीत ‘हम रहे या न रहे कल’ उनकाे अन्तिम विदाईकाे माँग।
अलविदा केके, अलविदा प्रिय गायक।