नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।
बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताए ।
कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।
ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बताए ।
‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन । यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने ।
एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए ।
तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए । त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।