महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार शमसेरसिंह लामा बिहीबार बिहान घरमै बसिरहेका थिए। उनी पाँच दिनअघि यो वडाका अध्यक्ष ‘निर्वाचित’ भएका थिए।
वडाध्यक्ष ‘निर्वाचित’ भएको पाँच दिनपछि, बिहीबार उनलाई फोन आयो- तपाईं उम्मेदवार भएको वडा नम्बर ८ को एउटा गन्न बाँकी रहेको मतपेटिका भेटियो।
पाँच दिनअघि नै विजयको खुसियाली मनाएका लामा अकमक्क परे।
माओवादी केन्द्रका लामाका अनुसार निर्वाचन सम्पन्न भएकै साँझ उनको वडाबाट सबै मतपेटिकाहरू संकलन गरी बर्दिवासको गणनास्थल पुर्याइएको थियो। लामा भने त्यो रात मतगणना सुरू हुँदैन भनेर कार्यकर्तासहित घर फर्किए। तर साढे १२ बजेतिर उनलाई ८ नम्बर वडाको गणना सुरू भएको भन्ने जानकारी आयो।
‘त्यो रात मतगणना सुरू हुँदैन भन्ने हाम्रो बुझाइ रह्यो र हामी घर गयौं। तर साढे १२ बजेतिर तपाईंको वार्डको मतगणना सुरू हुँदैछ भन्ने सूचना आएपछि डेढ बजे राति मतगणना स्थल आइपुग्यौं,’ लामाले गणतन्त्रसँग भने, ‘म भित्र छिर्दा दस वटा जति मत गनिसकिएको थियो।’
आफ्नो वार्डको मतगणना सुरू भएपछि लामाले त्यो रात गणनास्थलमै कटाए। भोलिपल्ट दिउँसो १ बजेतिर उनको वार्डको गणना सकियो र लामा ९ मतले विजयी भएको भनेर घोषणा गरियो।
लामाले ७५३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र लामाले ७४४ मत पाए।
विजयी भएको भन्ने घोषणा भएपछि लामा आफ्ना कार्यकर्तासहित गणनास्थलबाट विजय जुलुस लिएर घर गए।
बिहीबार भने एक्कासि लामालाई उनको वडाको थप एउटा मतपेटिका भेटियो भन्ने खबर आएको हो।
‘आजको बिहानसम्म हामी कसैलाई पनि सूचना आएको थिएन। तर आज नगरपालिकाकै मतगणनाको अन्तिम दिनमा एउटा मतपेटिका फाल्टो भेटियो भन्ने खबर आयो। पछि मतगणना गर्ने कर्मचारीले हेर्दा वडा नम्बर ८ को सरस्वती माध्यामिक विद्यालयको मतपेटिका भन्ने भयो,’ लामाले भने।
यो खबरपछि अहिले लामा फेरि बर्दिवास पुगेका छन्। उनले निर्वाचन कार्यालयले आफूलाई आधिकारिक जानकारी नगराए पनि पार्टीलाई जानकारी गराएको जनाए। उनले दिउँसो ३ बजे सर्वदलीय बैठक सुरू भएको उल्लेख गर्दै निर्वाचन कार्यालयबाट ठूलो लापारवाही भएको बताए।
‘निर्वाचन कार्यालयले यति ठूलो लापरवाही गर्न हुँदैन थियो। तर जनताको अभिमत नै गणना गर्न छुटेको हो भने स्वीकार्छौं। ८ नम्बर वडामा जम्मा २५६३ मत खसेको छ र यदि त्योभित्र भेटिएको मतपेटिकाको मत गणना गर्न छुटेको हो भने मान्छौं नत्र मान्दैनौं,’ लामाले भने।
समशेरसिंह यसअघिको निर्वाचनमा पनि वडाध्यक्ष विजयी भएका थिए।
यसबारेमा बुझ्न निर्वाचन अधिकृतलाई गणतन्त्रले बारम्बार फोन गरे पनि उठेन।