सुपारी तस्करीको धन्दामा ‘ब्रेक’ लगाउन अन्तःशुल्क चार गुणा वृद्धि

गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले एकाएक सुपारी आयातमा लाग्ने अन्तःशुल्क उच्च दरमा बढाएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन सुरु गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम रहेका वस्तुको अन्तःशुल्क दर बढाएको हो ।

जानकारहरुका अनुसार राजनीतिक नेतृत्व र व्यापारीको मिलेमतोमा सुपारी तस्करी धन्दा नेपालमा लामो समयदेखि स्थापित अवैध कारोबार हो । भारतमा नेपालमा सुपारी सस्तो हुँदा तेस्रो मुलुकबाट सुपारी आयात गरी अवैध बाटोबाट भारतीय बजारमा तस्करी हुँदै आएको छ ।

सुपारी आयातमा सरकारले कोटा दिनुपर्ने भएकाले त्यस्तो कोटा वितरणमा नाम चलेका देशभित्रका व्यवसायिक घराना र राजनीतिक नेतृत्वबीच ठूलो रकमको लेनदेन हुने गरेको ‘ओपन सेक्रेट’ जस्तै छ ।

भारतीय बजारभन्दा नेपाली बजारमा सुपारीको मूल्य सस्तो भएका कारण तस्करी मौलाएको भन्दै सरकारले यसपटकको बजेटमा सुपारीको आयातमा भन्सार दर झण्डै दोब्बरले बढाएको छ । यसअघि प्रतिकेजी २५ रुपैयाँ रहेको सुपारीको अन्तःशुल्क अब प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । भन्सार दर बढेपछि नेपालमा आयात हुने सुपारी महँगो भई भारतीय बजारकै हाराहारी पुग्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

भारतले नेपालबाहेकका मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट नेपाल ल्याएर नेपालबाट खुला सीमाको फाइदा उठाएर भारत तस्करी हुने गरेको छ ।

नमूना सुपारी खेती विकास संस्था झापाका अनुसार भारतमा तस्करी गर्नकै लागि हरेक वर्ष सुपारी नेपाल भित्राउने गरिएको छ । नेपालमा उत्पादन भएको सुपारी बिक्री नहुने अवस्था हुँदा पनि सुपारीको आयातमा ठूलो विदेशी मुद्रा बाहिरिने गरेको छ ।

भारत र नेपालमा सुपारीको मूल्यांकन प्रतिटन १ हजार ५ सय डलरभन्दा बढी अन्तर थियो । भारतले सुपारीमा भन्सार महसुल प्रतिकिलो १११ र जीएसटी २८ प्रतिशत तोकेको छ ।

नेपालले अहिलेसम्म भन्सार प्रतिकिलो ४५ रुपैयाँ र अन्तःशुल्क २५ रुपैयाँसहित १३ प्रतिशत भन्सार लिँदै आएको थियो । अब आयात गर्दा प्रतिकिलो सुपारीको लागत ७५ रुपैयाँ बढ्ने भएकाले तस्करहरु स्वतः निरुत्साहित हुने सरकारको अपेक्षा छ । अब नेपालमा एक केजी सुपारी आयात गर्न प्रतिकिलो १६३ रुपैयाँ राजस्व तिर्नुपर्ने अवस्था आएको छ ।

भारत र नेपालको सुपारीको मूल्य बराबर भएपछि अब तस्करी औचित्य नहुने अर्थ मन्त्रालयको दाबी छ । गुटखा लगायतका स्वदेशी उद्योगमा खपतका लागि भन्दै ल्याइने सुपारी अबैध मार्गबाट भारतीय बजारमा पुग्ने गरेको छ ।

यस्तै सरकारले केराउ र मरिचको अन्तःशुल्कसमेत बढाएको छ । केराउ र मरिच पनि अवैध बाटोबाट भारत तस्करी हुने मुख्य वस्तुमा पर्दछन् ।

 

मा प्रकाशित