फ्रेडरिक एङ्गेल्सको अन्तरवार्ता: साम्यवादका सिद्धान्तहरू

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ कात्तिक

प्रश्न नं १‍. साम्यवाद भनेको के हो ?

सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।

प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?

सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो श्रम बेचेरमात्र उसले जीवन–यापनका साधनहरु प्राप्त गर्दछ । यस वर्गको हर्ष र विस्मात,जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ । संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदूूरहरुको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो ।

प्रश्न नं ३. के त्यसो भए सर्वहारा वर्ग सदैव अस्तित्वमा थिएन ?

सदैव थिएन । गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए र प्रायश: श्रमिक वर्गहरु नै गरीब पनि हुने गर्दथे परन्तु भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरु र यस्ता मजदूरहरु अर्थात सर्वहाराहरु सधैँ अस्तित्वमा थिएनन् । यसरी सदैव नै प्रतिस्पर्धा पनि पुर्णतया स्तन्त्र र असिमित थिएन ।

प्रश्न नं. ४ . सर्वहारा वर्गको जन्म कसरी भयो ?

सर्वहारा वर्गको जन्म औद्योगिक क्रान्तिको परिणामस्वरुप भयो । यस्तो क्रान्ति गत शताब्दीको उत्तरार्धमा इंल्याण्डमा सम्पन्न भएको थियो । त्यसपछि संसारका सबै सभ्य मुलुकहरुमा यो क्रान्ति दोहोरियो । वाष्प यन्त्र, धागो कात्ने कल, लुगा बुन्ने यन्त्रिक तान र अन्य कयौं यन्त्र उपकरणहरुको आविष्कारले गर्दा यो औद्योगिक क्रान्ति सम्पन्न भएको थियो । यी मेशिनहरु ज्यादै महंगा हुन्थे तसर्थ ठूल्ठूला पुँजीपतिहरुले मात्र तिनलाई किन्न सक्दथे । मेशिनहरुले त्यसबेलासम्म अस्तित्वमा रहेका सम्पूर्ण उत्पादन पद्धतिहरुमा हेरफेर ल्याइदिए । र, पहिलाका बढीमात्रामा शिल्पकलामा समेत जमाउँदै लग्यो, यस क्षेत्रका पनि ठूल्ठूला पुँजीपतिहरुले सानातिना शिल्पकारहरुलाई बढीमात्रामा पेल्दै लगे । र, यस्ता ठूल्ठूला शिल्पशालाहरु खडा गरियो जहाँ धेरै प्रकारका खर्चहरुमा किफायत गर्न सकिन्थ्यो । यसको साथसाथै विस्तृत रुपमा श्रम विभाजनसमेत गर्न सकिन्थ्यो । यसको परिणामस्वरुप हामी अहिले यस स्थितिसम्म आइपुगेका छौं कि सभ्य मुलुकहरुमा श्रमका झण्डै सबै शाखाहरुमा कारखानाको उत्पादन पद्धति लागु भैसकेको छ र प्रायः यी सबै शाखाहरुमा शिल्प र कारखानाहरुको ठाउँ वृहत उद्योगले लिइसकेको छ । यसको परिणामस्वरुप पहिलेको मध्यम वर्ग र खास गरी सानातिना शिल्पकारहरु अझ बढी बर्बाद भैइरहेका छन् । कामदारको पहिलेको स्थिति विल्कुलै बदलिएको छ र दुई नयाँ वर्गहरु देखा पर्दै छन्, जसले विस्तार विस्तार अरु सबैलाई निलिरहेका छन् ।

ती हुन्ः

१) ठूल्ठूला पुँजीपतिहरुको वर्ग

यो वर्ग अहिले पनि सबै लागि नभइ नहुने कच्चा पदार्थ तथा औजारहरुसमेतको झण्डै एक मात्र मालिक रहेको छ । यो बुर्जुवाहरुको वर्ग हो अर्थात पुँजीपति वर्ग हो ।

२) केही पनि नहुनेहरुको वर्ग

यो वर्ग पुँजीपतिहरुलाई आफ्नो श्रम वेच्न विवश छ । यसको सट्टामा उसले जीवन धान्नका लागि अत्यावश्यक साधन प्राप्त गर्दछ । यो वर्ग मजदुरहरुको वर्ग अथवा सर्वहारा वर्ग हो ।

प्रश्न नं ५.के कस्ता अवस्थाहरुमा पुँजिपतिलाई सर्वहाराले श्रम बिक्री गर्दछन ?

श्रम पनि अन्य मालहरुजस्तै एउटा माल हो । श्रमको मूल्य पनि तिनै नियमहरुद्धारा निर्धारित हुन्छ जसरी जुनसुकै अर्को बस्तुको मूल्य तोकिन्छ । वृहत उद्योगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तरगत–जे भनेपनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौं–सदैव नै वस्तुको सालाखाला मुल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बरावर हुन्छ । तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ । अनि श्रमको उत्पादनको लागत चाहिं जीवन यापनको निमित्त नभई नहुने साधनहरुको खास त्यो मात्रा हो, जुन मजदूरको लागी उसको कार्यक्षमता जोगाएर राख्न र मजदूरवर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ । यस उद्देश्यकाे निम्ति जति चाहिन्छ त्यसभन्दा बढी मजदूरले पाउँदैन । त्यसैले गर्दा श्रमको मुल्य अथवा ज्याला ज्यादै नै थोरै हुन्छ । र त्यसमा न्युनतम साधनको बराबर हुन जानेछ जुन जीवन धान्नको निम्ति अत्यावश्यक नै हुन्छ । कारोवारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ । तसर्थ मजदूरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाँउछ । ठीक त्यसरी नै कारखानाको मालिकले पनि आफ्नो बस्तुको निमित्त कहिले बढि त कहिले कम रकम पाँउछ । यदि नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाको मालिकले आफ्नो बस्तुको निमित्त उत्पादनको लागतभन्दा कम या बेसी पाँउदैन, ठीक त्यसरी नै मजदूरले पनि सालाखाला त्यस न्युनतमस्तरभन्दा कम या बेसी पाँउदैन । जति बढि मात्रामा वृहत उद्योगले श्रमका सबै शाखाहरुमा नियन्त्रण जमाउँदै लग्ने छ, त्यति नै कडाईका साथ ज्यालाको यो आर्थिक नियम पनि लागु हुँदै जाने छ ।

प्रश्न नं. ६ः औद्योगिक क्रान्तिभन्दा पहिले के कस्ता श्रमिक वर्गहरु अस्तित्वमा थिए ?

सामाजिक विकासका विभिन्नस्तरहरुमा श्रमिक वर्गहरु विभिन्न अवस्थाहरुमा बाँचेका थिए । हुनेखाने र सत्तारुढ वर्गसँग श्रमिकहरुको सम्बन्ध युग अनुसार फरक फरक हुन्थ्यो । प्राचीन कालमा श्रमिकहरु आफ्ना मालिकहरुका दास थिए । ठीक त्यसरी नै जसरी उनीहरु अहिले पनि कैयौं अविकसित मुलुकहरुमा र अझ संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमासमेत दास नै रहेका छन् । मध्ययुगमा उनीहरु कुलीन भूमिपतिहरुका भूदास थिए, जस्तो आजसम्म पनि हंगेरी, पोल्याण्ड र रुसमा छँदैछन् । यसको अतिरिक्त मध्ययुगका शहर औद्योगिक क्रान्ति हुनु अघिसम्म नै शिल्पकारहरु कहाँ काम गर्ने सिकारु शिल्पकारहरु अस्तित्वमा रहेका थिए । ती कारखानाहरुको विकासको साथसाथै विस्तार विस्तार कारखानाका मजदुरहरु देखा पर्दै गए जसलाई ठूल्ठूला पुँजीपतिहरुले काममा लगाउने गरेका थिए ।

प्रश्न नं ७ दास र सर्वहाराको बीचमा के अन्तर छ ?

दासलाई सदाको निम्ति बिक्री गरिएको हुन्छ । सर्वहाराले चाहिँ आफुलाई हरेक घण्टा स्वयं विक्री गरीरहनु पर्दछ । प्रत्यक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो । मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ । त्यसैले दासको जीवन निर्वाहको ग्यारेण्टी हुन्छ । सर्बहाराको श्रम चाहिँ त्यसैबेला मात्र किनिन्छ जब कसैलाई त्यो आवश्यक पर्न जान्छ । सर्वहाराको उसको जिविका अनिश्चित हुन्छ । सर्वहाराको पुरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ । दासले प्रतिस्पर्धा गर्नु पर्दैन, परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरुमा रहनुपर्दछ र त्यसमा भैरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ । दास चाहिँ चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरिक समाजको सदस्यको रुपमा विचार गरिँदैन । सर्वहारालाई भने व्यक्तित्व अर्थात नागरिक समाजको सदस्य मानिन्छ । यसैले सर्वहाराको तुलनामा दासको जिविका बढी सुगम हुन्छ, तर, सर्वहारा चाहिँ यस्तो समाजको उपज हो । जुन विकासको बढि उच्च खुड्किलोमा रहेको हुन्छ र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्चस्तरमा रहन्छ । दासले आफुलाई त्यतिबेला मुक्त तुल्याउँछ । जब उसले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरु मध्य एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मुल पार्दछ र यसको परिणाम स्वरुप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्द छ । सर्वहाराले चाहिँ आफुलाई त्यसबेला मात्रै मुक्त गर्न सक्दछ जव उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ ।

प्रश्न नं ८. भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?

उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन् । यसको निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ । सर्वहाराले चाहिँ अर्काको मातहतमा रहेका उत्पादनका साधनहरुद्धारा काम गर्दछ र अर्कैको निमित्त काम गरेर यसको सट्टामा आम्दानीको एक हिस्सा पाउँछ । भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ । भुदासको जीविका सुनिश्चत छ । सर्वहाराको जीविका अनिश्चित छ । भूदास प्रतिस्पर्धाभन्दा बाहिरै रहन्छ ,तर सर्वहारा चाहिँ प्रतिस्पर्धाका अवस्थाहरुमा निर्भर रहन्छ । भूदासले आफुलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानु पर्छ, त्यहाँ शिल्पकार बन्नु पर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमीपतिलाई काम अथावा वस्तुको बदला पैसा बुझाउनु पर्दछ, या त उसले आफ्नो जग्गावाललाई निकालेर स्वयं नै जग्गा धनि बन्नु पर्दछ । छोटकरीमा भन्ने हो भने उसले आफुलाई त्यसवेला मात्र मुक्त तुल्याउन सक्छ, जुन बेला उ कुनै न कुनै रुपमा सम्पति हुने वर्गको पंत्तिमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ । सर्वहाराले चाहिँ आफुलाई त्यतिखेर मात्र मुक्त गर्दछ जब उसले प्रतिस्पर्धा, व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरुलाई नै नामेट पारिदिन्छ ।

प्रश्न नं ९ नयाँ सामाजिक व्यवस्था कस्तो हुनु पर्दछ ?

सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरुको संचालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तिहरुको हातबाट खोसेर लिईने छ । यसको सट्टा उत्पादनका सबै शाखाहरु सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन । अर्थात समाजका हितहरुलाइ ध्यानमा राखेर सामाजिक योजनाअनुरुप तिनको संचालन गरिने छ, जसमा समाजका सबै सदस्यहरुले भाग लिनेछन् । यसरी यो नयाँ सामाजिक व्यवस्थाले प्रतिस्पर्धालाई निर्मूल पारिदिने छ । र, त्यसको ठाँउमा एउटा संस्था नै खडा गरिदिने छ । विभिन्न व्यक्तिहरुद्धारा उद्योग–व्यवसायको संचालन गरिनुको अनिवार्य परिणाम नै व्यक्तिगत स्वामित्व हो ।

श्रोत:  कम्युनिष्ट पार्टीको घोषणापत्र प्रगति प्रकाशन सोभियत संघ (हामीले चाहिँ यसलाई राताेलालटिन डटकमबाट साभार गरेका हाैं। ) : सम्पादक

मा प्रकाशित