एमसीसीविरुद्ध प्रदर्शन गर्नेमाथि प्रहरीको धरपकड

प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

गणतन्त्र नेपाल संवाददाता

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले धरपकड गरेको छ । बुधबार सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भएको थियो ।

प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत गरी ४ जना घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका सय बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले गणतन्त्रनेपाललाई बताएका छन् ।

बुधबार एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका भातृसंगठनहरू अखिल क्रान्तिकारी र वाइसीएलका कार्यकर्ताहरू, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरूले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

 

मा प्रकाशित