आस्था केसी @alive_aastha को नाममा ट्वीटरमा सक्रिय छिन्। गुल्मीको विशुखर्क (हालको चन्द्रकोट)–३ मा जन्मिएकी उनको घर गढवा–३ दाङमा हो। समाजसेवा, नयाँ ठाउँ घुमफिर गर्ने, नयाँ साथी बनाउने, पुस्तकहरु पढ्ने र लेख्ने कुरामा उनको रुचि छ। सामाजिक सञ्जालमा खासगरी मूलधारभन्दा नसमेटिएका मानिस, अल्पसंख्यक समुदाय र आवाजविहीनहरुका आवाज उठाउने उनी बताउँछिन्। कुनै बेला ‘माओवादी जनयुद्ध’ मा सहभागी भएकी आस्थासँग हामीले कुरा गरेका छौं।
कुन सामाजिक सञ्जालमा बढी सक्रिय हुनुहुन्छ?
फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, युट्युब, ब्लग, टिकटक सबै सञ्जालहरुमा एक्टिभ छु। ट्वीटर र फेसबुकमा बढी सक्रिय छु।
कति समय खर्च गर्नुहुन्छ?
फुर्सद हुँदा चलाउँछु। सामाजिक सञ्जालमा धेरै समय दिंदा अरु काममा बाधा अवश्य पुग्छ। सञ्जालमा सक्रिय हुँदा पढ्ने लेख्ने बानी कम भएको छ। यसलाई सुधार गर्दैछु।
के विषयमा लेख्नुहुन्छ खासगरी?
खासगरी मूलधारभन्दा नसमेटिएका मानिस, अल्पसंख्यक समुदाय र आवाजविहीनहरुका आवाज उठाउँछु। कति कुराहरु क्रान्तिकारी खालका हुन्छन्, जो सबैका लागि पाच्य हुँदैनन्। म माओवादी जनयुद्धमा संलग्न भएर आएको कारणले, म केही नयाँ गर्न खोज्छु। कुनै पनि विषयमा नयाँ शिराबाट आफ्ना कुराहरु राख्दछु। ६ वर्ष त मैले पूर्णकालीन भूमिगत जीवन व्यतीत गरेको अनुभव छ।
स्वभावैले म मेरो पार्टीका धारणाहरुमा आफ्ना धारणाहरु राखेर ट्वीट गर्छु। त्यसकारण मानिसहरुले मेरा ट्वीटका समर्थन वा विरोधमा प्रतिक्रिया जनाउनु स्वाभाविक हो। खुसी लाग्छ, ट्वीटर छिरेको ३ वर्षको छोटो अवधिमै मैले ५३ हजारभन्दा बढी फलोअर्स बनाउन सफल भएकी छु।
कस्तो बेला ट्विट बढी लेख्नुहुन्छ?
सामाजिक सञ्जालमा कुनै विषयवस्तुहरुको उठान या बहस भैरहेको समयमा, समसामयिक राजनीतिक सामाजिक घटनाक्रमको क्रममा, कहिले एकान्तमा बसिरहेको समयमा नयाँ विषयवस्तु दिमागमा उब्जिएको समयमा ट्विट बढी लेखिन्छ।
के कुराले नयाँ ट्विट लेख्न प्रेरित गर्छ?
सामाजिक परिवेश, राजनीतिक दलका गतिविधिहरु, नयाँ पुस्तक अध्ययन गरिसकेपछि मनमा उब्जिएका भावनाहरु, आमसञ्चारका माध्यमहरुबाट प्राप्त सूचना सामग्री माथिको आफ्नो विचार र धारणाहरु राख्ने कुराले नै नयाँ ट्वीट लेख्न प्रेरित हुन्छु।
कस्ता कमेन्टले रिस उठाउँछन्?
विषयवस्तुको गहिराइ विश्लेषण नगरी सतही रुपमा कमेन्ट राख्ने, पूर्वाग्रही सोंच राख्ने, हरेक कुरालाई त्यसको सही र गलत पक्ष नहेरी पार्टी र विचारका आधारमा प्रतिक्रिया दिनेजस्ता कमेन्टहरु देख्दा केहीमात्रामा रिस उठाउँछ।
नकारात्मक कमेन्टकै कारण सञ्जालबाट टाढिने अवस्था आएको छ कि छैन?
सुरु सुरुमा त यस्तो निकै नै हुन्थ्यो। तर आजभोलि सञ्जालमा अभ्यस्त भैसकेँ।
के विषयका ट्विट बढी मन पर्छ?
म आफैं पनि साहित्यप्रेमी भएको हुनाले साहित्यिक ट्वीटहरु मनपर्छ। त्यसैगरी समसामयिक राजनीतिक ट्वीटहरु मन पर्छ। घुमफिर पनि मनपर्ने भएको हुनाले नयाँ ठाउँका फोटासहितको जानकारी भएका ट्वीट मनपर्छ।
के विषयमा चाहिँ खासै ट्विट/स्टाटस लेखिएका छैनन् जस्तो लाग्छ?
हाम्रो समाजअनुसार समाजलाई आवश्यक जानकारीमूलक कुराहरु, समाज परिवर्तनका नयाँ र सिर्जनशील विषयवस्तुहरु, सफलताका कथाहरु, उदाहरणीय पात्रहरुका बारेमा थप ट्वीट लेख्न जरुरी छ।
कस्ता व्यक्तिलाई फलो गर्नुहुन्छ?
मूलतः बायो र ट्वीट हेरेर फलो गर्छु। बायो र ट्वीटमा मानिसका विचार र दृष्टिकोण अभिव्यक्त भएका हुन्छन्। विभिन्न भाषाका न्यूज पोर्टल, राजनीतिक नेता, पत्रकार, लेखक–विश्लेषकलाई बढीजसो फलो गर्छु।
वास्तविक नाम र छद्म नाममा ट्विटर चलाउनुको फरक के हो?
राजनीति वा समाजका अन्य विषयवस्तुहरुमा आफ्ना धारणाहरु राख्नका लागि वास्तविक आइडीले कुनै फरक पार्दैन। तर कतिपय पेशागत वा सामाजिक बाध्यताका कारणले मानिसहरुले आफूलाई मन परेको नाम (निक नेम) मा सामाजिक सञ्जालमा सक्रिय भएर आफ्ना विचारहरु राख्नु विल्कुल जायज मानिन्छ। तर झुठ (फेक) सँधै फेक हुन्छ। फेक इज अल्वेज फेक। कसैलाई फेक आइडी चलाउने आवश्यकता नै किन पर्छ? किनकि नियतमा नै खराबी हुन्छ। त्यस्तो गर्नु गलत हो।
गलत कुराहरु लेख्ने, अश्लीलताको खेती गर्ने, भ्रम फैलाउनेहरु सक्कली आइडीबाट आएका भए पनि वा नक्कली आइडीबाट आएका भए पनि ती गलतै हुन्। तिनीहरुलाई कानुनी कार्यवाहीको दायरामा लिनुपर्दछ।
जनमत निर्माणमा सामाजिक सञ्जालको कस्तो भूमिका हुन्छ?
जनमत निर्माणमा सामाजिक सञ्जालको निकै महत्वपूर्ण भूमिका रहन्छ। सामाजिक सञ्जालमा पनि एक भर्चुअल समाज छ। यहाँ एक अलग संसार छ। यो समाज थप सशक्त र प्रभावकारी छ।
आजको समय सूचना र प्रविधिको समय हो। आज प्रायःजसो मानिसको हातमा सूचनाको पहुँच छ। जसको हातमा स्मार्ट फोन अथवा आइफोन छ। जो इन्टरनेटको पहुँचमा छन्। ती चाहे युरोपमा हुन्, चाहे नेपालमा। ती सामाजिक सञ्जालको दुनियाँमा जोडिएका छन्। आज नेपालको हुम्ला या जुम्ला बस्ने मानिसले अनलाइनको माध्यमबाट युरोपको प्रभावकारी कम्पनीको काम गर्न सक्छ यदि उसँग त्यो काम गर्ने स्किल (क्षमता) छ भने। यो त सञ्जाल वा इन्टरनेट प्रयोगको सकारात्मक प्रभाव भयो नि हैन र!
हिजोआज समाजका धेरैजस्तो विषयवस्तु सामाजिक सञ्जालले तय गरिदिन्छ। राजनीति होस् या सामाजिक मुद्दा, कुनै पनि कुरामा सञ्जाल पक्ष वा विपक्षमा बाँडिन्छ। त्यहाँ प्रशस्त तर्क वितर्क हुन्छन्। जसले गर्दा कुनै पनि धारणा नभएका वा आफैं धारणा बनाउन नसक्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि त्यो मुद्दाका सकारात्मक र नकारात्मक पक्षहरु थाहा पाउँछन् र एउटा धारणा बनाउन सक्छन्। तर यसमा केही जोखिम हमेसा रहन्छ।
बहुसंख्यक मानिसहरुले कस्तो धारणा राखिरहेका छन् भनेर आम मानिसहरुले पनि बहुमतको पक्ष लिन सक्दछन् जुन आफैंमा राम्रो कुरा होइन। कहिलेकाहिँ असत्य कुरामा बहुमत भइरहेको हुन्छ र सत्य कुरा कतै हराइरहेको हुन्छ। त्यो अल्पमतमा हुन्छ र आम मानिसहरुले त्यहीँ गलत कुरालाई विश्वास गर्न बाध्य हुन्छन्। अचेल भाइरलको जमाना छ।
भाइरल मानिसहरुको बोलवाला छ। त्यतिमात्र होइन, पैसावाला र पावरवाला मानिसहरुले पावर र पैसाको बलमा आफ्ना विचारहरु भाइरल बनाइरहेका पनि छन्। उनीहरु सामाजिक सञ्जालका युजरहरु किन्दछन् अथवा मिडिया नै किन्दछन् र जबर्जस्त रुपमा आफ्ना विचारहरु थोपरिरहेका हुन्छन्। यस्तो अवस्थामा जनमत गलत तरिकाले अभिव्यक्त हुने खतरा पनि हुन्छ। हाम्रो जस्तो समाजमा यसको खतरा बढी छ।
त्यसो नहोस् भन्नका लागि सञ्जालका प्रयोगकर्ताहरु सतर्क हुन जरुरी हुन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि आउने त यहीँ सोसाइटीबाट नै हो। भर्चुअल संसार नै भए पनि आखिर बनाउने त मानिसले नै हो र हाम्रो समाज त अनेक विचार र वादमा विभाजित छ।
तसर्थ सामाजिक सञ्जालमा पनि हाम्रो समाजका अनेकथरी विचार र वादहरु देखिनु स्वाभाविक कुरा हो र पार्टीहरुले अथवा धर्मभिरुहरुले सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरुको प्रचार प्रसार गर्ने, आफ्नो पार्टीको पक्षमा जनमत निर्माण गर्ने गरी फेसबुक अथवा ट्वीटर अथवा टिकटकजस्ता प्लेटफर्मलाई प्रयोग गरेको देखिन्छ।
नेकपा एमालेले उसको पार्टीको पक्षमा टिकटक बनाउने केहीलाई एक लाख पुरस्कार घोषणा गरेको छ। अहिले टिकटक युवामाझ निकै नै लोकप्रिय सामाजिक सञ्जाल बन्न पुगेको छ। युवाहरुको यहीँ सेन्टिमेन्टलाई नेकपा एमाले जस्तो दोस्रो ठूलो दलले क्यास गर्न खोजेको देखिन्छ। तसर्थ यो ढुक्कसाथ भन्न सकिन्छ कि सामाजिक सञ्जालबाट जनमत निर्माणको कार्य निकै राम्रोसँग गर्न सकिन्छ।
सामाजिक सञ्जालमा उठाइएका विषयहरुको प्रभाव कस्तो हुन्छ?
सामाजिक सञ्जालमा कुरा उठेपछि सकारात्मक रुपमा नगण्य मात्रामा मात्र त्यसको प्रभाव देखिन्छ। जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन सकेको छैन।
फेक, विपरीत लिङ्गीको नाम राखेर ह्याण्डल चलाउनु कस्तो हो?
यो सरासर गलत हो।
महिलामाथि अनेक व्यङ्ग्य र टिप्पणी गर्ने चलनलाई कसरी लिनुहुन्छ?
पुरुषप्रधान सामाजिक चिन्तन हावी भएको समाजको कारणले महिलाप्रति हेर्ने दृष्टिकोण धेरैजसो नकारात्मक र व्यंग्यात्मक देखिन्छ। यस्तो अवस्थामा महिलाले राखेको विचार वा विषयवस्तु, ट्वीट सही छ भने त्यसको समर्थन गर्नलाई खुलेर राख्दछु र आवश्यकताअनुसार प्रतिवाद गर्न तयार हुन्छु। तर महिलाका सन्दर्भमा आउने अनावश्यक र अपाच्य विषयवस्तुलाई प्रतिक्रिया दिइरहन म आवश्यक ठान्दिन।
फलोअरहरुलाई के सन्देश दिन चाहनुहुन्छ?
मैले सामाजिक सञ्जालमा प्रेषण गरेका विषयवस्तुका सन्दर्भमा सही विश्लेषण गरी दिनुहुन अनुरोध गर्दछु। तपाईंहरुले पनि समय सान्दर्भिक सही विचारहरु प्रेषण गरिरहनुहोला भन्न चाहन्छु।
www.nepaltouch.com बाट साभार