
‘मेड’ (MAID, 2021) एलेक्स नामक एक महिलाले आफ्नो toxic & abusive पतिबाट मुक्ति पाउन र आफ्नो सानी छोरीको कस्टडी हासिल गर्नका लागि गरेको सङ्घर्षको कथा हो। एकरात उनको पतिले उनलाई आफ्नो toxic behaviour ले आतंकित पारेपछि भयभीत भएर उनी आफ्नी दुई वर्षीया छोरीलाई लिई पतिको घर छोड्छिन् जबकि उनको पछाडि कुनै गतिलो backup हुँदैन। उनीसँग न संसाधन हुन्छ, न सम्पत्ति वा पैसा हुन्छ, न जागिर नै हुन्छ।
उनको पतिले उनीमाथि कोर्टमा केस गर्छ। उनी छोरीको पालनपोषण गर्न असमर्थ भएकीले छोरीको कस्टडी आफुले पाउनुपर्ने जिकिर गर्छ। कोर्टले बच्चाकी आमासँग घर र रोजगार नभएको कारण बच्चाको सुरक्षित भविष्यका लागि आमाले दिगो घर र रोजगारको व्यवस्था नगरेसम्म छोरीको कस्टडी बाबुले पाउने निर्णय सुनाउँछ।
‘मेड’ ले देखाउँछ कि पितृसत्तामा पतिबाट छुट्टिन चाहने महिलाहरुले बच्चाको कस्टडी पाउन कति गाह्रो हुन्छ। किनभने बच्चाको कस्टडीको लागि कोर्टले आमाले बच्चाको भविष्य सुरक्षित गर्न सक्छन् कि सक्दिनन् भन्ने कुरालाई प्राथमिकता दिन्छ अनि स्वभाविक रुपमा पितृसत्तामा महिला परनिर्भर हुने भएकीले, आफु र आफ्नो छोराछोरीको भरणपोषणका लागि पूर्ण रुपमा पतिमाथि निर्भर हुने भएकीले अनि संसाधन वा सम्पत्तिमाथि उनको स्वामित्व नहुने भएकोले उनी बच्चाको सुरक्षित भविष्यको लागि कोर्टसामु कुनै दिगाे आधार प्रस्तुत गर्न सक्दिनन्। फलत: बच्चाको कस्टडी गुमाउन पुग्छिन्।
‘मेड’ ले पितृसत्तामा महिलाहरुको मुक्तिको बाटो कति दुरुह छ भन्ने सत्यलाई अभिरेखन गर्छ। आफ्नो toxic & abusive पतिबाट छुटकारा पाउन, बच्चाको कस्टडी पाउन, रोजगार पाउन, जीविकापार्जन गर्न, न्याय पाउन, अधिकार पाउन पितृसत्तामा महिलाहरुलाई कति गाह्रो हुन्छ, यिनै सत्यलाई ‘मेड’ मा देखाइएको छ।
अमेरिकाजस्तो advanced र developed मुलुकमा त महिलाहरुलाई यति गाह्रो हुन्छ भने अन्य under-developed मुलुकहरुमा झन् कति गाह्रो हुन्छ होला, हामी अनुमान मात्र गर्न सक्छौँ।
यसो हुनुको मुख्य कारण पितृसत्ताको विभेदकारी संरचना, यसको चरित्र हो। पितृसत्ताको श्रमविभाजनअनुसार पैसा कमाएर ल्याउने जिम्मेवारी पुरुषहरुको हुन्छ। तसर्थ, सम्पत्तिको मालिक पनि मूलत: पुरुषहरु नै हुन्छन्। महिलाहरुको जिम्मेवारी घरबार सम्हाल्ने, छोराछोरी स्याहार्ने र चुलाचौकाको काम गर्ने हुन्छ। महिलाहरुसँग सम्पत्तिको स्वामित्व हुँदैन। यस्तोमा पतिलाई छोड्ने हो भने उनीहरुको न कुनै समाउने हाँगो हुन्छ, न कुनै टेक्ने धरातल। उनीहरुको पछाडि कुनै backup हुँदैन। पतिलाई छोड्दा उनीहरुको जीवन नै अनिश्चय र जोखिममा पर्न जान्छ।
त्यसैले, पितृसत्तामा पतिले जतिसुकै दुर्व्यवहार गरे पनि, जतिसुकै toxic mascular behaviour देखाए पनि महिला सहेर बस्न बाध्य हुन्छिन्। पितृसत्ताको संरचनाले नै महिलाको अवस्थालाई कमजोर बनाएको छ। महिलालाई निर्बल, निमुखा र निरीह बनाएको छ। पितृसत्तामा कमजोर महिलाले अन्यायी पतिलाई छोड्न नसक्नुको एउटा प्रमुख कारण यो हो।
‘मेड’ की नायिका एलेक्सले आफ्नो toxic & abusive पतिलाई छोड्ने आँट गर्छिन्, बिना कुनै backup. उनको सहारा भनेको राज्यले घरेलु हिंसापीडितलाई प्रदान गर्ने सेल्टरमात्र हुन्छ तर त्यहाँ बस्नलाई पनि उनी अयोग्यसिद्ध हुन्छिन्।
किनभने, त्यहाँ बस्नका लागि उनीसँग पतिले उनीमाथि घरेलु हिंसा गरेको अर्थात् कुटपिट गरेको स्पष्ट प्रमाण हुनुपर्छ जबकि उनीसँग उनको पतिले उनलाई कुटपिट गरेको कुनै प्रमाण हुँदैन किनभने उनको पति उनलाई कुटपिट गर्दैनथ्यो। त्यसैले उनले उनको पतिकाे विरुद्ध प्रहरीमा कहिल्यै पनि कुटपिटको उजुरी दर्ता गरिनन्।
उनको पति उनीमाथि हातपात गर्दैनथ्यो तर ऊ उनलाई दुर्व्यवहार (abuse) गर्थ्यो। एलेक्सले आफुलाई आफ्नो पतिले कुनै दुर्व्यवहार नगरेको जिकिर गरे पनि उनी पतिबाट दुर्व्यवहारमा परेकी हुन्छिन्। उनको पति हरेक रात मातेर आउँथ्यो र उनीमाथि चिच्याउँथ्यो। उनलाई अपशब्दहरु बोलेर harass गर्थ्यो। उनको छेऊको भित्तामा मुक्का बर्साउँथ्यो। सामानहरु तोडफोड गर्थ्यो। उसले गर्ने दुर्व्यवहार यसप्रकारको हुन्थ्यो। ऊ शारीरिक रुपमा होइन, मानसिक रुपमा एलेक्सलाई harass गर्थ्यो। ऊ एलेक्सलाई मानसिक रुपमा आघात पुर्याउँथ्यो। त्यसैले एकरात एलेक्सले आफ्नी दुई बर्षकी छोरीलाई बोकेर घर छोडिन्। तर, उसले एलेक्सलाई कुटपिट नगरेकोले एलेक्सले न त पुलिसमा कम्प्लेन गरिन्, न त सरकारको कुनै हेल्पलाइनमा फोन गरेर सहायता नै मागिन्। फलत: पतिविरुद्ध दुर्व्यवहारको उनको मुद्दा नै कमजोर बन्न पुग्यो।
‘मेड’ ले घरेलु हिंसालाई सम्बोधन गर्ने मामिलामा अमेरिकी राज्यले गरेको व्यवस्थाको कमजोरीलाई पनि उजागर गरेकाे छ। राज्यको व्यवस्थाले शारीरिक हिंसालाई त चिन्छ तर मानसिक हिंसालाई चिन्दैन। घरेलु हिंसालाई सम्बोधन गर्न राज्यले संयन्त्र त बनायो तर राज्यकाे संयन्त्रले घरेलु हिंसाको यो पाटाेलाई सम्बोधन गर्न सकेन। सिरिजका अनुसार घरेलु हिंसापिडितहरुका लागि निर्मित सेल्टरमा शारीरिक हिंसाका सिकार भएकाहरुले मात्र बस्न पाउँछन्। शारीरिक हिंसा नभोगेका तर मानसिक हिंसाका सिकार भएकाहरुले बस्न पाउँदैनन्। मानसिक हिंसामा परेकाहरुले कुनै सब्सिडी वा राहत प्याकेज पाउँदैनन्। उनीहरुले आवश्यक सबै प्रबन्ध आफैले गर्नुपर्ने हुन्छ। राज्यले उनीहरुलाई निशुल्क वकिल वा कानुनी सहायता पनि प्रदान गर्दैन। भन्नुको अर्थ के भने, घरेलु हिंसालाई सम्बोधन गर्ने संयन्त्र बनाउँदा मानसिक हिंसाको पाटाेलाई राज्यले देखेन। यसतर्फ राज्यको नजर पुगेन र यो सम्बोधन गर्नबाट छुट्यो।
त्यस्तै बच्चाको कस्टडी पाउन पीडित महिलाले सम्पत्ति, रोजगार, सुरक्षा आदिको मामिलामा आफुलाई पतिभन्दा सक्षम देखाउनुपर्ने अन्यथा बच्चाको कस्टडी नपाउने प्रावधान राज्यले गरेकाे छ जुन प्रावधान पिडित महिलामैत्री छैन। पितृसत्ताको सँरचनामा जो पुरुषभन्दा स्वत: कमजोर छन् वा हुन्छन्, उनले आफुलाई कसरी पुरुषभन्दा सक्षम प्रमाणित गर्न सक्छन् ? तसर्थ, यो प्रावधान अमिल्दाे लाग्छ।
बच्चाको कस्टडी पाउनका लागि महिलासँग आफ्नो शीरमाथि छत हुनुपर्छ अर्थात् घर (shelter) हुनुपर्छ। घर भएन भने कोर्टमा राम्रो देखिन्दैन। त्यसैले त्यस्ती महिलाले तत्काल सडक छोड्नुपर्छ र घरको बन्दोबस्त गर्नुपर्छ। घर पहिलो प्राथमिकता हो। दोस्रो प्राथमिकता जागिर वा रोजगार हो। उनीसँग राम्रो जागिर वा रोजगार हुनुपर्छ। राम्रो जागिर अर्थात् राम्रो आय हुनुपर्छ। सरकारले व्यवस्था गरेको subsidies home पाउनका लागि दुई महिनाको भुक्तानी दिनुपर्ने हुन्छ अनि मात्र आफ्नो नाम पालोमा चढ्छ त्यसपछि लामो समय पालो पर्खिनुपर्ने हुन्छ। बच्चाको day care को खर्च व्यहाेर्न नसक्नेका लागि काम पाएपछि सरकारले subsidies day care उपलब्ध गर्ने व्यवस्था गरेको छ। अर्थात् subsidies day care पाउन पनि रोजगार हुनुपर्ने सर्त राखिएको छ। जो बेरोजगार छ, जसको कुनै आय छैन, उनलाई पो subsidies day care उपलब्ध गराउनुपर्नेमा यहाँ ठीक उल्टो व्यवस्था लागु गरिएको छ। ‘मलाई day care को आवश्यकता छ, रोजगारको आवश्यकता छ भन्ने प्रमाणित गर्न पनि म सँग रोजगार हुनुपर्ने ? कस्तो खाले चुतियप्पा हो यो ?’ एलेक्स प्रश्न गर्छिन्।
सरकारले गरेको व्यवस्था कति निष्प्रभावी छ भन्ने कुरा एलेक्सको निम्न संवादले पनि पुष्टि गर्दछ, ‘मलाई अहिले सात किसिमको सरकारी सहयोग प्राप्त भइरहेको छ। म अहिले आफ्नो क्षमताले भ्याइन्जेल अधिकतम् काम गरिरहेकी छु, एक पैसा काटिन दिएकी छुइन तर पनि खाना, ग्याँस र day care मा हरेक हप्ता मेरो नाै डलर अतिरिक्त खर्च हुन्छ। म कसरी कोठाको भाडा तिर्न सक्छु जबकि सब्सिडिज कोठाको पनि मैले extra नाै डलर तिर्नुपर्छ भने? सरकारी मदतकर्ताले यो कस्तो मदत गरिरहेको छ मलाई?’
अर्को उदाहरण, घरेलु हिंसापीडित महिलाका लागि सरकारले TBRA (Tenant based rental asistance) नामक एउटा कार्यक्रम ल्याएको छ जसमा पिडित महिला आफैले भाडामा बस्न कुनै घर खोज्नुपर्छ र घरधनीलाई घरभाडाको निश्चित अंश छुट गर्ने व्यवस्था गरिएको सरकारी TBRA भौचर स्वीकार गर्न राजी गराउनुपर्छ। एलेक्सले थुप्रै घरधनीहरु समक्ष गएर उनीहरुलाई convince गर्ने लाख प्रयत्न गर्छ तर कसैलाई पनि convince गर्न सक्दैन। ‘म ७०% सम्म भाडा तिर्छु, ३०% मात्र मलाई घरभाडा छुट गरिदिनुहोस्, त्यतिको लागि मात्रै TBRA भौचर स्वीकार गरिदिनुहोस्’ भन्दा पनि कोही पनि मान्दैन। अब, कोठा भाडामा पनि दिन र घरभाडामा पनि निश्चित रकम छुट गरिदिन काे चाहिँ घरबेटी राजी हाेलान्? यस्तो अव्यवहारिक नीति सरकारकाे नीतिमा सामेल छ। यो नीति लागु पनि भइरहेको छ कि छैन, यसबाट लक्षित वर्ग लाभान्वित भइरहेका छन् कि छैनन्, यसको feedback बुझ्ने लेठो सरकारको सम्बन्धित निकायले गरेकाे देखिन्दैन।
यसप्रकार, ‘मेड’ ले सिलसिलेवार ढंगले घरेलु हिंसा, दुर्व्यवहार, त्यसको ओझेलमा परेको पाटो, राज्यले घरेलु हिंसालाई सम्बोधन गर्ने क्रममा छुटाएका कुराहरु, त्यसलाई सम्बोधन गर्न राज्यले बनाएका नीतिनियमहरुका कमजोरी तथा व्यवहारिक कार्यान्वयनको जटिलतालाई पनि देखाएको छ।
अर्को महत्त्वपूर्ण कुरा, ‘मेड’ ले अमेरिकाको बारेमा विश्वभरिकै मानिसहरुमा विधमान एउटा myth लाई पनि तोड्ने प्रयास गरेकाे देखिन्छ। त्यो के भने ‘अमेरिकामा स्वर्ग छ। त्यहाँ जान पाए मालामाल भइन्छ। अमेरिकामा त बोटमा पैसा टिप्न पाइन्छ’ भन्ने जस्तो धारणा जुन विश्वभरिका अधिकाँश मानिसहरुमा व्याप्त छ, त्यसलाई ‘मेड’ ले झुठ्लाएको छ र अमेरिकाको साँचो चित्र देखाएको छ।
सत्य के हो भने संसाधन नभएको अवस्थामा त्यहाँकै नागरिकलाई पनि अमेरिकामा जीविकापार्जन गर्न अत्यन्त कठिन छ। त्यहाँ गरिबहरुलाई बाँच्न अत्यन्त कठिन छ। त्यहाँ काम पाउन नै अत्यन्त कठिन छ। ‘मेड’ कि नायिका एलेक्स शिक्षित हुन्छिन्, उनले पहिले पढ्दा छात्रवृत्ति पनि पाएकी हुन्छिन्। तर पनि उनी मेड अर्थात् घरेलु नाेकरकाे काम गर्न बाध्य हुन्छिन्। अमेरिका भन्दैमा एसी कोठामा मेचमा बसेर काम गर्ने साैभाग्य सबैले कहाँ पाउँछन् र ? कम्तिमा गरिबहरुको त त्यस्तो भाग्य हुँदैन अमेरिकामा। उनीहरुलाई त त्यहाँ जीवन धान्नु नै अत्यन्त गाह्रो परिरहेको छ। कठोर श्रम गरेपछि मात्र उनीहरुको हातमा थोरै पैसा पर्छ। अनि त्यो थोरै पैसामा उनीहरुले गुजारा गर्नुपर्ने हुन्छ जुन बडो मुश्किलले उनीहरु गर्ने गर्छन्।
एक त अमेरिकाको ठाउँमा काम नै पाइन्दैन। बडो मुश्किलले कुनै काम पाए पनि धेरै खट्नुपर्छ तर ज्याला थोरै पाइन्छ। शिक्षित र कलेजमा छात्रवृत्ति समेत पाएकी एलेक्सले मैडको काम गर्नुपरेको उदाहरणले नै अमेरिकाको सत्यलाई छर्लङ्ग देखाउँछ। राम्रो तलबसहितको राम्रो काम वा सम्मानजनक रोजगार त्यहाँको शिक्षित नागरिककाे त भाग्यमा छैन भने बाहिरबाट आउनेको त झन् के कुरा गर्नु?
‘हमको मालूम है जन्नत की हक़ीक़त लेकिन, दिल को बहलाने को ग़ालिब यह ख़्याल अच्छा है।’ अमेरिकाको सत्य पनि यस्तै छ। अमेरिका पनि कल्पनामा मन बहलाउन मात्र मीठो लाग्छ। वास्तविकतामा भोग्दा त अत्यन्त तीताे लाग्छ। गाह्रो काम, कठोर श्रम, न्युन ज्याला, त्यस न्युन ज्यालाभित्र बडाे मुश्किलले जीविकोपार्जन र शून्य बचत। यहीँ अमेरिकाको संसाधनविहीन गरिबहरुको जीवनको सत्य हो। अमेरिका विश्वका आममानिसहरुले सोचेजस्तो सपनाको देश वा स्वर्ग पक्कै पनि होइन। ‘मेड’ मा एलेक्सकी आमा पाउला उनको प्रेमीले धोका दिएर उनको घर जुवामा उडाइदिएपछि सडकमा आइपुग्छिन्। त्यसपछि उनी राति सडकमा आफ्नो पुरानो कारमा सुत्छिन्। उनको वरिपरि अरु पनि थुप्रै यस्ता मानिसहरु हुन्छन् जो सडकमा कारमा सुत्छन्। उनीहरुको कुनै बचत हुँदैन, कुनै बिमा हुँदैन। कुनै गतिलो जागिर वा आयस्रोत हुँदैन। अचानक साह्रो बिरामी परिहाले उपचार गर्ने उपाय हुँदैन।
पाउलाले अमेरिकाको जोखिममा परेका निम्न तह वा तप्काका, निम्न वर्गीय नागरिकहरुका प्रतिनिधित्व गर्छिन्। के अमेरिका उनीहरुको लागि स्वर्ग छ त ? के अमेरिका उनीहरुका लागि स्वर्ग छ भन्न सकिन्छ ? अवश्य पनि सकिन्दैन। अमेरिकामा पनि त सीमान्तमा परेका, किनारामा धकेलिएका नागरिकहरुलाई माथि उठाउने खासै व्यवस्था गरिएको रहेनछ नि त। यो सत्य छर्लङ्ग देखिन्छ।
‘मेड’ मा एक गरिब महिलाको जीवनको उथलपुथल, विभिन्न दु:खकष्टबाट अविरल रुपमा गुज्रिरहन्दा उनले भोगेका भोगाइहरु, प्रतिकुल परिस्थितिमा पनि उनले निरन्तर गरेको सङ्घर्ष र जीजिबिषा एकदमै प्रभावकारी ढंगले प्रकट भएर आएको छ।
गरिब, संसाधनहरुबाट बञ्चित भएता पनि ‘मेड’ की प्रमुख महिला पात्र एलेक्स र पाउला जुझारु लाग्छन्। उनीहरुमा जीवनप्रति असीम जीजिबिषा पाइन्छ। उनीहरु दुवैको जीवन असुरक्षित छ। उनीहरुसँग सम्पत्ति छैन, गतिलो रोजगार छैन, आयस्रोत छैन, गतिलो सेल्टर पनि छैन। आफ्नो बच्चालाई के खान दिने, के लाउन दिने, उनीहरुको भविष्य के हुने, केही थाहा छैन। उनीहरु स्वयंकै जीवन अनिश्चित छ, जाेखिममा छ तर यसकाे बावजूद पनि उनीहरु पतिको हिंसालाई सहेर बस्दिनन्। पतिले आफुमाथि अत्याचार गरेको सहन्दिनन् र आफ्नो बच्चालाई लिएर आफुमाथि हिंसा गर्ने पतिलाई छोड्ने आँट गर्छन्।
पहिले पाउलाले आफ्नी छोरी एलेक्सलाई लिएर पतिलाई छाड्दा पनि उनीसँग सम्पत्ति, संसाधन, backup केही पनि थिएन र पछि एलेक्सले आफ्नी छोरी म्याडीलाई लिएर पतिलाई छाड्दा पनि उनीसँग केही हुँदैन। न सम्पत्ति, न संसाधन, न कुनै backup. यसका बावजुद पनि उनीहरु दुवैले अत्याचारी पतिसँग सम्बन्धविच्छेद गर्ने आँट गर्छन् र शून्यबाट सङ्घर्ष गर्ने साहस गर्छन्, सा-साना त्यान्द्रोलाई समात्दै भए पनि अघि बढ्ने साहस गर्छन्, गरिबी, अभाव, दु:खकष्ट, जोखिम, भोक-प्यास, बिचल्ली भोग्दै पनि चुनौतीहरुको सामना गर्दै जीवनलाई अघि बढाउने साहस गर्छन्।
तसर्थ, ‘मेड’ का दुवै प्रमुख महिला पात्रहरु एलेक्स र उनकी आमा पाउला जुझारु लाग्छन्। लडाकु लाग्छन्। मलाई लाग्छ, ‘मेड’ ले घरेलु हिंसामा परेका तमाम् महिलाहरुलाई परिस्थितिहरुसँग जुध्न र आफ्नो लागि आफै बाटो बनाउन प्रेरित गर्छ। त्यसैले यो एक हेर्न लायक क्रिएशन हो। रोचक कुरा, यसमा आमा-छोरी पाउला र एलेक्सको भूमिका निर्वाह गर्ने अभिनेत्रीहरु एंडी मेकडोवेल र मार्गरेट कवाल्ले वास्तविक जीवनमा पनि आमा-छोरी हुन्।
