‘हेलाे’ (१९९६):- एक बालिकाकाे संवेगात्मक विकासकाे कथा

सिनेमा चर्चा

प्रभाष

‘हेलाे’ एक अनाैठाे सिनेमा हाे। याे हिन्दी सिनेमामा अहिलेसम्म प्रचलित ट्रेण्डका सिनेमाहरुभन्दा फरक सिनेमा हाे। याे एक बालिकाकाे जीवनकाे भावनात्मक उतारचढावकाे कथा हाे।

आमा बिनाकी एक बालिका शाशा आमाकी वात्सल्यकाे अभावमा सधै न्यास्राे महसुस गर्छिन्। उनकाे न्यास्राेपनालाई मेट्न एकदिन ख्याल-ख्यालैमा उनकाे घरकाे नाेकरले उनलाई भगवानले दुई-चारदिनमै चमत्कार गर्ने बताउँछन्। माेटाे पावर लेन्सले हस्तरेखा हेरेर भविष्य बताउने ज्याेतिषीले पनि उनलाई छिट्टै चमत्कार हुने बताउँछन्। आँखालाई ठण्डक पुर्‍याउने आभामण्डलका साथ त्याे चमत्कार प्रकट हुने ज्याेतिषी बताउँछन्।

यसरी चमत्कारकाे कुरा उनकाे बाल मस्तिष्कमा राेपिदिएपछि शाशा त्यही चमत्कारकाे प्रतीक्षा गर्न थाल्छिन्। अनि एकदिन भगवानकाे चमत्कार कुरेर बसिरहेकी शाशाकाे सामुन्ने एउटा सानाे कुकुरकाे बच्चा आइपुग्छ। शाशा त्यसैलाई भगवानले पठाइदिएकाे चमत्कार ठानेर माया गर्न थाल्छिन्, र कुकुरकाे नाम राखिदिन्छन्, ‘हेलाे’। ‘हेलाे’ अर्थात् प्रकाशमय आभामण्डल।

शाशा र हेलाे

शाशाकाे मुहारमा हाँसाे फर्किन्छ। उनकाे हाँसाे र खुशी देखेर कुकुर मन नपराउने उनकाे बाबु पनि चुप लागिदिन्छ। अब शाशा दिनरात हेलाेसँग खेल्छिन्। शाशा हेलाेलाई अत्यन्त माया गर्छिन्, उनी हेलाेलाई आफ्नै काेठामा राख्छिन्, उनी हेलाेकाे खुब ख्याल राख्छिन्। तर एकदिन अचानक उनकाे कुकुर हेलाे हराउँछ।_

शाशा कुनै पनि हालतमा हेलाेलाई खाेजेरै निकाल्ने अठाेट गर्छिन् र हेलाेलाई खाेज्न बाहिर निस्कन्छिन्। सात बर्षीया बालिका शाशाकाे बम्बईकाे अपरिचित र भूलभुलैयाजस्ता सडकहरुमा आफ्नाे कुकुर हेलाेकाे खाेजी गर्ने काम तब पेचिलाे बन्न पुग्छ जब उनी एकपछि अर्काे आइडियाेसाइक्रेटिक व्यक्तिहरुलाई भेट्न पुग्छिन्। ग्याङस्टारहरुदेखि लिएर पुलिस अफिसरहरुसम्म, एक से एक आइडियाेसाइक्रेटिक व्यक्तिहरु शाशाकाे पछि लाग्छन्। त्यसपछि के हुन्छ? के उनी सबै बाधा-अड्चनलाई पन्साएर हेलाेसम्म पुग्न सफल हुन्छिन् त? त्याे थाहा पाउन चाहिँ याे सिनेमा नै हेर्नुपर्छ।

शाशाकाे पिता र शाशा

‘हेलाे’ ले मूलत: शाशा नामक एक बालिकाकाे संवेगात्मक विकासलाई रेखाङ्कन गर्छ। उनकाे बाल मनाेदशाकाे चित्रण गर्छ। बाल मनाेविज्ञानसँगकाे अनाैठाे साक्षात्कार, टिनएज लव, बर्सात्, समुन्द्र किनार वा राजमार्ग मुन्तिर बड़बड़ टक शाे चलाउने भुराभुरीहरु आदिले यस सिनेमामा अनाैठाे मनाेविज्ञान, अनुभूति वा नाेस्टाल्जियाकाे निर्माण गर्छन्। यस सिनेमालाई हेरिरहँदा अब के हाेला, अब के हाेला भन्ने जिज्ञासाले हरपल कुत्कुत्याइरहन्छ। शाशाकाे कुकुर हेलाे हराएपछि त याे जिज्ञासापूर्ण कुत्कुत्याइ बढ्दै जान्छ र अन्तत: चरमबिन्दुमा पुग्छ। थ्रिल, कमेडी, म्याडनेस र इमाेशन्सकाे सम्मिश्रित बहावमा बहँदै जाँदा यसकाे कथा क्लाइमेक्समा पुग्छ।

याे सिनेमा आफैमा युनिक छ। यसकाे न्यारेशन, संगीत, सिनेमाटाेग्राफी सबै युनिक छन्। प्रख्यात सिनेमाटाेग्राफर सन्ताेष सिवनले यस सिनेमाकाे निर्देशन गरेका हुन्। उनकाे निर्देशन शानदार छ। अर्काे प्रख्यात निर्देशक राजकुमार सन्ताेषीले यस सिनेमामा एक्टिङ गरेका छन्। सन्ताेषीले फुल फ्लेज्ड राेलमा एक्टिङ गरेकाे याे अहिलेसम्मकै एकमात्र सिनेमा हाे। यस सिनेमामा अभिनय गर्ने सबै कलाकारले आ-आफ्नाे भूमिका राम्राेसँग निर्वाह गरेका छन्। यस सिनेमामा सबैभन्दा अविस्मरणीय अभिनय चाहिँ शाशाकाे केन्द्रीय चरित्र निभाउने बाल कलाकार बेनाफ दादाचंदजीकाे लाग्छ जसकाे लागि उनले राष्ट्रिय फिल्म समाराेहमा ‘स्पेशल ज्युरी अवार्ड’ जितेकी थिइन्। राष्ट्रिय फिल्म पुरस्कारमा स्पेशल ज्युरी अवार्डलाई सर्वाधिक महत्वकाे अवार्ड मानिन्छ जुन अवार्ड बेनाफ दादाचंदजीले जितेकी थिइन्। यस सिनेमाकाे कथामा कुकुरकाे भूमिका पनि महत्त्वपूर्ण छ।

शाशा र हेलाे

यस सिनेमामा पागलपनकाे बावजूद मानवीय संवेदना, समभाव र समानुभूति छ। लव, सेयरिङ र केयरिङकाे भावना छ। यस सिनेमाकाे क्लाइमेक्स यस्ताे छ जसले तपाई‌ंलाई एकसाथ खुशी र दु:खी बनाइदिन्छ। एकसाथ तपाईंलाई हसाउँछ पनि, रुवाउँछ पनि। एकसाथ तपाईंकाे मुहारमा मुस्कान र आँखामा आँशु ल्याइदिन्छ, एकसाथ घाम पनि लागेजस्तै र पानी पनि परेजस्तै। खासमा यसकाे क्लाइमेक्सले शाशामा आएको मानसिक परिपक्वतालाई दर्शाउँछ। यसप्रकार, अबाेधपनादेखि परिपक्वतासम्मकाे शाशाकाे मानसिक यात्राले पूर्णता पाउँछ।

हेलाे, शाशा र उनकाे साथी

यस सिनेमामा थुप्रै साना-साना कुराहरु पनि नाेटिसेबल छन्। जस्तै, बम्बईकाे एसेन्सलाई सिनेमामा जसरी क्याप्चर गरिएकाे छ, त्याे नाेटिसेबल छ। राजमार्गमुन्तिर बड़बड़ शाे संचालन गर्दै हिड्ने भुराभुरीहरु आजकाे युट्युबेहरुकाे पूर्व सँस्करणजस्ताे लाग्छ। सन् १९९५ काे बम्बईकाे साम्प्रदायिक दंगाकाे बाछिटा पनि हामी यस सिनेमामा देख्न सक्छाैं। दंगाकाे बीचमा हाँसिरहेकाे अबाेध शिशु, हातमा ठूलाे माेटाे लेन्स लिएर पुलिसले बन्दुक बाेकेकाे तस्वीर हेर्दै ‘गडमेड र म्यानमेड’ भन्दै बडबडाइरहेकाे बालक अनि यही बालकले आफ्नाे सम्पादक बाबुलाई ‘याे दंगा गडमेड हाे कि म्यानमेड?’ भनेर साेध्दा जवाफमा उसकाे बाबुले ‘म्यानमेड बट् फर गड’ भनेकाे दृष्य नाेटिसेबल छन्। तपाईंले ध्यान दिएर हेर्नुभयाे भने पाउनुहुनेछ कि यस सिनेमाका बाल पात्रहरु उमेरले केटाकेटी भएपनि वयस्कहरुले जस्तै व्यवहार गर्छन्।

‘हेलाे’ एक सत्य घटनाबाट प्रेरित छ। निर्देशक सन्ताेष सिवनले चिनेकाे एउटी केटीले निकै माया गरेर पालेकाे कुकुर एकदिन हरायाे। उनले आफ्नाे हराएकाे कुकुरलाई खाेजेरै छाेड्ने दृढनिश्चय प्रकट गरिन् जसले सिवनलाई याे सिनेमा बनाउने आइडिया दियाे। सिवनले यस सिनेमालाई सम्भव भएसम्म रियलिस्टिक अप्राेचका साथ खिच्ने प्रयत्न गरे। सिनेमाकाे नेचरअनुसार रियलिस्टिक अप्राेच। जसकाे कारण याे सिनेमा लाउड हुनुका साथसाथै डाउन टु अर्थ पनि छ। याे सिनेमाकाे परिवेश बम्बई रहेकाे छ र सिवनले याे सिनेमामा बम्बईलाई भित्रैबाट यसरी खिचेका छन् कि त्याे कालातीत लाग्छ। उनले यस सिनेमामा सडक बालकहरुलाई पनि सहभागी गराएका छन्।

शाशाकाे पिता, शाशा, हेलाे र उनकाे साथी

यस सिनेमाकाे सिनेमाटाेग्राफी पनि युनिक छ जसकाे आफ्नै महत्व छ। यहाँ परम्परागत ट्रली शट्हरु छैनन्। यस सिनेमाकाे धेरैजसाे भाग सन्ताेष सिवनले क्यामेरा हातले बाेकेर दाैडिन्दै खिचेका हुन्। यसकाे शट्हरुमा विविधता छ। सिवनले एउटै शट्काे दाेस्राे टेक लिनुपर्दा पनि त्याे शट्लाई उहीँ एंगल र अप्राेचका साथ खिचेनन्। बरु अर्कै एंगल र अप्राेचका साथ खिचे। त्यस्तै, यस सिनेमाकाे सम्पादन पनि युनिक तरिकाले सम्पन्न गरिएकाे थियाे। पहिलाेपटक कुनै सिनेमाकाे सम्पादन गरिरहेकी कनिका मयेरले ध्वनिका साथ यस सिनेमाकाे सम्पादन गरेकी थिइन्। आजसम्म कुनै पनि सम्पादकले ध्वनिका साथ सिनेमाकाे सम्पादन गरेकाे सुनिएकाे थिएन। यस सिनेमाकाे सम्पादन कार्य पाँच-छ दिनमा पूरा गरिएकाे थियाे।

यस सिनेमालाई सीमित बजेटमा बनाइएको थियाे। यसअघि अरुकाे सिनेमाहरुमा काम गर्दा भव्य खर्च गरेर तयार पारिएका ब्याकग्राउण्ड, सेटहरु र इक्विपमेन्टहरुका साथ काम गर्ने बानी परेका सिवनलाई आफ्नाे सिनेमामा सीमित बजेटमा काम गर्दा उनकाे रचनात्मकता पनि संकुचित हुन जाने अनुमानहरु गरिएका थिए तर त्यस्ताे केही पनि भएन। बरु उनले सीमित बजेटमै सुन्दरता देखे। प्रशस्त पैसा खर्चेर पनि फिल्ममेकरहरुले अन्त्यमा औसत वा साधारण नतिजा हात पार्ने गरेकाे धेरै उदाहरण देखिसकेका सिवनले सीमित बजेटभित्र कम खर्चमै उत्तिकै स्तरीय शटहरु कसाे गरेर लिन सकिएला भन्नेबारे दिमाग खियाउने, आफ्नाे कल्पनाशक्ति र रचनात्मक शक्तिकाे पूर्ण उपयाेग गर्ने माैका यहाँ पाए। त्यसैले त यस सिनेमाकाे क्यामेरावर्क लाजवाब बनेकाे छ। यसकाे हरेक फ्रेम, हरेक शट्मा उनकाे कल्पनाशक्ति, रचनात्मकता र मेहनत झल्किएकाे छ।

सन् १९९२ मा मलायलम सिनेमा ‘याेद्धा’ (जसकाे केन्द्रमा पाँच बर्षकाे बच्चा थियाे) काे छायांकन गरिरहँदा सन्ताेष सिवनले केटाकेटीहरुसँग सिनेमा खिच्ने इच्छा व्यक्त गरेका थिए। कालान्तरमा उनी यस्ताे सिनेमा बनाउने बिन्दुमा पुगे जसकाे कथा प्रधानत: केटाकेटीहरुकै वरिपरि घुम्छ।

यस सिनेमाकाे निर्माण गर्नु सिवनकाे लागि एउटा राेचक र बिर्सन नसकिने अनुभवकाे रुपमा रहयाे। उनकाे सिनेमाका केटाकेटीहरु यति म्याचर्ड बिहेभ गर्थे कि केही दिन शूटिङ गरिसक्दा पनि उनले बुझ्न सकिरहेका थिएनन् कि उनी याे सिनेमा बनाइरहेका छन् वा केटाकेटीहरु याे सिनेमा बनाइरहेका छन्। उनी फिल्मका निर्देशक हुन् वा केटाकेटीहरु हुन्।

किनभने, उनीहरुकाे व्यवहारले उनीहरुलाई केटाकेटीहरुलाई जसरी हाेइन, बरु वयस्कहरुलाई जसरी व्यवहार गर्न माँग गरिरहेकाे हुन्थ्याे। उनीहरु आफ्ना हाेमवर्क गर्थे। बेनफ दादाचंदजी, जसले यस सिनेमामा शाशाकाे भूमिका निभाएकी छिन्, हरेक बिहान ‌सिवनकहाँ आउँथिन्, उसलाई एक big smile दिन्थिन् अनि बिस्तारै आफ्नाे अनुहार अँध्यारो बनाउँथिन्। अनि केहीछिन पछि साेध्थिन् – ‘कस्ताे छ मेराे एक्सप्रेसन? कस्तो लाग्याे तपाईंलाई मेरो एक्सप्रेसन?’ याे उनकाे क्लाइमेक्सकाे सिनकाे रिहर्सल थियाे। उनी खासमा आफ्नाे क्लाइमेक्सकाे सिनकाे तयारी गरिरहेकी थिइन्। यसप्रकार उनीहरुसँग काम गर्नु सिवनलाई अत्यन्त सजिलाे लाग्याे।

यी केटाकेटीहरुमात्र हैन, उनीहरुका अभिभावकहरु पनि अत्यन्त सहयोगी थिए। उनीहरु पनि आफ्ना सन्तानहरुले कुशलतापूर्वक अभिनय गरून् भन्ने चाहन्थे। त्यसकाे लागि व्यग्र देखिन्थे। यस सिनेमाकाे शूटिङमा पिकनिकजस्तै माहौल हुन्थ्याे, जुन सिनेमाकाे लागि धेरै राम्राे थियाे। किनभने सिनेमा बनाउनु निर्देशककाे मात्र काम हाेइन। याे एक सामुहिक काम हाे, एक सामुहिक यज्ञ जसमा सबैकाे याेगदान अनिवार्य छ।

‘हलाे’ ले राष्ट्रिय फिल्म समाराेहमा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जितेकाे थियाे।

पहिलाे, सर्वश्रेष्ठ बाल फिल्मकाे राष्ट्रिय फिल्म पुरस्कार।

दाेस्राे, स्पेशल मेन्सनकाे प्रमाणपत्र।

र,

तेस्राे, शाशाकाे चरित्र निभाउने बाल कलाकार बेनफ दादाचंदजीलाई स्पेशल जुरी अवार्ड।

राष्ट्रिय फिल्म पुरस्कारमा स्पेशल जुरी अवार्डलाई सर्वाधिक महत्वकाे अवार्ड मानिन्छ।

बेनाफ दादाचंदजी

सारमा, यस सिनेमाले शाशामार्फत् दर्शकहरुलाई संवेदनशील र मानवीय बन्न प्रेरित गर्छ। यस सिनेमाले सिनेमा निर्माणकाे अनाैठाे शैली, शिल्प, संरचना र व्याकरणसँग दर्शकहरुलाई परिचित गराउँछ। थुप्रै फिल्म फेस्टिबलहरुमा पुरस्कृत याे सिनेमा एकपटक अवश्य हेर्नुपर्छ।

 

@Prabhas733

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID