सकपमा कर्मचारी संगठनकाे नयाँ नेतृत्व चयन, अध्यक्षमा सर्वसम्मत रूपमा विकुल कुमार आचार्य

शिखा पौडेल, काठमाडौँ/१४ भदौ

समाज कल्याण परिषद्‌मा कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन) काे निर्वाचन सम्पन्न भएको छ ।  गत शुक्रबारका दिन सम्पन्न कर्मचारी संगठनको महाधिवेशनले विकुल कुमार आचार्यको नेतृत्वमा १३ सदस्य रहेको कार्यसमिति चयन गरेको हो । विधानअनुसार एक जना सदस्य पछि मनोनयन गरिने छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित ४ पदाधिकारी र ९ सदस्य गरी १३ जना रहने व्यवस्था छ ।

नवनियुक्त्त अध्यक्ष आचार्यले आगामी दिनमा परिषद्को समग्र सुधार र कर्मचारीहरूको हकहितका पक्षमा संगठन केन्द्रित रहने बताएका छन् । गणतन्त्र नेपालसँगको कुराकानीमा अध्यक्ष आचार्यले भनेका छन्- ‘पेशागत मर्यादामा रहेर कर्मचारी र संस्थागत हितका निम्ति काम गरिनेछ ।’

के हो समाज कल्याण परिषद्  ?

नेपाल सरकारद्धारा समाज कल्याण ऐन, २०४९ को अधीनमा रहि सामाजिक कल्याणका कार्यसँग सम्बन्धित विभिन्न क्रियाकलापहरूबाट देशको सर्वाङ्गीण विकासमा टेवा पुर्या‍उनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा सामाजिक संघ संस्थाहरूमार्फत समाज कल्याण कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले समाज कल्याण परिषद्को स्थापना गरिएको हो। यसको प्रधान कार्यालय ललितपुर पुल्चोकमा अवस्थित छ ।

नेपालमा करिब ५२ हजार राष्ट्रिय गैरसरकारी संस्था र २०० बढि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कार्यरत रहेका छन् । जसकाे नियमन समाज कल्याण परिषद्‌ले गर्दै आएको छ । यी एनजीओ र आइएनजीओहरूमार्फत प्रत्येक वर्ष करिब ४० अर्ब रुपियाँ बराबरको लगानी नेपाल भित्रिने गरेकाे छ । जसमार्फत नेपालमा गरिबी उन्मूलनदेखि भौतिक पूर्वाधार निर्माणसम्म, शिक्षा, स्वास्थ्य, वातावरण, रोजगार, युवा, दलित, महिलालगायतका विभिन्न शीर्षकमा कार्य हुँदै आएको छ ।

यस्तो छ निर्वाचित कार्यसमितिको संरचना ।

अध्यक्ष – विकुल कुमार आचार्य

उपाध्यक्ष – यमुना वाग्ले

सचिव- महेश कुमार राई

काेषाध्यक्ष – अर्जुन थापा

सदस्यहरू – कृष्णमान सिं

खगनाथ रेग्मी

याेगेन्द्र राई

दिपक नेपाल

शेर बहादुर विक

सत्य नारायण महत्ताे

रुपक सञ्जेल

चन्द्रकला न्याैपाने

एक जना रिक्त ……(विधानकाे व्यवस्थाअनुसार मनाेनित गरिने)

मा प्रकाशित