आजकाे मेराे सिनेमा हाे, मृणाल सेनकाे ‘भुवन शाेम’।
‘भुवन शाेम’ लाई भारतमा न्यू वेभ सिनेमा (New Wave Cinema), आर्टहाउस सिनेमा (Arthouse Cinema) वा समानान्तर सिनेमा (Parallel Cinema) काे सुरुवात गर्ने सिनेमाकाे रूपमा लिइन्छ। ५१ वर्ष पहिले प्रदर्शन भएकाे ‘भुवन शाेम’ ती थाेरै भारतीय सिनेमाहरु पर्दछ जसले अन्तर्राष्ट्रिय स्तरमा भारतीय सिनेमाहरुलाई चिनायाे, जसले अन्तर्राष्ट्रिय स्तरमा भारतकाे गाैरव बढायाे।
‘भुवन शाेम’ काे प्रमुख पात्र हाे, भुवन शाेम उर्फ शाेम बाबु (उत्पल दत्त) जाे रेल्वे विभागकाे एक कठाेर र अनुशासनप्रिय अधिकृत हाे। उसकाे नियम कडा छ। उसले नियम र अनुशासनकाे पालना नगर्दा आफु मातहत काम गर्ने आफ्नाे छाेरालाई समेत छाेडेन। उसले आफ्नाे छाेरालाई समेत कारवाही गर्याे। एक विदुरकाे जीवन जिइरहेकाे शाेम बाबुकाे जीवन पनि ऊ जस्तै रूखाे छ, निरस छ, यान्त्रिक छ, एकाकी छ, जहाँ कुनै भावना छैन, कुनै उत्साह छैन, कुनै उमङ्ग छैन। हर्ष र प्रेमकाे त थाेपा-छिटा पनि छैन उसकाे जीवनमा। उसकाे जीवनमा सबथाेक रुखा-सुखा छन्।
एकदिन शाेम बाबु आफ्नाे दैनन्दिन जीवनदेखि बाहिर निस्किन्छ र पंक्षीकाे सिकार गर्न गुजरातकाे, कच्छ इलाकातर्फ लाग्छ। त्यहाँ उसकाे भेट गाउँकी एक चञ्चल केटी गाैरी (सुहासिनी मुले) सँग हुन्छ, जसकाे घरमा ऊ विश्राम गर्छ। गाैरीले उसकाे खुब खातिरदारी गर्छे, उसलाई पंक्षीकाे सिकार गर्न साथ दिन्छे, सिकार गर्नमा सहयाेग पनि गर्छे। गाैरीकाे व्यवहारबाट शाेम बाबु प्रभावित हुन्छ।
गौरीकाे हुनेवाला पति पनि रेल्वेकाे कर्मचारी हुन्छ, जसकाे कारवाहीकाे फाइल शोम बाबुकाे टेबलमा हुन्छ। गौरी यस कुराबाट अन्जान हुन्छिन्, तर शोम बाबुले गाैरीकाे घरमा उनकाे हुनेवाला पतिकाे तस्वीर देखेर र स्वयं गाैरीकाे कुरा सुनेर जब थाहा पाउँछ कि ऊ जुन युवती (गाैरी) काे सहयाेग र मेजमानीकाे आनन्द उठाइरहेकाे छ, उनकाे हुनेवाला पतिकाे भ्रष्टाचारकाे मामिला उसकाे टेबलमा विचाराधीन छ।
अब शोम बाबुकाे ‘जीवनलाई नियम-कानुनकाे अक्षरश: पालना गरेर जिउने’ मान्यता बदलिन थाल्छ। गौरीसँगकाे सानिध्यले शाेम बाबुकाे जीवनलाई पूर्ण रूपमा बदलिदिन्छ। ऊ संवेदनशील, प्रेमिल, उदार र जीवन्त हृदयकाे व्यक्ति बन्न पुग्छ। अब ऊ हाँस्छ पनि, नाँच्छ पनि, प्रफुल्लित पनि हुन्छ। अब ऊ आफ्नाे छाेरालाई जसरी गाैरीकाे हुनेवाला पतिलाई कारबाही गर्दैन, बरू पुरस्कृत गरेर छाेडिदिन्छ।
‘भुवन शाेम’ ले एक भ्रमणकाे क्रममा सहरी, सम्भ्रान्त ब्युराेक्र्याट शाेम बाबुकाे चरित्र र जीवनमा आएकाे परिवर्तन र उसकाे सुखद् अनुभूतिलाई रेखाङ्कित गर्दछ। उसकाे याे परिवर्तनमा गाैरीसँगकाे सानिध्यकाे निर्णायक भूमिका हुन्छ। गाैरीसँगकाे सानिध्यपछि नै शाेम बाबुले दया, करुणा, समभाव, समानुभूति, आत्मीयता र आफ्नाेपन जस्ता भावलाई अनुभूत गर्न र आफुभित्र विकसित गर्न सिक्छ। निस्वार्थ प्रेम भनेकाे के हाे भन्ने कुरा उसले गाैरीबाट नै थाहा पाउछ। अन्तत: ऊ भित्रैदेखि बदलिन्छ। ऊ संवेदनशील, उदार, आत्मीय र जीवन्त बन्न पुग्छ।
गाैरीलाई आफूले सिकार गर्ने क्रममा पक्रेकाे हाँस सुम्पिनु, उनकाे हुनेवाला पतिलाई माफ गरिदिनु अनि अफिसमा उसले गरेकाे उछलकुदले उसकाे परिवर्तित व्यक्तित्वलाई दर्शाउछ। कच्छकाे यात्रादेखि फर्किएपछि शाेम बाबु पहिलेकाे शाेम बाबु रहन्दैन। ऊ अर्कै शाेम बाबु बनिसकेकाे हुन्छ। यसरी एउटा सम्भ्रान्त, सम्पन्न ब्युराेक्रयाटलाई एक निर्धन, गरिब र सरल गाउँले केटीले ख्याल-ख्यालैमा यस्ताे अमुल्य उपहार दिएर पठाउछिन् जसलाई शाेम बाबु आफ्नाे सारा सम्पत्ति खर्चेर पनि किन्न सक्दैनथ्याे।
‘भुवन शाेम’ मा मृणाल सेनले ‘हामीले काेठाभित्र मात्र जीवन बिताउदा हाम्राे सामाजिक तथा संवेगात्मक विकास हुन पाउदैन’ भन्ने सत्यलाई दर्शाएका छन्। याेभन्दा पनि गहन कुरा, यस सिनेमाकाे माध्यमबाट सेनले हाम्राे जीवनमा प्रेम र उमङ्गकाे महत्वलाई रेखाङ्कित गरेका छन्। ‘जीवनलाई सँधै नियमहरुले बाँधिराख्ने हाे भने जीवन यान्त्रिक र बेमज्जाकाे बन्न पुग्छ। जीवनलाई उन्मुक्त ढंगले जिउन सके, उत्साह, उमङ्ग र प्रेमले भर्न सके, हृदयलाई प्रेम र मानवीय भावनाले जीवन्त बनाउन सकेमात्र जीवन उल्लासमय हुन्छ’ भन्ने सन्देश मृणाल सेनले ‘भुवन शाेम’ मार्फत दिएका छन्।
उनकाे याे साेचलाई छाँयाकार के. के. महाजनले अत्यन्त मेहनतका साथ आफ्नाे उत्कृष्ट छायांकनद्वारा यस सिनेमामा स्थापित गरे। समानान्तर सिनेमालाई श्यामश्वेत छायांकनकाे माध्यमबाट काव्यात्मक उचाइसम्म लिएर जाने महाजनले लगभग याे पूरै सिनेमालाई प्राकृतिक उज्यालाेमा शूट गरेका थिए। काेठाभित्रका दृष्यहरु खिँच्दा उनले छतबाट खपरैल वा इँटाहरुलाई हटाएर बाहिरी प्रकाश काेठाभित्र छिर्न दिई त्यहीँ प्रकाशमा काेठाभित्रका दृष्यहरु खिचेका थिए। के. के. महाजनले शोम बाबु र गाैरीका क्लोज अप, मिड शट तथा मरुभूमिकाे लङ शटकाे माध्यमबाट शोम बाबु र गौरीका बीच भावनात्मक सम्बन्धलाई सफलतापूर्वक स्थापित गरेका थिए।
तत्कालीन समयका सिनेमाका प्रचलित ढाँचा वा ढर्राहरूदेखि अलग रहेर याे सिनेमालाई बनाइएकाे थियाे। ‘भुवन शाेम’ मा न कुनै फर्मुला थियाे, न कुनै मसाला। यसमा न कुनै स्टार थिए, न कुनै मेलाेड्रामा। मृणाल सेनकाे अप्राेच अत्यन्त ‘रियलिस्टिक’ थियाे। यस सिनेमालाई रियल लाेकेसनमा शूट गरिएकाे थियाे। यसमा प्राकृतिक ध्वनि तथा स्थानीय लाेकधुनकाे उपयाेग गरिएकाे थियाे। नितान्त भिन्न शैलीमा यस सिनेमालाई ‘न्यारेट’ गरिएकाे थियाे अनि पहिलाेपटक हिन्दी सिनेमामा ‘भ्वाइसओभर’ काे प्रयाेग गरिएकाे थियाे। मृणाल सेनकाे यस सिनेमामा उनकाे गुरु सत्यजीत रे काे सिनेमा निर्माण शैलीकाे स्पष्ट छाप देख्न सकिन्थ्याे। फिल्ममा हाँस्य पनि थियाे, तर हिन्दी सिनेमाकाे परम्परागत हाँस्यभन्दा बिल्कुलै अलग। ‘भुवन शोम’ लाई त्यसै आधुनिक भारतीय सिनेमाकाे काेशेढुङ्गा भनिएकाे हाेइन।
‘भुवन शाेम’ काे बजेट एक लाख रुपैयाँ थियाे, तर कोही पनि यस सिनेमामा पैसा लगाउन तयार भएन। तब मृणाल सेनले नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (NFDC) बाट आर्थिक सहयोग लिएर यस सिनेमालाई बनाए तर प्रदर्शनकाे समुचित व्यवस्था गर्न सकेनन्। जसकाे कारण धेरै सहरमा याे सिनेमा प्रदर्शन नै हुन सकेन। त्यसपछि यस सिनेमालाई फिल्म फेस्टिबलहरुमा देखाउन थालियाे। फिल्म फेस्टिबलहरूकै मञ्चबाट यस सिनेमाले अन्तर्राष्ट्रिय ख्याति हासिल गर्याे। आज ‘भुवन शाेम’ लाई एक कल्ट क्लासिक सिनेमा मानिन्छ र यसलाई हिन्दी सिनेमाकाे इतिहासमा न्यू वेभ सिनेमा, आर्टहाउस वा समानान्तर सिनेमाकाे जग हाल्ने पहिलाे सिनेमा मानिन्छ।
‘भुवन शोम’ थुप्रै सिनेकर्मीकाे पहिलाे फिल्म थियाे। निर्देशककाे रूपमा मृणाल सेनकाे याे पहिलाे हिन्दी फिल्म थियाे। उत्पल दत्त नामी बांग्ला रंगमञ्चका अभिनेता थिए, तर हिन्दीमा याे उनकाे पहिलाे फिल्म थियाे। यस्तै सुहासिनी मुलेकाे पनि याे पहिलाे फिल्म थियाे। दुवैले आ-आफ्ना भूमिकालाई साकार पार्न कुनै कसर छाेडेका थिएनन् अनि यही फिल्ममा पहिलाेपटक अमिताभ बच्चनकाे आवाज सुनिएकाे थियाे। पछि शताब्दीकाे महानायक भए पनि त्यतिबेलाका बेराेजगार अमिताभ बच्चनले यस फिल्ममा सूत्रधारकाे काम गरेका थिए। (जसकाे लागि उनलाई ५० रुपैयाँ पारिश्रमिक दिइएको थियाे)। छाँयाकार के. के. महाजन र संगीतकार विजय राघव रावकाे पनि याे पहिलाे फिल्म थियाे।
‘भुवन शाेम’ र यसका निर्देशक मृणाल सेनले सन् १९६९ मा क्रमश: सर्वश्रेष्ठ फिल्म र सर्वश्रेष्ठ निर्देशककाे राष्ट्रिय फिल्म पुरस्कार जिते भने उत्पल दत्तले सर्वश्रेष्ठ अभिनेताकाे राष्ट्रिय फिल्म पुरस्कार जिते। ‘भुवन शाेम’ बलाइ चन्द मुखाेपध्यायकाे एक बाँग्ला कथामाथि आधारित थियाे। ‘भुवन शोम’ काे नाम नलिइकन आज जहाँसुकै गरिने भारतकाे कालजयी सिनेमाहरूकाे चर्चा पूरा हुँदैन।
@Prabhas733