एकीकृत समाजवादी पार्टीको रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद

गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ८ भदाै

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको रणनैतिक लक्ष्यमा वैज्ञानिक समाजवाद राखेको छ ।

कम्युनिष्टको आधारभूत रणनीति समाजवाद नै भएपछि पछिल्लो समय शान्तिपूर्ण राजनीति अंगालेका कम्युनिष्टहरुले वैज्ञानिक समाजवाद भन्न छाडेका थिए । केही दिनअघि सम्पन्न नेकपा माओवादी केन्द्रको बैठकले वैज्ञानिक समाजवादलाई रणनैतिक लक्ष्य मानेर अघि बढ्ने निर्णय गरेको थियो भने एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पनि वैज्ञानिक समाजवादलाई रणनैतिक लक्ष्य भनेको छ ।

विप्लव नेकपाले अहिले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह नै हुनुपर्ने बताउँदै आएको छ भने मोहन बैद्य, मोहनविक्रम सिंहलगायतले नेतृत्व गरेका दलहरुले पनि वैज्ञानिक समाजवादलाई आधारभूत लक्ष्यको रुपमा अघि सार्दै आएका छन् ।

वृहत कम्युनिष्ट ध्रुवीकरणको बहस चलिरहेको बेला पछिल्लोपटक माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत वैज्ञानिक समाजवादको पक्षमा गरेका निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सो पार्टीले अन्तरिम विधान २०७८ पारित गरेको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।

जसअनुसार यो पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । पार्टीको विधान र घोषणापत्रमा जबजका मान्यताहरुको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्न वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाइएको उल्लेख छ ।

सो पार्टीको अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी रहनेछन् भने केन्द्रीय कमिटीमा ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ ।

महाधिवेशन नहुन्जेल १५१ सदस्यीय केन्द्रीय समिति राष्ट्रिय परिषदले निर्वाचन गर्ने विधानमा उल्लेख छ । त्यसमध्ये ५१ सदस्यीय पोलिटव्युरो र २१ सदस्यीय स्थायी समिति रहने विधानमा उल्लेख छ ।

प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था छ ।

मा प्रकाशित