बैंक तथा वित्तीय संस्था बाग्मती प्रदेशमा केन्द्रित

गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो ।

प्रस्तुत अध्ययनले विभिन्न परिसूचकको विश्लेषणका आधारमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा न्यून रहेको देखाएको छ ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ३४ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम ४ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा १.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३ प्रतिशत रहेको छ ।

यस्तै, कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १.२ र सुदूरपश्चिम प्रदेशमा ३.० प्रतिशत रहेको छ ।

अध्ययनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक विस्तार भइरहेको अध्ययनले देखाएको छ ।

 

मा प्रकाशित