काठमाडौंका मेयर शाहले भने- एक हप्ताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउँछौं

गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उनले बताए।

मेयर शाहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’, उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घर-घरमा जनचेतना फैल्याउने काम गर्नेछ।’

मेयर शाहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे।

त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे।

स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विसर्जन गर्न अवरोध गर्न नहुने उनको भनाइ थियो।

मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटक/पटक दोहोर्‍याए।

यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID