नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणले सामाजिक सञ्जाल तातियो । सञ्जालमा पक्ष–विपक्षमा घगडान बहस भए । कतिपयले जातीय र धार्मिक रंग दिन खाजे । यौन हिंसालाई हेर्ने मानिसहरुको दृष्टिकोण पनि छरपस्ट भयो ।
मिरुनाको सवालमा एक भाष्य भने टड्कारो देखियो, ‘भीडमा हुँदा छोइन्छ, त्यसलाई उनले त्यति सेन्सेसनल बनाउन आवश्यक थिएन ।’ मिरुनालाई कम्मरमुनि पछाडिको भागमा तीनपटकसम्म ‘ब्याड टच’ गर्ने फुर्वा लामाले सहानुभूति बटुले । सामाजिक सञ्जाल बडो विद्रुप ढंगले प्रस्तुत भयो ।
घटना हुनु अगाडि नै मान्छेहरुले खिचेको भिडियोलाई ‘सीसीटीभी फुटेज’ भनेर प्रचार गरियो, जहाँ वास्तविक घटनाको दृश्य नै समेटिएको थिएन । त्यही हेरेर सञ्जालका ‘न्यायाधीश’ हरुले फैसला सुनाए– अभिनेत्रीलाई आरोपीले छोएकै थिएनन् । नायिकाले निर्दोषलाई फसाउन खोजिन् । आदि । मिरुनामाथि एकोहोरो ‘रिप’ को वर्षा नै भयो । सडकमा पनि उग्र प्रदर्शन भए । केही मानिसले उनको पुतला बनाएर लात्ती हान्दै आफ्नो वीरता प्रदर्शन गरे । महिलाहरुले नै मिरुनाको दोहोलो काढे ।
सिभिल मलको सातौं तलामा गत १५ गते भएको घटनाको साक्षी सम्भवतः मिरुनामात्रै थिइन् । कमन सेन्स लगाएर सोच्न सकिन्छ, यदि त्यस्तो घटना भएकै थिएन भने नायिकाले आफ्नै चलचित्र हेर्न आएका दर्शकलाई केको रिस फेर्न प्रहरी हिरासतमा पठाइन् होला ? त्यो पनि एउटा भिक्षु पोशाकमा रहेका बुद्धमार्गीलाई । आरोपीलाई ठाउँको ठाउँ थप्पड हान्ने हिम्मत कसरी जुटाइन् होला ? अनि आरोपीले तत्काल कान समातेर माफी किन मागे होला ?
मिरुनाले ‘रिप’जस्तो दुःखलाग्दो गालीमात्रै भेटिरहेकी थिइनन् । केएल टावरअघि ‘कबड्डी’ फिल्मको पोस्टर जलाइएको थियो । आन्दोलन चर्काइएको थियो । मिरुनालाई ‘मुर्दावाद’ र फुर्वालाई ‘जिन्दावाद’को चर्को कर्कस नारा लगाइएको थियो । फुर्वाको न्यायका लागि उत्रिएका जमातले घटनालाई राजनीतीकरण गर्दै लैजाँदा मिरुनाले पाइरहेको अन्यायमाथि चाहिँ कोही संवेदनशील देखिएनन् । यद्यपि जसले यस्तै खालको दुर्व्यवहार भोगेका छन्, उनीहरुलाई मिरुनाले चालेको कदमले पक्कै केही न केही हौसला दियो ।
मिरुना–भिक्षु प्रकरणपछि सामाजिक सञ्जालमा अरु केही महिलाहरुले आफ्ना अनुभूति पनि सेयर गर्न थाले । सार्वजनिक यातायातमा सवार हुँदा होस् या कुनै भीडमा हुँदा होस्, गलत नियतले ‘टच’ गरेका घटनाहरु पनि धेरैले सार्वजनिक गरे । विशेषतः छोएर, हेरेर, पछ्याएर गरिने यौन हिंसाबारे सबैले बोले ।
तर, लामा भने चोख्खिए । उनी त सांसारिक सुख, भोग विलास त्यागेर गुम्बामा पुगेका थिए । बौद्ध धर्मवलम्बीहरुको बौद्ध धर्मप्रति एक प्रकारको आस्था छ । उनीहरुले आफ्नै विश्वास पद्धति छ । आफ्नै बौद्ध दर्शन छ । तर बौद्ध धर्म र दर्शनलाई भुलेर लामाले गलत हर्कत त गरेकै थिए । नत्र मिरुनाले प्रहरी नै बोलाएर पठाउनुपर्ने कुनै जरुरी थिएन । निकै संघर्षपछि बल्ल सफलताको स्वाद चाखेकी उनलाई दर्शकसँग खाली खुसी साट्नु थियो । लामो संघर्षपछि दर्शकको अथाह माया पाएकी थिइन्, जसको सेलिब्रेसन गर्नु थियो ।
फिल्मबाट पाइरहेको अटेन्सन र चर्चा नै काफी थियो मिरुनालाई । अनेक लफडा गरेर लाइमलाइटमा आउनुपर्ने कुनै बाध्यता थिएन । झनै आफ्नै दर्शकलाई प्रहरीको जिम्मा लगाउनुपर्छ भनेर सोचेकी पनि थिइनन् होला अथवा यसपछि उति उग्र रुप लिन्छ भनेर कल्पेकी पनि थिइनन् होला । तर, भनिन्छ नि, जे सोचिँदैन त्यो भइदिन्छ, जे सोचिन्छ, त्यो भइदिँदैन ।
जो पीडित उसैलाई निशाना बनाएर प्रहार सुरु गरियो । प्रश्न गर्न थालियो, ‘केही भएकै छैन । महिलाले पुरुषलाई अनाहकमा फसाउँछन् ।’
यसरी प्रहार गर्दैगर्दा के चाहिँ देखियो भने सामाजिक सञ्जाल एउटा भीड हो, जसको कुनै चेतना हुँदैन । नेटफ्लिक्समा ‘१००’ नामक सिरिजमा एउटा संवाद छ । जहाँ एक पात्रले भन्छ, ‘भीडसित कुनै चेतना हुँदैन । भीडसित कुनै विवेक हुँदैन । भीडलाई जता लग्यो, त्यो उतै जान्छ । त्यसैले भीडलाई सही दिशा निर्देश गर्न सही नेतृत्व आवश्यक हुने हो ।’ सञ्जालको यस्ता भिडलाई नेतृत्व गर्नेहरु पनि हामीले देखिआएकै छौं । जसको परिणति नै मिरुना–लामा प्रकरणको क्लाइमेक्स हो ।
आफ्नो कुण्ठा अरुमाथि लाद्नेदेखि धमिलो पानीमा माछा मार्नेहरु सलबलाउने नै यस्तै घटनाहरुमा हो भनेर धेरै घटनामा प्रमाणित भइसकेको छ । सामाजिक सञ्जाललाई ‘क्राइम कोर्ट’ जसरी प्रमाणित गरेर न्याय–अन्यायको फैसला गर्नेहरुले यस्ता गम्भीर मुद्दाहरुलाई गहिराइमा जान नदिई बोक्रोमात्रै उप्काएर आफ्नो स्वार्थको खिचडी पकाउने प्रवृत्ति व्याप्त छ । यस्तै भीडले सामाजिक सञ्जालमा मात्रै होइन, न्याय सम्पादनमा पनि झिँजो सृजना गर्छ । यस्तै भीडले प्रहरीको अनुसन्धान बिथोलेर सत्यतथ्य छानबिनलाई अलमलमा पार्छ ।
भीडको चर्को हल्लालाई हेरेर अदालतले फैसला गर्ने होइन । तर, यस्तै भीडलाई लाग्छ कि सुप्रिम कोर्टभन्दा धेरै माथि छन् उनीहरु । उनीहरु नै फैसला गर्छन् सञ्जालमा । न्याय र अन्याय छ्टयाउने विवेक अदालतसँग होइन, यिनीहरुको बिग्रिएको मगजमा छ । मिरुना प्रकरणलाई पनि यस्तै भीडले दिग्भ्रमित गरिदियो ।
यसरी गम्भीर मुद्दाहरु भीडले गर्ने फैसलामा पुग्नु भनेको सही मान्छेको मौनता प्रमुख कारक हो अथवा हामीले जसलाई सही मान्छे भनिरहेका छौं, उनीहरुलाई सही देख्नु हाम्रो दृष्टिदोष हो । यस प्रकरणमा लामाको कार्ड फ्यालेर आफ्नो स्वार्थको छक्का दाउ हान्नेहरुको बिगबिगी पनि सामाजिक सञ्जालमै देखियो । यस प्रकरणमा मात्रै होइन, जति पनि सामाजिक सञ्जालमा आइपुगेका इस्युहरु छन्, त्यहाँ कार्ड फालेर आफ्नो दाउ हान्नेहरु छ्यापछ्याप्ती भेटिएकै हुन् । यो भेटिँदै जानेछन् । यिनीहरुलाई चिन्न सक्ने चेतना र विवेक भीडसँग हुन्थ्यो भने अवस्था अर्कै हुने थियो ।
अहिले मिरुना–लामा प्रकरणको किनारा लागेको छ । प्रहरीमा पुगिसकेको र मुद्दा चलिरहेको संवेदनशील विषयमा बाहिर सडकमा मिलापत्र गराइएको छ । सामाजिक सञ्जाल र सडकको माहोल र आफ्नो चलचित्र कबड्डी ४ लाई पर्न सक्ने नोक्सानीको दोहोरो दबाबका कारण मिरुना आरोपीसँग सम्झौता गर्न बाध्य भइन् । लामाले गल्ती स्वीकार्दै माफी मागेका छन् भने मिरुनाले पनि माफी दिएकी छन् ।
माफी दिनु आफैमा एउटा महानता हो । आरोपी व्यक्तिको हुलिया र बडी ल्याङ्वेज हेर्दा आपराधिक प्रवृत्तिको भन्दा पनि यौनकुण्ठाले ग्रस्तजस्तो देखिन्छन् । उनले आफूले गरेको गल्तीका लागि सबैका सामुन्ने कान समातेरै माफी मागेका थिए । एक थप्पड पनि खाए । यो पनि एउटा ठूलो सजाय हो । मिरुनाले उनलाई भाइ सम्झेर माफी दिएको बताएकी छन् । यद्यपि यो घटनामाथि जिल्ला प्रशासनमा मुद्दा भने यथावत छ । आरोपी युवाले तारेख त बोक्नैपर्छ । पीडित र पीडकले आपसी मेलमिलाप गर्दैमा प्रहरी प्रशासनले यस्ता संवेदनशील मुद्दाहरुलाई डिसमिस गर्न पक्कै मिल्दैन । आरोपीले गल्ती स्वीकारिसकेका छन् ।
जुन घटना मिरुनाले भोगिन्, धेरै महिला दिदीबहिनीहरुले दैनन्दिन भोग्दै आएका छन् । समाज जति आधुनिक र सुशिक्षित भएको भनिए पनि भीडभाडमा महिलाहरुले आफूलाई जोगाउन निकै सकस पर्ने गरेको छ । तर, यस्ता घटनामा सार्वजनिक रुपमा बोल्न लेख्न सहज छैन । सबैले मिरुनाजस्तो एक्सन लिइहाल्न सक्दैनन् । मिरुना र लामाबीच जसरी समझदारी भयो, त्यसले यस्तो खालको हिंसा भोग्ने महिलाहरुलाई थप निरुत्साहित तुल्याउला कि भन्ने चिन्ता उत्पन्न भएको छ ।