अल्बर्ट पिन्टाेलाई आफु उपल्लाे वर्गका व्यक्तिहरु समान भएकाे भ्रम छ। ऊ आफ्नाे सहकर्मी मजदुरहरुसँग साेहीअनुसार व्यवहार गर्छ। उसले ‘आफु काे हुँ’ भन्ने कुरा बिर्सिएकाे छ। उसले आफ्नाे वर्गीय धरातललाई बिर्सिएकाे छ। ऊ आफ्नाे सहकर्मी मजदुर-मेकानिकहरुदेखि टाढै बस्छ। आफ्नी प्रेमिका स्टेल्लालाई पनि उनीहरुसँग नबाेल्न निर्दैशन दिन्छ। उसलाई मजदुरहरुले बारम्बार हड्ताल गरेकाे मन पर्दैन।
अल्बर्ट पिन्टाेकाे मानसिकता, उसकाे चरित्र र व्यवहारमा कसरी परिवर्तन आउँछ? कसरी उसले आफुलाई चिन्छ? कसरी उसले आफ्ना बन्धुहरुलाई चिन्छ? कसरी उसले आफ्नाे वर्गीय धरातललाई चिन्छ? कसरी उसले आफु र उपल्लाे वर्ग (मालिक वर्ग) बीचकाे भेदलाई बुझ्छ, कसरी उसले मजदुर र मिलमालिक बीचकाे द्वन्द्वलाई बुझ्छ, कसरी उसले हड्तालकाे पछाडिकाे चुराे कुराेलाई बुझ्छ अनि कसरी ऊभित्र आफ्नाे वर्ग र उसकाे सङ्घर्षप्रति ऐक्यबद्धता बलियाे हुँदै जान्छ? अल्बर्ट पिन्टाेभित्रकाे त्याे परिवर्तनलाई मिहिन ढंगले यस फिल्ममा रेखांकित गरिएकाे छ। यस फिल्मले खासमा मजदुर र मिल मालिक बीचकाे वर्गसङ्घर्षलाई रेखांकित गर्छ। याे वर्ग सङ्घर्षमा अल्बर्ट पिन्टाे जस्ता व्यक्तिहरु कुन बिन्दुमा छन् र उनीहरुले कुन हदसम्म फड्काे मार्नु जरुरी छ भन्ने कुरालाई रेखांकित गर्छ।
फिल्मकाे अन्तिम बीस मिनेट सर्वाधिक महत्वपूर्ण छ। अल्बर्टकाे फ्रस्टेशन र आक्राेशले कसरी अन्तत: वर्ग सङ्घर्षकाे सही दिशा भेट्टाउँछ, त्यसलाई यही अवधिमा रेखांकित गरिएकाे छ। यसक्रममा अल्बर्टले मजदुरहरुसँग गरेका साक्षात्कारका दृष्यहरु फिल्ममा महत्वपूर्ण छन् जसले अल्बर्टलाई मजदुरहरुकाे विचार, अवस्था, समस्या र माँगहरुका बारेमा बुझ्न सघाउँँछ। अल्बर्टले थाहा पाउँछ कि मजदुरहरु विविध जाति र क्षेत्रका छन्, तर एउटा वर्गकाे रुपमा उनीहरुका समस्याहरु एकै छन्, उनीहरुका विचार र इच्छा-आँकाक्षा एकै छन्, उनीहरुका आवश्यकता र माँगहरु पनि एकै छन्। अनि, उनीहरुकाे मुक्तिकाे बाटाे पनि एकै छ, वर्गसङ्घर्षकाे बाटाे। अर्थात् मजदुरहरुकाे समस्या विशुद्ध वर्गीय समस्या हाे र यहींनिर आएर अल्बर्टलाई ‘आफु पनि उनीहरुमध्ये कै एक हुँ’ भन्ने सत्यकाे बाेध हुन्छ।
फिल्मकाे न्यारेशन ठीक छ। दृष्टिकोण मार्क्सवादी छ। मार्क्सवादी दृष्टिकोणबाट फिल्मले कथाकाे बिषयवस्तुलाई विवेचना गर्ने प्रयत्न गरेकाे छ। फिल्मकाे सार छ, ‘मजदुरहरु विविध जात-जाति, भाषा, समुदाय, धर्म र क्षेत्रका छन् तर एउटा कारखानाकाे छानामुनि एकजुट भएर काम गर्ने मजदुरहरुका समस्याहरु भने उस्तै छन्, एकै छन्। उनीहरुसँग गतिलाे आवास छैन, झुपडीकाे बास छ, बिरामी हुँदा औषधी-उपचार छैन, चर्काे श्रम गर्नुपर्छ तर ज्याला न्युन छ। त्याे न्युन ज्यालाभित्र उनीहरुलाई आफ्ना आधारभूत आवश्यकताहरु नै पूरा गर्न धाै-धाै छ। उनीहरुलाई उनीहरुकाे मेहनतकाे उचित पारिश्रमिक दिइन्दैन। उनीहरुकाे श्रम शाेषण भइरहेकाे छ। हाड घाेटेर १०-१२ घण्टा काम गर्दा पनि उनीहरु एक जायज मानवीय जीवन समेत जिउन पाइरहेका छैनन् जसका उनीहरु हकदार हुन्।’
फिल्मका मुख्य चरित्रहरु अल्पसंख्यक हुनु यस फिल्मकाे अर्काे प्रमुख विशेषता हाे, समुदायका हिसाबले मात्र हैन चरित्रगत र सामाजिक हिसाबले पनि। यस फिल्मले भारतका अल्पसंख्यकहरुका एक हिस्सालाई चिन्ने र बुझ्ने प्रयत्न गर्छ। यहाँनिर ‘अल्पसंख्यक’ भन्नाले प्रचलित वा रुढ अर्थमा अल्पसंख्यक हाेइन, बरु आफ्नाे समाजमा आफ्नाे स्थान खाेज्न नसकेका कारण अल्पसंख्यक बन्न पुगेका पात्रहरु हुन्। उनीहरुद्वारा आफ्नाे अस्मिताकाे खाेजीकाे प्रश्न याे फिल्मकाे अर्काे प्रमुख सराेकार हाे।
अल्बर्ट पिन्टाेका गर्लफ्रेण्डका पिता अल्बर्टलाई भन्छन्, ‘याे देशमा उनीहरुकाे कुनै भविष्य छैन।’ उनी याे देश छाेडेर विदेशमा गएर बस्न चाहन्छन्। त्यही उनीहरुकाे भविष्य सुरक्षित हुने उनकाे धारणा छ। यसलाई अल्बर्ट पिन्टाेकाे गर्लफ्रेण्डकाे पिताकाे धारणा मात्र हाेइन, सिङ्गाे इसाई समुदायकै धारणा मान्न सकिन्छ। उसकाे गर्लफ्रेण्डका पिता इसाई समुदायका प्रतिनिधि पात्र हुन् तर अल्बर्ट यस विचारसँग सहमत हुँदैन कि उसकाे भविष्य भारतदेखि बाहिर कतै छ। अल्बर्टका अनुसार इसाई समुदायकाे समस्या पनि त्यही हाे जुन यस देशका अन्य समुदायकाे हाे र देशदेखि भागेर यसकाे समाधान भेट्टाउन सकिन्दैन। अल्बर्ट आफ्नाे इसाई समुदायकाे धारणासँग सहमत छैन। अर्थात्, ऊ आफ्नै समुदायभित्र नै अल्पसंख्यक छ।
अल्बर्ट आफुलाई जुन वर्गकाे समकक्ष ठान्छ, त्याे वर्गले उसलाई कहिल्यै आफ्नाे समकक्ष ठान्दैन। एकदिन जब ऊ एकजना साहुकाे छाेराकाे कार पुर्याउन साहुकाे बंगलामा जान्छ र साहुकाे छाेरा श्यामलाई बाहिरबाट बाेलाउँछ। साहुकी पत्नी ढाेका खाेलेर निस्किन्छे र साेध्छे कि उसलाई काेसँग भेट्नु छ? उसले साहुकाे छाेरा श्यामकाे नाम लिन्छ र आफुलाई श्यामकाे साथी बताउँछ। बदलामा साहुकी पत्नीले जुन भावभंगिमाका साथ ‘ए त्यसाे भए तिमी श्यामका साथी हाैं?’ भन्छे, त्यसमा अल्बर्ट श्यामकाे साथी भएकाेप्रति अविश्वासका साथै अल्बर्टप्रति हेयभाव पनि मिसिएकाे हुन्छ जसलाई अल्बर्टले पनि महसुस गर्छ। जब अल्बर्ट उनलाई कारकाे चाबी दिन खाेज्छ तब साहुकी पत्नी उसलाई त्याे चाबी नाेकरलाई दिन आदेश दिन्छे र अल्बर्टलाई पर्खिन संकेत गर्दै दस रुपैयाँकाे नाेट झिकेर दिन्छे। तब अल्बर्ट छाँगादेखि खसेजस्तै हुन्छ। अर्थात्, अल्बर्टलाई महसुस हुन्छ कि ऊ तिनीहरुकाे साेसाइटीकाे सदस्य हाेइन, उसकाे र तिनीहरूकाे हैसियत एउटै वा उस्तै हाेइन। ऊप्रति तिनीहरुमा कुनै सम्मानभाव छैन। तिनीहरुकाे साेसाइटीमा उसकाे स्थान एक आउटसाइडरकाे हाे, एक अल्पसंख्यककाे हाे।
अल्बर्ट पिन्टाेकाे भाइ डाेमिनिक पिन्टाे पनि अल्बर्टसँग एकै परिवारमा जन्मिनु-हुर्किनुका बावजूद आफ्नै परिवेशमा अल्पसंख्यक छ र परिवारभित्रै उपेक्षित महसुस गर्छ। ऊ आफ्नाे अलग साेचका कारण आफ्नाे पिता, भाइ र परिवारदेखि टाढिन्दै गइरहेकाे छ। अल्बर्टकी बहिनी जाेअन पनि अपाङ्गता र अलग साेचका कारण आफुलाई अरुहरुभन्दा अलग ठान्छिन्। उनी पनि आफुलाई अरुहरुकाे दुनियाँमा अनफिट, उपेक्षित र अल्पसंख्यक ठान्छिन्।
अल्बर्ट पिन्टाेकाे चरित्र मार्फत् निर्दैशक सइद अख़्तर मिर्ज़ाले भारतका अल्पसंख्यकहरुलाई सम्बाेधन गर्ने काेशिश गरेका छन्। एक साधारण विचार भएकाे युवक, जाे धेरै गहिरिएर साेच्दैन, ऊ एक गम्भीर विचार भएकाे युवकमा परिणत हुन्छ। याे १८० डिग्रीकाे मानसिक परिवर्तन पछाडिकाे कारण र साे युवककाे मानसिक परिवर्तनअघि र परिवर्तनपछिकाे उसकाे मनाेदशाकाे चित्रण नै याे फिल्मकाे मूल कुरा हाे।
गहिरिएर हेर्दा याे फिल्म ‘इस्यु बेस्ड’ (Issue based) भन्दा पनि ‘मनाेवैज्ञानिक’ (psychological) बढी लाग्छ। यस फिल्मले खासगरि त्याे स्थानियताभित्र त्याे युगमा बाँचिरहेका निम्न-मध्यमवर्गीय आउटसाइडर वा अल्पसंख्यक समुदायका विविध पात्र वा चरित्रहरुकाे चित्रण गर्दछ।
अविस्मरणीय संवाद :-
पहिलाे,
पिता:- के सेभ गर्नु जरुरी छ?
छाेरी:- जाे हड्तालमा छन्, ऊ सफा देखिनुपर्छ।
पिता:- किन?
छाेरी:- किनभने ऊ यस्ताे देखिनुहुँदैन कि ऊ हारेकाे हाेस्।
दाेस्राे,
पिता:- ‘मैले २८ बर्ष मिलमेशिनमा काम गरे। ती मेशिनहरुकाे आवाज मेराे दिमागभित्र घुस्याे। २८ बर्षसम्म मैले धक्का खाए। बाँच्न गाह्राे भयाे तर पनि चुप लागे। थाहा छैन किन चुप रहे…परिवारलाई हेर्नु थियाे। छाेराछाेरीलाई हुर्काउनु थियाे। हुन सक्छ, यसकारण मुख बन्द गरे। काम गरिरहे। के के (ज्यादती) भएन हामीमाथि? सम्मानका साथ बाँच्न पाइएन तर पनि चुप लागे। के थाहा? शायद म नै काँतर थिए। हाम्रा साना-साना माँगहरु पूरा गर्न मालिकहरु तयार छैनन्। अब २८ बर्षपछि मैले आवाज उठाएकाे छु, धेरै समयपछि। अब म पछि हट्दिन। याे हड्तालबाट के पाइन्छ, मलाई थाहा छैन तर मैले एकथाेक निश्चय गरेकाे छु, मलाई लड्नु छ।’
अविस्मरणीय प्रसङ्ग :- अल्बर्टकाे पिताकाे कन्फेस्सन, अल्बर्टकाे मजदुरहरुसँगकाे साक्षात्कार र अन्तिमकाे मशाल जुलुस।