एमसीसीलाई संसदबाटै टुंगो लगाऔँ – काँग्रेस प्रवक्ता महत

अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने

गणतन्त्र नेपाल संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाटै टुंगो लगाउनुपर्ने बताएका छन् । शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा पेश गर्नुपर्ने र संसदले नै त्यसको निकास दिनुपर्ने धारणा राखेका हुन् ।

नेपाललाई सहयोग गर्ने सबै देशहरूलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने भन्दै प्रवक्ता महतले एमसीसी लाई हेर्ने दृष्टिकोण पनि अन्य देशहरूको सहयोगलाई जस्तै हुनुपर्ने जिकीर गरे। अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ।

उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलित हुन्छ र देशलाई खतरा हुन्छ। एमसीसीका विषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नुपर्ने उनको तर्क छ। उनले भने, ‘एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ। नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो।’

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसदमा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए। उनले भने, ‘सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन।’ संसदमा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ।

फरक प्रसङ्गमा बोल्दै उनले का‌ँग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए। पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए। उनले भने, गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ।’

दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले बताए। फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो।

मा प्रकाशित