रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्नको मूल्य थप उकालो लाग्ने भएको छ । रुसले आज युक्रेनको उत्तरी राज्य ओडेसामा हाइपरसोनिक मिसाइलमार्फत आक्रमण गरेपछि विश्वबजारमा खाद्यान्नको मूल्य थप बढ्ने भएको हो ।
यी दुई मुलुकबीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै गहुँ, मकै र खाने तेलको मूल्य प्रभावित छ । जेपी मोर्गन कम्पनीका अनुसार युद्ध सुरु हुनु अघि यी दुई मुलुकले विश्वको कूल गहुँ निर्यातको २८ प्रतिशत हिस्सा ओगट्थे ।
यस्तै, युद्धअघि यी मुलुकले विश्व बजारमा कूल निर्यात हुने ६० प्रतिशत सूर्यमुखी तेलको हिस्सा समेत ओगट्ने गरेको अमेरिकी कम्पनी एसएण्डपी ग्लोबलले जनाएको छ तर दुई मुलुकबीचको युद्ध सुरु भएसँगै रुस र युक्रेनबाट हुने गहुँ र सूर्यमुखी निर्यात पूर्णरूपमा प्रभावित बनेको छ ।
यसैगरी, युक्रेनको समुन्द्री तटमा रुसले कब्जा जमाएको छ । फलस्वरूप युक्रेनको बन्दरगाहमा निर्यातका लागि पुगेको दसौँ लाख टन खाद्यान्न रोकिएका छन् । रुस र युक्रेनबाट हुने निर्यात युद्ध सुरु भएसँगै रोकिनु र कालासागरमा रहेका खाद्यान्न निर्यात नहुँदा विश्व बजारमा खाद्यान्नको मूल्य बढिरहेको छ ।
विश्व बैंकले गरेको प्रक्षेपणअनुसार रुस–युक्रेनबीचको युद्धले विश्व बजारमा खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढिसकेको छ । विश्व बैंकका अध्यक्ष डेभिड मल्पास बेलायती समाचार संस्था बीबीसीलाई बताएअनुसार यो महँगी दरले विश्वका १०औँ लाख मानिसलाई गरिबिको रेखामुनि धकेल्न सक्छ । ‘रुस–युक्रेनबीचको युद्धले बढेको महँगीबाट गरिब मानिसहरू थप प्रभावित बन्छन्,’ बैंकका अध्यक्ष मल्पास भन्छन्, ‘जसले खानामा थोरै रकम खर्च गरेर शिक्षामा खर्च गर्ने गरेका थिए ।
यस्तै, खाद्यान्नको महँगी बढ्दा आर्थिक सङ्कटमा फसेको श्रीलङ्कालाई झनै सङ्कट परेको छ । यसैगरी, अफ्रिकाको खाद्यान्न कार्यक्रमहरू थप महँगिनेछन् र ‘अकल्पनीय सङ्कट’ आउन सक्ने राष्ट्र संघले चेतावनी दिएको छ । यसका साथै, युक्रेनबाट आफ्नो देशमा गहुँ आयात गर्दै आएका मुलुकहरूमा समेत महँगी उकालो लागेको छ ।
इजिप्ट, इण्डोनेसिया, बंगलादेश, टर्की, येमन, फिलिपिन्स, मोरोक्को, ट्यूनिसिया, लिबिया र इथियोपियाले युक्रेनबाट सबैभन्दा बढी गहुँ आयात गर्दै आइरहेका थिए । यी मुलुकमध्ये इजिप्टले सबैभन्दा धेरै र इण्डोनेसिया दोस्रो स्थानमा थियो ।
रुस–युक्रेन युद्धको प्रभाव इण्डानेसियाबाट निर्यात हुने पाम तेलमा समेत परेको छ । युक्रेनमाथि रुसी हमला सुरु भएपछि त्यहाँबाट हुने सूर्यमुखी, भटमास र तोरीको तेलको निर्यात रोकिएको थियो । यससँगै, इण्डोनेसियाको आन्तरिक बजारमा खाने तेलको मूल्य एक वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । जसलाई नियन्त्रण गर्ने लक्ष्यसहित इण्डानेसियाका राष्ट्रपतिले पाम तेलको निकासी रोक्ने घोषणा गरिसकेका छन् ।
यससँगै, विश्व बजारमा खाने तेलको मूल्य थप बढ्ने देखिएको छ । यस्तै, पाम तेल प्रयोग गरेर बनाइने ‘जंक फूड’को मूल्य समेत बढ्ने बताइएको छ भने सौन्दर्यको सामाग्रीमा समेत मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ । भारतजस्तो विश्वको सबैभन्दा ठूलो पाम तेलको खपतकर्ता मुलुक यसबाट सबैभन्दा धेरै प्रभावित बन्नेछन् । यसैगरी, यही वर्ष दक्षिण अमेरिकामा परेको खडेरीका कारणले त्यहाँ उत्पादन हुने भटमास, सूर्यमुखी र तोरीको तेलको उत्पादन ह्वात्तै घटेको छ ।