नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव बिथोल्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । ‘जनयुद्ध’ दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पराजित प्रतिक्रान्तिकारी प्रवृत्तिले पाँचदलीय गठबन्धन टुटाउने र चुनाब बिथोल्नका लागि अनेक षडयन्त्रका तानाबाना बुनिरहेको बताए ।
उनले भने, ‘यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकार गिराउनको निम्ति, चुनावलाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरू भइराखेका छन् । तपाईं हामीले देखिराखेका छौँ ।’
तर, सत्तारुढ गठबन्धन संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति बनेकाले कुनै परियोजना वा समान्य कारणले नभत्किने उनको जिकिर थियो । प्रतिक्रान्तिकारीहरूले अझै पनि प्रतिगमन गराउने कसरत चलाइराखेको र त्यसलाई मलजल गर्न देशभित्र र बाहिरका विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको प्रचण्डको आरोप थियो ।
प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटक एक ठाउँ आउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अलग पार्टी बनाइसकेका सहयात्रीहरूलाई एकै ठाउँमा आउन आग्रह गरेका छन् ।