सलाम
महान नेपाली जनता
उसको अदम्य साहसको बिद्रोह
जो महान थियो ,
रहिरहने छ – यो ‘प्लानेट’ रहेसम्म ।
तिमीले,
क्रान्तिका हत्याराहरुसँग
रोज ‘रोज’ साटीरहँदा
र, उनिहरुसँगै प्रेम गर्ने
‘प्रपोज’ दोहोर्याउदै गर्दा
हामी भने बिर्सने छैनौ-
फेब्रुअरी १३ को आँधिहुरी,
तर, बरु बिर्सने छौ
१४ को भ्यालेन्टाइन।
सपनाहरु जीवित छन् ,
रक्ताबिजहरु हुर्किरहेका छन् .
इतिहास बदल्न गरिएको
बलिदान, त्याग र समर्पणको
मूल्य बिर्सने छैनौ ।
बदलिएको समयका
भुमिकाहरुलाइ
अस्विकार गरिने छैन ।
समयले दिएको
दण्ड र पुरस्कार
दुबैलाई सम्मान गरिनेछ ।
कहिलेकाही कसैले
रक्तिम इतिहासलाइ
पहेलो वर्तमानको
विस्कुनमा सुकाएर हेप्न सक्छ,
कहिलेकाही
व्यंग्य स्वरुप
इतिहासले बलिदानलाइ
हेपेको पनि देखिन्छ ।
तर
परिवर्तनकालागि गरिएको
निशर्त
र ,
निस्वार्थ
योगदान प्रति गर्ब गरौ ।
नेपाली क्रान्तिको
समुद्घाटन भएको
आजको दिनको स्मरण गरौ ।
एक स्वर र एक हृदयले भनौ
– पृथ्बी ग्रहमा एक नेपाल छ
त्यहाँ नेपाली क्रान्ति जीवित छ ।