पश्चिम नवलपरासीस्थित सुनवल- १३ मा एउटा बाटाेकाे नाम जनसेना पथ नामाकरण गरिएको छ । सुनवल नगरपालिका- १३ सुर्यवस्तीको एउटा टोलमा जाने बाटोको नाम पुर्वजनमुक्ति सेनाको सम्मानमा जनसेना पथ घोषणा गरिएको सुनवल नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष कृष्ण देवकोटाले बताएका छन ।
गणतन्त्र ल्याउनका लागि सामन्ति शाही नेपाली सेनाका विरुद्धमा बहादुरीका साथ लडेका पुर्व जनमुक्ति सेना नेपालको सम्मानमा यस बाटोका नाम अबदेखि जनसेना पथ रहने गरी बोर्ड राखेर बाटोको नाम जनसेना पथ राखिएको पुर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर अविर विकले बताएका छन् ।
जनसेना पथ घोषणा कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका पुर्व जनमुक्ति सेनाहरु सैन्य पोशामा उपस्थित भएका थिए भने कार्यक्रममा नेता कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
माओवादीद्धारा गठित पुर्वजनमुक्ति सेनाहरु सेना समायोजनको प्रकृयामार्फत केही नेपाली सेनामा समायोजन गरिएको थियो भने अन्य जनसेनाहरुलाई सरकारले नै विभिन्न प्रकारका अनुदान उपलब्ध गराई विदा गरेको थियो । सेना समायोजन भएपछि नेकपा माओवादीद्धारा निर्माण गरेको जनमुक्ति सेना नेपालको संरचना विधिवतरुपमा भंग गरिएको थियो ।
गणतन्त्र ल्याउनका लागि पुर्वजनमुक्ति सेना नेपालले महत्वपुर्ण भुमिका खेलेको भए पनि सेना समायोजनपछि पुर्वजनमुक्ति सेनाको पहिचान विलिन हुदै गएको अवस्थामा विभिन्न स्थानमा पुर्वजनसेनाको सम्मान र सम्झनामा पथहरुको नामाकरण गर्ने, शहिदहरुको सालिक स्थापना गर्ने, परिवर्तनका लागि गरिएको आन्दोलन र सहादतलाई सामाजिकीकरण गर्ने योजना अन्तर्गत यस्ता कामहरु गरिँदै आएको पुर्वजनमुक्ति सेनाका कम्पनी कामण्डर विकले बताएका छन्।