दक्षिण भारतमा दलित सिनेमाकाे लहर

लेख

प्रभाष

पछिल्लो एक दशकदेखि दक्षिण भारतीय सिने इंडष्ट्रीमा एकखाले सिनेमाहरुकाे लहर चलिरहेकाे छ। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरुका हक-अधिकार, आत्मसम्मान, गरिमा र सामाजिक न्यायका मुद्दाहरुलाई प्रखरताका साथ उठान गरिएका सिनेमाहरुकाे लहर। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरुका दुरावस्था र दु:खकष्टहरु, उनीहरुमाथि भइरहेका अन्याय, अत्याचार, विभेद, दमन तथा उत्पीडनहरुलाई देखाइएका र त्यसका विरुद्ध उनीहरुले गरेका प्रतिराेध, लडाइँ र सङ्घर्षका कथाहरुलाई चित्रित गरिएका सिनेमाहरुकाे लहर। सँक्षेपमा, दलित सिनेमाकाे लहर। पछिल्लाे एक दशकमा याे ‘दलित न्यू वेभ सिनेमा’ ले कैयौं बिस्फोटक प्रस्तुतिहरु दिएका छन्। पा. रञ्जित, भेट्रिमारन, मारि सेल्वाराज, सूर्या शिवकुमार, शेखर कम्मुला, बुची बाबु सना आदि फिल्ममेकरहरु यस दलित न्यू वेभ सिनेमाका प्रमुख आर्किटेक्टहरुका रुपमा देखा परेका छन्। खासगरि, पा. रञ्जितले यस दलित न्यू वेभ सिनेमाकाे सुरुवात गरेका हुन्।  दक्षिण भारतका यी दलित न्यू वेभ सिनेमाहरुले सिनेमाका प्रचलित सँरचना र सुत्रहरुलाई तोडेका छन् र समाजकाे यथार्थलाई बढी तीक्ष्णताका साथ उजागर गरेका छन्। यी सिनेमाहरु विशेष गरि जाति, जातिय विभेद, सँरचनात्मक विभेद, शोषण तथा उत्पीडनका प्रश्नहरुसँग जुधेका छन्। दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरुका सामाजिक सङ्घर्ष, राज्यमा उनीहरुकाे अवस्था, आर्थिक गतिशीललता र सशक्तीकरणका प्रश्नहरुलाई छेडेका छन्।

 

याे दलित न्यू वेभ सिनेमाका आफ्नै बिशेषताहरु छन्। यहाँ दलित, आदिवासी, सीमान्तीकृत, उत्पीडित, बहिष्कृत तथा पिछडा वर्ग, जाति तथा समुदायहरु नै नायक छन्। यहाँ उनीहरुका उद्धारका लागि कुनै सवर्ण रक्षक वा उद्दारक आउँदैनन्। यहाँ उनीहरु आफ्नाे लडाइँ आफै लड्छन्। उनीहरु निसन्देह गरिब छन्, उत्पीडित छन्, शाेषित छन्, राज्यबाट पाखा पारिएका छन्, अन्याय, अत्याचार र विभेदमा परेका छन् तर त्यसकाे अर्थ उनीहरु कमजाेर, असहाय र निमुखा छन् भन्ने हाेइन। १९८० काे दशकका हिन्दी न्यू वेभ वा आर्टहाउस सिनेमाका दलित पात्रहरु जस्ताे उनीहरु त्यतिसाह्राे कमजाेर, निमुखा र असहाय छैनन्। हाे, उनीहरु समाजकाे पीँधमा छन् र चरम उत्पीडनमा परेका छन् तर उनीहरुसँग उत्पीडनकाे प्रतिराेध गर्ने साहस र सामर्थ्य पनि छ र उनीहरु उत्पीडनकाे प्रतिराेध गरिरहेका छन्। आफुहरुमाथि भइरहेका अन्यायका विरुद्ध न्यायका लागि लडिरहेका छन्।

 

सेंगिनी उर्फ लिजाेमल जाेसे

‘जय भिम’ का सेंगिनी, ‘काला’ का काला करिकालन, ‘असुरन’ का शिवासामी, ‘कर्णन’ का कर्णनहरुले समाजकाे पीँधमा परेका जाति वा समुदायका भएकै कारण सवर्ण-प्रभुत्वशालीहरुकाे चरम अन्याय सहनुपर्छ तर उनीहरु कमजाेर पक्कै हुँदैनन्। उनीहरु ‘फाइट ब्याक’ गर्छन् र न्याय खाेज्दै आफुहरुमाथि भएकाे अन्यायकाे विरुद्ध लड्छन्। हाे, ‘जय भिम’ मा वकिल चन्द्रु सेंगिनीकाे पक्षमा वकिलकाे हैसियतले अदालतमा मुद्दा अवश्य लड्छ तर अल्टिमेट्ली न्यायकाे त्याे लडाइँ त सेंगिनीकै हुन्छ।_

सबैभन्दा महत्त्वपूर्ण कुरा त वैचारिक रुपमा यस ‘दलित न्यू वेभ सिनेमाहरु’ मा कार्ल मार्क्स, अम्बेडकर र पेरियार विचारधाराकाे प्रभाव छ। अम्बेडकर, कार्ल मार्क्स र बुद्धका प्रतिमाहरुलाई बिम्बकाे रुपमा प्रयाेग गरिएकाे छ। हुन त पहिले पनि हिन्दी र बाँग्लामा जातिवादविराेधी सिनेमाहरु नबनेका हाेइनन्, तर तिनीहरुकाे विचारभूमि सीमित थियाे। ती सिनेमाहरुमा मुख्यत: गान्धीवादी विचारधारा र नेहरुकाे समाजवादी दृष्टिकोणकाे फ्रेमभित्रबाट जातिय उत्पीडनकाे समस्यालाई हेरिएकाे हुन्थ्याे तर आजका दलित सिनेमाहरुमा अम्बेडकर र पेरियारकाे विचारभूमिबाट जातिय उत्पीडनकाे समस्यालाई हेरिएकाे हुन्छ। त्यसबेला माथिबाट जातिय समस्यालाई हेरिन्थ्याे भने अहिले तल (भुइँ) बाट जातिय समस्यालाई हेरिन्दैछ। पहिलेेकाे र अहिलेकाे दलित सिनेमाबीचकाे आधारभूत भिन्नता सम्भवतः यही हाे, दुवैका बीच ‘अप्राेच’ काे भिन्नता छ।

 

‘काला’ काे पाेस्टर

तामिल सिने इंडष्ट्रीमा त यस दलित न्यू वेभ सिनेमाहरुले जबर्दस्त हलचल मच्चाएका छन्। तेलुगु सिने इंडष्ट्रीमा याे दलित न्यू वेभ सिनेमाकाे घनत्व बढ्दै गइरहेकाे छ भने मलायलममा पनि यस प्रकारका सिनेमाहरुले बलियाे उपस्थिति दर्शाएका छन्। तर बलिउड अर्थात् हिन्दी सिने इंडष्ट्रीमा भने यस प्रकारकाे सिनेमाकाे अस्तित्व शून्य बराबर रहेकाे छ। यदाकदा बीसाैं बर्षपछि बलिउडमा ‘न्युटन’ वा ‘मसान’ जस्ता अपवाद नदेखिएका हाेइनन् तर त्याे मरुभूमिमा एक लाेटा पानी वा हात्तीकाे मुखमा जीरा सरह हुने गरेकाे छ। भनिन्छ, बलिउडमा याे दलित न्यू वेभ सिनेमाकाे मार्केट छैन, यहाँ यसका दर्शकहरु छैनन् जबकि उहीँ प्रकारका सिनेमाहरुले तामिलनाडु, केरला र अन्य दक्षिण भारतीय प्रान्तहरुमा राम्राे सफलता पाइरहेका छन्। ती फिल्महरु बजारमा बिकिरहेका छन्, चलिरहेका छन् र दर्शकहरु पनि पाइरहेका छन्। 

 

सिङ्गाे भारत देशकाे आर्थिक, सामाजिक र राजनीतिक परिस्थिति तथा सामाजिक शक्ति सन्तुलन उस्तै-उस्तै छन् भने त्यस्ताे के कारण छ कि दलित न्यू वेभ सिनेमाहरु बलिउडमा बनिरहेका छैनन्? के कारण छ कि मुम्बई, दिल्ली र अन्य हिन्दीभाषी क्षेत्रहरुमा यस्ता सिनेमाहरु चलिरहेका छैनन्? याे एउटा गम्भीर बहसकाे बिषय हाे। यस आलेखमा दलित न्यू वेभ सिनेमाहरु दक्षिण भारतमा मात्र किन उदय भइरहेकाे छ, मुम्बई वा बलिउडमा किन उदय भइरहेकाे छैन जबकि जातिव्यवस्था, जातिय हाईरार्की, जातिय छुवाछूत र भेदभाव भारतभरि सबैतिर कमबेसी उस्तै हाे। यस्ताेमा किन बलिउडमा बनिरहेका छैनन् त दलित सिनेमाहरु? दक्षिण भारतमा मात्र किन यसकाे उभार चलिरहेकाे छ त? यसबारे यस आलेखमा माेटामाेटी विवेचना गर्ने प्रयास गरेकाे छु।

 

ई.भी.आर.रामासामी पेरियर

पहिलाे कारण, अहिलेकाे दलित सिनेमाकाे न्यू वेभकाे उद्गमस्थल मद्रास प्रेसिडेन्सी हाे (मद्रास प्रेसिडेन्सी भनेकाे तमिलनाडु मात्र हाेइन, सिङ्गाे दक्षिण भारत हाे। पहिले सिङ्गाे दक्षिण भारत एउटै राज्य थियाे जसलाई मद्रास प्रेसिडेन्सी भनिन्थ्याे।) मद्रास प्रेसिडेन्सी सामाजिक आन्दोलनहरुकाे भूमि हाे। यहाँ जातिवादविराेधी, सामाजिक न्यायकाे आन्दोलनकाे पुरानाे इतिहास छ। याे आन्दोलन स्वाधीनताभन्दा पनि ५० बर्ष पुरानाे हाे। मद्रास प्रेसिडेन्सी भनेकाे पेरियरकाे भूमि हाे। याे भूमिमा ई.भी.आर.रामासामी ‘पेरियर’ ले लामाे जातिवादविराेधी ऐतिहासिक-सामाजिक-राजनीतिक आन्दाेलन चलाएका थिए जसले सामाजिक-राजनीतिक क्षेत्रमा परिवर्तन ल्याएकाे थियाे। यस आन्दोलनले जातिवादकाे जरालाई काट्ने काम गरेकाे थियाे। पेरियरहरुकाे लामाे जातिवादविराेधी आन्दाेलनले समाजमा जातिय छुवाछूत तथा भेदभावविरुद्ध बलियाे सामाजिक चेतनाकाे सञ्चार गरेकाे थियाे र जातिय समानताकाे न्यारेटिभलाई समाजमा बलियाेगरि स्थापित गरेकाे थियाे। यही आन्दोलनले राजनीतिक रुपमा तमिलनाडुकाे राजनीतिमा दुईवटा आदिवासी पार्टीहरु ‘द्रमुक’ (DMK) र ‘अन्नाद्रमुक’ (AIADMK) लाई स्थापित गरेकाे थियाे। सामाजिक रुपमा तामिलनाडुकाे बासिन्दाहरुकाे नामकाे पछाडिबाट जातिकाे नाम हटाउने र त्यसकाे ठाउँमा उनकाे गाउँ, कस्बा वा मातृभूमिकाे नाम लेख्ने प्रचलनलाई स्थापित गरेकाे थियाे। दलित तथा आदिवासीहरुकाे सामाजिक तथा राजनीतिक सम्मिलिकरणकाे लागि मार्गप्रशस्त गरेकाे थियाे। त्यसैले, पेरियरलाई भारतकाे सन्दर्भमा सामाजिक न्यायकाे जनक र मद्रास प्रेसिडेन्सीलाई सामाजिक न्यायकाे भूमि वा उद्गमस्थल पनि भन्ने गरिन्छ। मद्रासकाे भूमिमा ई.भी.आर रामासामी ‘पेरियर’ सामाजिक-राजनीतिक आन्दोलनहरुकाे रँगमञ्चमा उदाउनुभन्दा पहिले नै मद्रास प्रेसिडेन्सीमा उत्पीडित-बहिष्कृत जाति तथा महिलाहरुका लागि आरक्षण लागू भइसकेकाे थियाे। माथि नै भनियाे, यहाँ सामाजिक न्यायकाे आन्दोलनकाे इतिहास भारतकाे स्वाधीनताभन्दा पनि ५० बर्ष पुरानाे छ।

 

भन्नुकाे अर्थ तमिलनाडु सहित दक्षिण भारतमा जातिवादविराेधी सिनेमाहरुका लागि पहिले नै धरातल बनिसकेकाे थियाे। अर्थात्, पिच पहिले नै तयार भइसकेकाे थियाे। त्याे पिचमा ब्याटिङ गर्न मात्र बाँकी थियाे। ब्याटिङ गर्न सुरु गरे म्याच हेर्न आउने दर्शकहरुकाे कमि हुने कुरै थिएन किनभने त्यहाँका मानिसहरु वैचारिक र साँस्कृतिक रुपमा जातिवादविराेधी विचारधारासँग अनुकुलन भइसकेका थिए। जातिवादविराेध र सामाजिक न्यायकाे विचारधारा त्यहाँकाे सँस्कृतिकाे अभिन्न अँग भइसकेकाे थियाे। जब कुन‌ै विचारलाई ‘एक्सप्लाेर’ गर्नकाे लागि समाजमा उर्वर वातावरण हुन्छ। उक्त विचार समाजकाे जरैसम्म पहिल्यै फैलिसकेकाे हुन्छ तब सिनेकर्मीहरुलाई त्यस विचारलाई सिनेमामा सामेल गर्न कुनै डर हुँदैन। जातिवादविरोधी फिल्महरुकाे न्यू वेभ आउनुभन्दा पहिले पनि तमिल फिल्महरुका नायकहरु सामान्यतया गैर-ब्राह्मण नै हुन्थे। त्यसकारण, जातिवादविरोधी फिल्महरु बनाउनु तमिलनाडु र दक्षिण भारतमा गाह्राे थिएन/छैन।

भेट्रिमारन

अब यहाँ प्रश्न उठ्न सक्छ कि यदि त्यसाे हाे भने यसअघि चै किन त्यहाँ यस्ता जातिवादविराेधी, दलित सिनेमाहरु बनेनन् त? किन तमिल वा दक्षिण भारतीय सिनेमाहरुमा दलित नायकहरु देखिएनन् त? किन सिनेमाले लामाे समयसम्म सवर्ण कल्चरलाई बाेकिरह्याे त?

 

यसकाे उत्तरमा के भन्न सकिन्छ भने सिनेकर्मीहरुले त्यसबेला रिस्क लिन चाहेनन्। जे, जस्ताे, जसरी चलिरहेकाे छ, त्यसलाई त्यसरी नै चल्न दिइरहे। त्याे बनिसकेको सिस्टम-इकाेसिस्टममा छेडछाड गर्न चाहेनन् किनभने त्यसबाट कमाई राम्रो भइरहेको थियाे। त्यसबेला सिनेमाले सामाजिक-राजनीतिक विचारधारालाई पनि बाेक्न सक्छ, सिनेमा वैचारिक लडाइँ र समाज परिवर्तनकाे सङ्घर्षमा एउटा बलियाे हतियार पनि बन्न सक्छ भन्ने चेतना मूलधारका सिनेकर्मीहरुमा थिएन। त्यसैले, समाजकाे अन्तर्विराेध, द्वन्द्ध, वर्गसङ्घर्ष, जातिसङ्घर्ष, वैचारिक सङ्घर्ष, सामाजिक शक्ति सन्तुलन, समाजमा कुन शक्ति वा विचारधाराकाे वर्चस्व छ र कुन-कुन शक्ति र विचारधाराकाे आपसमा टकराव छ भन्ने जस्ता महत्वपूर्ण कुराहरु त्यसबेलाका सिनेमाहरुमा छुटे।_

 

‘कर्णन’काे पाेस्टर

तर, जातिवादविराेधी भावना र सामाजिक न्यायकाे मान्यताले समाजमा बलियाे गरि जरा गाडिबसेकाे छँदै थियाे। त्यसलाई एक्सप्लाेर मात्र गरिएकाे थिएन। पछिल्लो समयमा सिनेकर्मीहरुकाे जुन नयाँ ब्रिड वा नयाँ पुस्ता आयाे, त्यसले यी मुद्दाहरुलाई सिनेमाहरुमा एक्सप्लाेर गर्ने साहस गर्‍याे। त्याे पनि मूलधारका सिनेमाहरुमा। ‘असुरन’, ‘कर्णन’, ‘कबाली’, ‘काला’, ‘मद्रास’, ‘जय भीम’, ‘परीेयेरुम पेरुमल’, ‘सरपट्टा परमबराई’ जस्ता सिनेमाहरु कुनै आर्ट्स सिनेमा हाेईनन्, कमर्शियल सिनेमाहरु हुन्। मूलधारका सिनेमाहरु हुन्। यी सिनेमाहरु इंटरटेनमेन्ट भ्यालुमा अन्य मूलधारका सिनेमाहरुभन्दा कुनै पनि काेणबाट कम छैनन्। यी सिनेमाहरुमा स्टारहरु छन्, मास अपिलिङ सिनहरु छन्, धूमधडाका, एक्शन, डायलगबाजीहरु सबै छन्। यी सिनेमाहरुले मनाेरन्जनका साथ-साथै सामाजिक सन्देशलाई पनि पस्किने, मसालाहरुका साथ-साथ वैचारिकताकाे पनि डाेज दिने बाटाेलाई समातेका छन्।

 

तामिल सिनेमाहरुसँग जुन सामाजिक धरातल छ, बलिउड सिनेमाहरुसँग त्याे सामाजिक धरातल छैन। यहाँ जातिवादविराेधी सिनेमाहरुका लागि कुनै जमिन नै छैन। बलिउड सिनेमाहरुका सबैभन्दा ठूलाे बजार मुम्बई, दिल्ली र उत्तर प्रदेश वा उत्तर भारतमा त्यस्ताे जातिवादविराेधी बलियाे र प्रभावकारी सामाजिक आन्दोलनकाे ईतिहास छैन।

 

दाेस्राे कारण हाे, भारतमा जातिहरुकाे बदलिन्दाे अवस्था। उदारिकरण र पुँजीवादीकरण लागू भएसँगै यसले भारतमा दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुलाई आर्थिक उत्थानकाे निम्ति प्रशस्त अवसरहरु उपलब्ध गरायाे। शिक्षाकाे चेतनाकाे विस्तार भयाे। ठूलाे परिमाणमा विधालय र विश्वविधालयहरु खुले र सबैकाे पहुँचमा पुगे। सबैमा ‘पढ्नुपर्छ र पढाउनुपर्छ’ भन्ने चेतनाकाे विकास भयाे। अर्काेतिर, समानान्तर रुपमा आर्थिक गतिविधिहरु पनि बढ्न थाल्याे। आर्थिक क्षेत्रमा निजी क्षेत्रकाे प्रवेश, निजी पुँजी, प्रविधि र निवेशकर्ताहरुकाे प्रवेशसँगै आर्थिक गतिविधिहरु पनि बढ्न थाल्याे जसले अर्थतन्त्रका नदेखिएका, नछाेईएका क्षेत्रहरुलाई पनि एक्प्लाेर गर्दै लग्याे। फलस्वरूप, आर्थिक उपार्जनका क्षेत्रहरु विस्तार हुँदै गए। यसले अर्थतन्त्रकाे दायरालाई फैलाउँदै लग्याे र पहिलेभन्दा बढी आर्थिक उपार्जनका अवसरहरु सिर्जना गर्दै गयाे जसबाट ठूलाे सँख्यामा रहेका दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुले लाभ लिए। 

 

शिक्षा र भूमण्डलीकरणको परिवेशले उनीहरुमा आर्थिक गतिशीलताकाे चेतना राेप्याे। ‘पैसा कमाउनुपर्छ’ भन्ने साेचले उनीहरुलाई घच्घच्यायाे। फलत: उनीहरु आर्थिक उपार्जनका क्रियाकलापहरुमा सँलग्न भए। राेजगार, जागिर र व्यापारहरु गर्न थाले। साथै, सरकारले पनि आरक्षण तथा स्वराेजगारका लागि बिनाधिताे कर्जा, दलित-आदिवासी-उत्पीडित-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुलाई उधम सुरु गर्न सरकारले अनुदान दिने वा लगानी लगाईदिने जस्ता आर्थिक सशक्तीकरणका तमाम प्रक्रियाहरुका माध्यमबाट भारतका करोडाैं दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुका मानिसहरुलाई मध्यमवर्गमा उकाले। यसरी, ठूलाे सँख्यामा दलित-आदिवासी-बहिष्कृत-पिछडाहरुकाे शहरी मध्यमवर्ग समाजमा उदायाे जसले सिने क्षेत्रमा के प्रभाव पार्‍याे भने दलित सिनेमाहरुकाे लागि दर्शकहरुकाे एउटा बलियाे समुह निर्माण गर्‍याे। दर्शकहरुमात्र हाेईन, फिल्ममेकरहरुकाे एउटा नयाँ समुहलाई पनि यसले जन्म दियाे। आजका साउथका दलित न्यू वेभ सिनेमाका सबै फिल्ममेकरहरु एससी (सेड्युल्ड कास्ट्स), एसटी (सेड्युल्ड ट्राईब्स) वा ओबीसी (अदर ब्याकवर्ड क्लास) समुदायहरुबाट आएका छन्। अर्थात्, दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्गबाट आएका छन्। (उदाहरणका लागि पा.रंजित र मारी सेल्वाराज दलित हुन्। भेट्रिमारन ओबिसी हुन्।) परिणाम, उनीहरुका फिल्महरुकाे दृष्टिकोण अलग भएकाे छ। किनभने, उनीहरु समाजलाई तलबाट, आफ्नाे धरातलबाट हेरिरहेका छन् जबकि हिन्दी र बांग्लाका फिल्ममेकरहरु समाजलाई माथिबाट हेरिरहेका थिए।

भेट्रिमारन

 

दलित-आदिवासी-बहिष्कृत-पिछडाहरुकाे याे समूहले दलित सिनेमाहरुका लागि आवश्यक दर्शकहरुकाे खाँचाेलाई पूर्ति गरिदियाे। याे समूह ठूलाे आकारमा थियाे र दलित सिनेमाहरुलाई ईन्जाेय र सेलिब्रेट गर्थ्याे। दलित सिनेमाहरुलाई बचाईराख्न उनीहरुकाे याे सँख्या काफी थियाे। अहिले याे समूह वा वर्ग यति ठूलाे भएकाे कि उनीहरुका मुद्दाहरुमाथि बन्ने सिनेमाहरुलाई दर्शकहरुकाे कमि नै हुदैन। 

 

अझ मद्रास प्रेसिडेन्सी (दक्षिण भारत) मा त आरक्षण सबैभन्दा पहिले लागू भएकाे थियाे। तसर्थ, स्वाभाविक रुपमा एससी, एसटी र ओबिसी मध्यमवर्गहरु भारतकाे बाँकी राज्यहरुभन्दा मद्रास प्रेसिडेन्सीमा अधिक हुने नै भयाे। तसर्थ, तामिलनाडुमा दलित सिनेमाहरुकाे निर्माण गर्नकाे लागि मलिलाे सामाजिक धरातल र त्यसलाई बचाईराख्नका लागि आवश्यक दर्शकहरु उपलब्ध थिए। 

मारी सेल्वाराज र धनुष, ‘कर्णन’काे छायांकनकाे क्रममा

यसरी उदाएकाे दलित-उत्पीडितहरुकाे याे शहरी मध्यमवर्ग नै आज दक्षिण भारतकाे न्यू वेभ सिनेमाकाे केन्द्रमा आईपुगेकाे छ। याे वर्ग दलित न्यू वेभ सिनेमाहरुका मुख्य पात्र बनेकाे छ तर, बलिउड सिनेमाहरुमा याे सिँगाे वर्ग अनुपस्थित छ। हिन्दी फिल्ममेकरहरु समाजमा उदित याे नयाँ वर्गलाई देखिरहेका छैनन् वा जानीजानी नै यसलाई अनदेखा गरिरहेका छन्। 

 

कुनै पनि प्रकारकाे सिनेमा निर्माण गर्नका लागि त्याे सिनेमा सुहाउँदो सामाजिक वातावरण वा दर्शकहरु हुनु जरुरी छ। जुन वातावरण दलित सिनेमाहरुका लागि तामिलनाडु र मद्रास प्रेसिडेन्सीमा छ। तर, यसकाे ठीक विपरीत उत्तर भारतीय राज्यहरुमा दलित-आदिवासी-बहिष्कृत-पिछडाहरुकाे मध्यमवर्ग अपेक्षाकृत सानाे छ। विशेष गरेर प्रवासी भारतीयहरुमा याे वर्ग सानाे छ। यसकाे दुष्परिणाम याे भयाे कि उत्तर भारतमा दलित सिनेमाहरुका लागि उर्वर वातावरण बन्न सकेन र आवश्यक दर्शकहरु पनि जुट्न सकेन।

 

रजनीकाँत

तेस्राे कारण हाे, दक्षिण भारतकाे सिनेकल्चर र स्टारडम। दक्षिण भारतमा भारतकाे अन्य भागहरुकाे तुलनामा बलियाे सिनेकल्चर छ। यहाँका बासिन्दाहरुकाे राैं-राैंमा सिनेमा छ, नशा-नशामा सिनेमा छ। यसका बासिन्दाहरु सिनेमा हेर्दैनन्, सिनेमालाई सेलिब्रेट गर्छन्। यहाँ कुनै पनि सिनेमा रिलिज हुदाँ सिनेमाहललाई ध्वाजापताकाहरुले सिँगारिन्छ। सिनेमा हलमै पूजाअर्चना गरिन्छ, बाटाेभरि स्वागतद्वारहरु बनाईन्छन्। सिनेमाकाे बडेमानकाे पाेस्टरलाई बाेकेर अबिरजात्रा समेत गरिन्छ। सिनेमाप्रति यहाँका बासिन्दाहरुकाे दीवानगी यतिसाह्राे छ कि एक जमानामा बलिउडका सुपरस्टारहरु शाहरुख-सलमानका सिनेमाले सिँगाे भारतभरि चलेर जति पैसा कमाउँथ्याे, त्याे भन्दा बढी पैसा दक्षिणकाे सुपरस्टार  रजनीकाँतकाे सिनेमाले दक्षिण भारतभरि चलेर कमाउँथ्याे। ८० काे दशककाे उत्तरार्ध र ९० काे दशकमा दक्षिण भारतका चिरञ्जीवीलाई अमिताभ बच्चनभन्दा बढी स्टारडम भएकाे स्टार मानिन्थ्याे। उनी अमिताभभन्दा बढी पारिश्रमिक पाउँथे, अमिताभभन्दा बढी कमाउँथे उनी। २००० काे दशकमा दक्षिण भारतकाे सुपरस्टार रजनीकाँतले बलिउडका सुपरस्टारहरु शाहरुख-सलमानकाे तुलनामा ५/६ गुणा बढी पारिश्रमिक पाउँथे। याे सब दक्षिण भारतका बासिन्दाहरुकाे सिनेमाप्रतिकाे दीवानगीका कारण सम्भव भएकाे थियाे।

 

त्यस्तै, यहाँ स्टारसिस्टम पनि भारतकाे अन्य भागहरुमा भन्दा बलियाे छ। यहाँका बासिन्दाहरुकाे सिनेस्टारहरुप्रतिकाे दीवानगी (क्रेज) अकल्पनीय छ। आफ्नाे प्रिय स्टारकाे सिनेमा रिलिज हुनुभन्दा अघि सिनेमाहलहरुलाई सिँगार्नु, स्टारकाे फाेटाेलाई दुधले नुहाईदिनु, आफ्नाे प्रिय स्टारकाे सिनेमाकाे पक्षमा र्‍यालीहरु निकाल्नु आदि क्रियाकलापहरु दक्षिण भारतमा सामान्य मानिन्छन् जबकि अन्य हिन्दीभाषी क्षेत्रहरुमा दर्शकहरुले यस्ताे गरेकाे आजसम्म देखिएकाे छैन। दक्षिण भारतमा त स्टारहरुकाे मन्दिर बनाईन्छ। उनीहरुकाे मूर्ति मन्दिरमा स्थापना गरेर पूजा गरिन्छ। फ्यानहरु आफ्नाे प्रिय स्टारलाई भगवानकाे दर्जा दिन्छन्। याे ज्याद्राे सिनेकल्चर र फ्यानहरुले त्यहाँका सिने इंडष्ट्रीलाई जुन लाभ पुर्‍याईरहेका छन्, त्यसकाे फाईदा दलित सिनेमाहरुले पनि पाए। 

 

फेरि, दक्षिण भारतका दर्शकहरु हिन्दीभाषी क्षेत्रका दर्शकहरु जस्ताे सिनेमा हेर्दा हिन्दु-मुस्लिम, सवर्ण-दलित आदि विवाद गर्दैनन्, ‘हिन्दुलाई गलत रुपमा देखायाे, सवर्णकाे गलत छवि पेश गर्‍याे’ आदि भनेर सिनेमालाई प्रदर्शन गर्नबाट राेक्ने, सिनेमाहलहरुमा ताेडफाेड गर्ने, सिनेमामाथि प्रतिबन्धकाे माँग गर्ने जस्ता घटनाहरु दक्षिण भारतमा अहिलेसम्म प्रखर रुपमा देखिएका छैनन्। (एकाध अपवाद त जहीँ पनि हुन्छ)। जबकि, हिन्दीभाषी क्षेत्रहरुमा यस्ताे दैनन्दिन हुने गर्छ। 

 

‘जय भिम’काे पाेस्टर

हिन्दीभाषी क्षेत्रका दर्शकहरु आफ्नाे जातिय-धार्मिक सेन्टिमेन्ट्स वा विचारधाराकाे विरुद्ध बिषयवस्तु बाेकेकाे सिनेमामा यदि आफ्नाे प्रिय स्टारले काम गरे उनीहरु आफ्नाे प्रिय स्टारलाई पनि खुईलाउन बाँकी राख्दैनन्। उनलाई घृणा गर्न थाल्छन् जबकि दक्षिण भारतका फ्यानहरु आफ्ना स्टारका त्यस्ता फिल्महरुलाई पनि सिनेमाहलमा गएर हेर्छन् र सपाेर्ट गर्छन्। एकपटक हाेईन, पटकपटक हेर्छन्। त्यति मात्र हाेईन, त्याे सिनेमालाई आफ्ना आफन्तहरु, साथीभाईहरु, छिमेकीहरु र परिचितहरुलाई पनि हेराउन पहल गर्छन्। धेरैभन्दा धेरैलाई त्याे सिनेमा हेराउने काेशिश गर्छन्। त्यसका लागि कुनै कसर छाेड्दैनन्। फ्यान्स क्लबहरुका माध्यमबाट सँगठित भएर उनीहरु विभिन्न साेसल मिडियामा उक्त सिनेमाकाे भरपूर प्रचारप्रसार गर्छन्। विभिन्न सिने प्लेटफर्महरु, आईएमडिबी, मेटाक्रिटिक, राेटेन टाेमाटाे लगायतका इंटरनेशनल सिने फाेरमहरुमा ती सिनेमाहरुकाे रेटिङलाई उच्च बनाईराख्न मेहनत गर्छन्। (पछिल्लो समयमा फ्यानहरुले सूर्याकाे सिनेमा ‘जय भीम’प्रति यति सपाेर्ट देखाए कि याे सिनेमा आईएमडिबीमा अहिलेसम्मकै उच्च रेटिङ हासिल गर्न सफल भयाे। आईएमडिबीमा यसले रेटिङकाे मामिलामा हलिउडकाे सर्वकालीन महान् सिनेमाहरु ‘द गडफादर’ र ‘दी श्वशांक रिडेम्पसन’लाई पनि उछिन्याे।)

 

त्यसैले, त रजनीकाँतले ‘काला’जस्ताे अम्बेडकराईड सिनेमा खेल्दा उनका सवर्ण फ्यानहरु उनकाे सिनेमालाई बाईकट गर्दैनन्। उच्च जातिकै स्टार सूर्याले ‘जय भीम’ खेल्दा उनकाे उच्च जातिय फ्यानहरु उनकाे विराेध गर्दैनन्, उल्टै उनकाे सिनेमाकाे सपाेर्टमा उत्रिन्छन्। धनुषले ‘असुरन’ र ‘कर्णन’जस्ता फिल्महरु खेल्दा आफ्ना सवर्ण फ्यानहरुबाट आपत्ति वा आलाेचनाकाे सामना गर्नुपर्दैन। तर बलिउडका स्टारहरुलाई यस्ताे सुविधा छैन। विराेध र बाईकट/बहिष्कारकाे डरले उनीहरु दलित न्यू वेभ सिनेमाहरु खेल्ने आँट गर्नै सक्दैनन्।

 

(बलिउडमा प्रयाेग गर्न नडराउने स्टारकाे रुपमा हेरिएका आमिर खानले समेत आजकाे मितिसम्म दलित न्यू वेभ सिनेमा खेल्ने आँट गर्न सकेका छैनन्। उनले ईच्छा नभएर त्यस्ताे आँट नगरेका हाेईनन्। केही समयअघि मात्र फिल्ममेकर नागराज मँजुलेले आमिरलाई आफ्नाे सिनेमा ‘झुंड’ अफर गर्‍याे। आमिरलाई ‘झुंड’काे स्क्रिप्ट पनि मनपर्‍याे तर पनि उनले त्याे सिनेमा खेलेनन् बरु अमिताभ बच्चनतिर सारिदियाे। किनभने, स्क्रिप्ट राम्राे भए पनि सिनेमालाई हिन्दी दर्शकहरुले स्वीकार नगर्ने आँकलन उनले पहिल्यै गरिसकेकाे थियाे। त्यसैले, ऊ त्याे सिनेमा गर्न डरायाे, प्रयाेग गर्न डरायाे।)

 

तर दक्षिण भारतमा स्टारहरुले आफ्नाे भूमिकाहरुमाथि प्रयाेगहरु गर्न डराउनुपर्दैन किनभने उनीहरुका फ्यानहरु/दर्शकहरुले त्यसलाई प्राेत्साहन गर्छन्। त्यसैले त रजनीकाँतले ‘काला करिकालन’काे भूमिका निभाउन साेचिराख्नुपर्दैन। धनुषले ‘असुरन’ र ‘कर्णन’ खेल्दा फ्यानहरुबाट रिजेक्ट पाे हुन्छु कि भनेर चिन्ता गर्नुपर्दैन। सूर्याले ‘जय भीम’ बनाउँदा लगानी डुब्छ कि भनेर डराउनुपर्दैन। त्यहाँकाे बलियाे फ्यानडम र स्टारवर्शिप कल्चरले त्यसलाई सम्भव बनाईदिन्छ।

 

तर बलिउडमा त्यसप्रकारकाे फ्यानडम र स्टारवर्शिप कल्चर छैन। अमिताभ बच्चनका असँख्याै फ्यानहरु छन् तर पनि आजकल अमिताभ बच्चनका सिनेमाहरु चल्दैनन्। उनकाे लेटेस्ट दलित सिनेमा ‘झुंड’ पनि चलेन। किनभने, अमिताभ अब एंग्री याेङ म्यान रहेनन्। शाहरुख-सलमान बलिउडका ८० काे दशकपछिका बिगेस्ट सुपरस्टारहरु हुन् तर उनीहरुले पनि आफ्नाे स्थापित छविभन्दा भिन्न भूमिकाहरु खेल्दा असफल हुनुपर्छ। किनभने, उनीहरुका फ्यानहरुले उनीहरुलाई सपाेर्ट गर्दैनन्।

 

शाहरुख खान १९९२ देखि आजसम्मकै बलिउडका सबैभन्दा ठूला स्टार हुन्। बलिउडमा उनकाे जतिकाे स्टारडम अरु कुनै पनि स्टारकाे छैन तर पनि उनले जब-जब आफ्नाे छविदेखि अलग हटेर आफ्नाे भूमिकामाथि प्रयाेग गर्न खाेजे तब-तब उनले असफलताकाे सामना गर्नुपर्‍याे। ‘दिल से’, ‘डुप्लिकेट’, ‘फिर भी दिल है हिन्दुस्तानी’, ‘हे राम’, ‘जाेश’, ‘गजागामिनी’, ‘वान टु का फाेर’, ‘अशाेका’, ‘शक्ति-द पावर’, ‘स्वदेश’, ‘पहेली’, ‘रावन’, ‘फ्यान’, ‘रईस’, ‘जिराे’…याे सूचि लामाे छ। सलमान खानले पनि अलग प्रकारका भूमिका निभाउने काेशिश गरेका सबै सिनेमाहरु फ्लप भएका छन्। हृतिक राेशनले आफ्नाे भूमिकामा प्रयाेग गरेका वा अलग प्रकारका भूमिकाहरु निभाएका सिनेमाहरु ‘फिजा’, ‘मिशन काश्मीर’,  ‘गुजारिश’ र ‘काबिल’ फ्लप भएका थिए। 

धनुष र भेट्रिमारन, ‘असुरन’काे छायांकनकाे क्रममा

यिनै कारणहरुले गर्दा, बलिउडका बिग स्टारहरु अलग प्रकारका सिनेमाहरु खेल्दैनन्, प्रयाेगहरु गर्दैनन्। आफुहरुले सधै खेल्दै आईरहेका मसाला मुभीहरुमै खुशी हुन्छन्। उनीहरु अनावश्यक रिस्क लिएर आफ्नाे स्टारडमलाई खतरातर्फ धकेल्न चाहन्दैनन्। त्यसकारण यहाँकाे कुनै स्टारले रजनीकाँत वा धनुषले जसरी कुनै पा. रंजीत, मारि सेल्वाराज वा भेट्रिमारनलाई खाेजेर सिनेमा बनाउन अनुराेध गर्ने छैनन्।

 

बलिउडका स्टारहरुले आफ्नाे भूमिकाहरुमाथि प्रयाेग गर्नु (अलग प्रकारकाे भूमिका निभाउनु) भन्दा पहिले पचासपटक साेच्नुपर्छ जबकि साउथका स्टारहरुलाई यस कुरालाई लिएर कुनै समस्या छैन। उनीहरु बिन्दास भएर आफ्ना भूमिकाहरुमाथि प्रयाेग गर्न सक्छन् (अलग प्रकारका भूमिकाहरु निभाउन सक्छन्)। किनभने उनीहरुलाई फ्यानहरु/दर्शकहरुकाे सपाेर्ट छ। त्यसैले त रजनीकाँत पा. रँजितलाई बाेलाएर आफुसँग सिनेमा बनाउन अनुराेध गर्छन्। धनुष आफै अघि सरेर ‘असुरन’ र ‘कर्णन’ जस्ता सिनेमाहरु बनाउन पहलकदमी गर्छन्। आर्या ‘सरपट्टा परमबराई’ मा दलितकाे भूमिका निभाउन हिच्किचाउँदैनन्। बलिउडमा कतिजना स्टार छन् जाे पा. रँजित, मारी सेल्वाराज वा नागराज मँजुलेलाई आफुसँग सिनेमा बनाउन अफर गर्ने हिम्मत राख्छन्?

 

भर्खरै मात्र तेलुगु सिनेमाका बिग स्टार अल्लु अर्जुन ‘पुष्पा’मा अलग भूमिकामा देखिए। उनी ‘पुष्पा’मा रुख काट्ने, मुढा बाेक्ने, रक्तचंदन तस्करी गर्ने एक जँगली मजदुरकाे भूमिकामा देखा परे, जाे फाेहाेरी छन्, बिडी पिउँछन्, झ्याप्प दाह्रीजुँगा र कपाल पालेका छन्, गरिब पृष्ठभूमिका छन् तर अटेरी छन्। उनका फ्यानहरुले उनलाई पुष्पाराजकाे त्याे जँगली रुपमा पनि स्वीकार गरे र उनकाे फिल्मलाई सेलिब्रेट गरे। ‘पुष्पा’ले बक्स-अफिसमा ३६५ कराेडकाे कमाई गर्‍याे। यसलाई बलिउडसँग कम्पेयर गरेर हेराैं। यदि सलमान खानले पुष्पाराजकाे भूमिका निभाएकाे भए के बलिउडका दर्शकहरु वा सलमान खानका फ्यानहरुले सलमान खानलाई पुष्पाराजकाे भूमिकामा स्वीकार गर्थे हाेलान्? मलाई लाग्दैन, तिनीहरुले सलमानलाई पुष्पाराजकाे भूमिकामा स्वीकार्थे। किनभने, सलमान खानले ‘वीर’मा एक वारियरकाे भूमिका निभाउँदा उनलाई तिनीहरुले स्वीकारेका थिएनन्। 

 

बलिउडका दर्शकहरु/फ्यानहरु सेलेक्टिभ छन्, पूर्वग्राही छन्। तिनीहरु आफ्ना प्रिय स्टारलाई त्यही रुपमा हेर्न खाेज्छ

धनुष

न्, जुन रुपमा तिनीहरु हेर्न चाहन्छन्। अन्यथा उनका सिनेमा हेरि नै दिदैनन्। तर, साउथका दर्शकहरु/फ्यानहरु त्यस्ता छैनन्। उनीहरु आफ्ना प्रिय स्टारलाई जुनसुकै रुपमा पनि हेरिदिन्छन्। साउथका स्टारहरुले दलित सिनेमाहरु खेले। दर्शकहरु/फ्यानहरुले हेरिदिए। दलित सिनेमाहरु चले किनभने साउथकाे सिने कल्चर र फ्यानडमले त्यसलाई स्वागत गर्‍याे, सपाेर्ट गर्‍याे। साउथमा दलित सिनेमाहरुलाई रिजेक्ट हुने डर नै छैन, शर्त मात्र यति छ कि त्यसकाे कथा-पटकथा दमदार र दर्शकहरुलाई बाँधेर राख्न सक्ने हुनुपर्‍याे, ‘पुष्पा’ले जस्ताे। 

 

तर, दुर्भाग्य बलिउडसँग याे सपाेर्ट सिस्टम छैन। यहाँका दर्शकहरु तथा फ्यानहरु स्टारहरुकाे नयाँ प्रयाेग, नयाँ भूमिका, नयाँ सिनेमालाई स्वागत/स्वीकार नै गर्दैनन्। सपाेर्ट गर्नु त धेरै टाढाकाे कुरा। त्यस्ता सिनेमाहरुका लागि बलिउडका फ्यान्स तथा दर्शकहरु उदार भईसकेका छैनन्। बलिउडसँग फ्यानहरु छन् तर त्यसप्रकारकाे फ्यानडम छैन। दर्शकहरु छन् र तर त्यसप्रकारकाे सिनेकल्चर छैन। 

 

साउथमा दलित न्यू वेभ सिनेमाहरु जिउनु वा अलग धारका सिनेमाहरु समानान्तर रुपमा चल्नुकाे तेस्राे महत्त्वपूर्ण कारण याे हाे। 

 

तर यी सब त परिधिका कुराहरु भए, अब केन्द्रिय कारणतिर जाऔं। बलिउडमा दलित सिनेमा नबन्नुकाे प्रमुख कारण चाहिँ त्यहाँ दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्ग तथा समुदाय (SC, ST & OBC) का फिल्ममेकरहरु नभएर पनि हाे। बलिउड वा हिन्दी सिने इंडष्ट्रीमा एकै वर्गकाे हेजेमाेनी छ, सवर्णहरुकाे। वैचारिक रुपमा पनि, साँगठनिक रुपमा पनि अनि आर्थिक रुपमा पनि। यिनीहरुकाे एक सुगठित मेशिनेरी नै छ जसले दलित सिनेमाकाे मटेरियललाई मेशिनमा हाल्ने बित्तिकै डिटेक्ट गरेर बाहिर फालिदिन्छ। त्यहाँकाे ईकाेसिस्टमले दलित अवयबलाई बर्दाश्त गर्दैन। फिल्ममेकर्स, प्राेडक्शँस हाउसेस-निर्माताहरु-निर्दैशकहरु-कलाकारहरु-हलवालाहरु र दर्शकहरुकाे यस्ताे चेन छ, जसले दलित फ्याक्टरलाई आफ्नाे छेऊमा फट्किन पनि दिदैन। प्राेड्युसरदेखि लिएर कन्ज्युमरसम्मलाई दलितफाेबिया छ बलिउडमा। यहाँकाे सिस्टम, ईकाेसिस्टम वा मेशिनेरी सबै सवर्ण वा वर्चस्वशालीहरुकाे वैचारिक-वर्गीय हितहरुद्वारा सँचालित छ जसले तिनै वर्ग-समुदायकाे वैचारिकीलाई मजबूत पार्ने र तिनीहरुकाे स्वार्थलाई रक्षा गर्ने काम गरिरहेकाे छ। 

 

यसैकारण बलिउड सिनेमा तथा सिनेकर्मीहरुले समाजका शाेषित-उत्पीडित-बहिष्कृत-दलित-आदिवासी-सीमान्तीकृत-पिछडा वर्ग तथा समुदायहरुका हितहरुलाई आजसम्म अनदेखा गरिरहे, उनीहरुका कथाहरुलाई वेवास्ता गरिरहे। बलिउड सिनेमा तथा सिनेकर्मीहरुले ती कुनै पनि प्रश्नहरुलाई उठाएनन्, जसले सवर्ण वा वर्चस्वशालीहरुलाई असहज बनाउँथ्याे। समाजकाे बहुसंख्यकलाई अफ्ठ्याराेमा पार्थ्याे। ती प्रश्नहरुलाई उठाउँदै उठाएनन्, जसले उनीहरुकाे ‘महान् भारत’ राष्ट्रकाे महान् यात्रालाई लान्छित वा निन्दित गर्थ्याे अथवा उक्त महान् यात्रामा ठेस लगाउने पत्थर बनिदिन्थ्याे। यस क्रममा दलित-आदिवासी-सीमान्तीकृत-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुका प्रश्नहरु अछुताे नै रहे। जातिका प्रश्न वा मुद्दाहरु सतहमुनि नै दबिरह्याे, दबाईराखियाे। हिन्दी सिनेमाहरुमा अधिकाँश नायक र नायिकाहरुकाे चरित्रहरुलाई सवर्ण बनाईयाे र उनीहरुका कथाहरुलाई सम्पूर्ण भारतकाे कथा जसरी प्रस्तुत गरियाे। आदिवासीहरु पर्दामा या त हाँसाेकाे पात्र बनेर देखिए या त झुण्डहरुमा नाँचिरहेका देखिए। दलितहरु दयनीय पात्रहरु बनेर देखा परे। यस्ताेमा दलित-आदिवासी-सीमान्तीकृत-बहिष्कृत-पिछडा वर्गहरुकाे फिल्म त्यहाँ कसरी बन्छ? बने पनि कसरी टिक्छ? कसरी बाँच्छ? याे कुरा स्ट्रेट फरवर्ड छ। बुझ्नलाई गाह्राे पर्ने याे कुनै रकेट साईन्स हाेईन।

 

बलिउडका अधिकाँश लेखक-निर्दैशकहरु जहाँ सवर्ण तथा वर्चस्वशाली समुदायहरुका छन्, त्यही साउथका दलित न्यू वेभ सिनेमाका सबै फिल्ममेकरहरु एससी, एसटी वा ओबीसी समुदायहरुका छन्। अर्थात्, दलित-आदिवासी-बहिष्कृत-पिछडा वर्ग तथा समुदायहरुका छन्। उनीहरु त्यहाँका सिनेमाहरुमा दह्राे हस्तक्षेप गरिरहेका छन् जबकि बलिउडसँग त्यस्ताे हस्तक्षेप गर्ने पात्र विरलै छन्। बलिउडकाे सिँगाे इकाेसिस्टम, मेसिनेरी, प्राेड्युसरदेखि कन्ज्युमरसम्मकाे जातिवादी चेनले त्यस्ताे कुनै एसेन्ट्रिक पात्रलाई जन्मनै दिदैन। त्यसैले त बलिउडका लागि दलित सिनेमा पनि मराठीका सिनेकर्मी नागराज मँजुलेले आएर बनाईदिनुपर्छ। 

 

यी सबै तथ्यहरुले एउटै कुरा बताउँछन् कि दलित सिनेमाहरुका लागि बलिउड प्राेब्लम्याटिक छ। थाहा छैन बलिउडले ‘काला’, ‘असुरन’, ‘कर्णन’, ‘जय भीम’, ‘परीयेरुम पेरुमल’, ‘सरपट्टा परमबराई’ जस्ता सिनेमाहरु पाउन अझै कति दशक कुर्नुपर्ने हाे ?

मा प्रकाशित