समाजवादको प्रसव वेदना र माओवादी केन्द्रको साधना

जगप्रसाद शर्मा `अपार´

संघर्षले जीवनको जन्म दिन्छ, जीवनले संघर्षलाई नेतृत्व प्रदान गर्दछ । यो अनन्तकालसम्म चलिरहने ऐतिहासिक प्रकृया हो । पुरानो उत्पादन सम्बन्ध र नयाँ उत्पादक शक्तिबीचको संर्घष जब उत्कर्षमा पुग्छ तब नयाँ उत्पादन प्रणाली जन्मिन्छ । आफैभित्र जन्मिएका नयाँ भ्रुणहरुले नै स्वयमकाे अन्त्य गरिदिन्छन् । दास युगकै गर्भभित्र जन्मिएका नयाँ भ्रुणहरुले दास प्रथाको अन्त्य मात्रै गरेनन्, सामन्ती युग अस्तित्वमा ल्याए । सामन्ती युगकै गर्भमा जन्मिएका भ्रुणहरुले पुँजीवादी युग अस्तित्वमा ल्याए । अब पुँजीवादी युगको गर्भभित्र जन्मिएका भ्रुणहरुले एकातिर पुँजीवादको अन्त्य गर्नेछन् भने अर्कोतिर समाजवादको जन्म दिनेछन् । यो समाज विकासक्रमको नियम हो, यो सार्वभौम छ र शास्वत छ ।

समाज विकासक्रमको नियम जसले बुझ्छ, लागु गर्छ, उसले मात्रै नेतृत्व प्रदान गर्न सक्छ । अबको सिंगो समाजको भविष्य समाजवादमा मात्र छ । नेपाल र नेपाली समाजको भविष्य समाजवादबाहेक अन्यत्र कतै छैन । यति बेला हाम्रो समाजवाद प्रसव वेदनाबाट गुज्रिरहेको छ । यो प्रसव वेदना भनेको पूँजीपति वर्ग र श्रमजीवी मजदूर वर्गबीचको संघर्ष हो । पुँजीवादी उत्पादन सम्बन्ध र समाजवादउन्मुख उत्पादक शक्तिबीचको संघर्ष हो । अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो । राष्ट्रि«य स्वाधीनता र राष्ट्रि«य आत्मसर्मपणवाद बीचको संघर्ष हो । समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षक बन्ने कि भक्षक बन्ने भन्नेमा नै हो । नेपाल र नेपालीको भविष्य संकटग्रस्त बन्दै गरेको पुँजीवादमा हैन, प्रसव वेदनाबाट गुज्रिरहेको सुन्दर समाजवादमा मात्र अन्तरनिहीत छ ।

ऐतिहासिक दृष्टिकोणबाट हेर्दा नेपालमा एकातिर सामूहिक अभ्यासका प्रशस्त अवशेषहरु भेटिन्छन् भने अर्कोतिर स्वतन्त्रता, स्वाभीमान र समानताका लागि बलिदानीपूर्ण संघर्षहरुको गौरवपूर्ण इतिहास भेटिन्छ । धेरै लामो र कठिन राजनीतिक संघर्षपछि ऐतिहासिक संविधानसभाबाट समाजवादउन्मुख संविधान बनेको छ भने अर्कोतिर इस्पातजस्तै खारिएर आएको र बहुसंख्यक बाम जनमत छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा आफ्नो स्थापनाकालदेखि कहिल्यै नझुकेको र नगलेको कम्युनिष्ट पार्टी छ । निरंकुश सामन्ती राजतन्त्र ढलिसकेपछि अगाडि आएको दलाल, नोकरशाही, पूँजीवादले आफ्नो मालिकको आडभरोसामा आफूलाई केही बलशाली देखाउन खोजे पनि कमजोर बन्दै गएको छ । छिमेकी राष्ट्र चीनलगायत विश्वका कतिपय देशहरु आफ्नै मौलिकता र विशेषता बोकेको समाजवाद अभ्यास गरिरहेका छन्, जो हाम्रा लागि अनुकरणीय उदाहरणहरु बनिरहेका छन् । उपरोक्त संक्षिप्त विश्लेषणले के देखाउँछ भने नेपालमा समाजवाद निर्माणको आधार मजबुत बन्दै गइरहेको छ ।

संविधानको मूल प्रस्तावनामै समाजवादउन्मुख संघीय लोकतन्त्र उल्लेख हुनु, व्यापक र बलियो बाम जनमत हुनु समाजवाद निर्माणको सबैभन्दा बलियो सम्भावना र आधार हो । यो विशेष सम्भावनालाई वास्तविकतामा बदल्ने पवित्र इच्छासहित शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यअनुरुप २०७४ मंसिरको आम चुनाव (¬संघ र प्रदेश) मा माओवादी केन्द्र र एमाले पार्टीबीच चुनाबी गठबन्धन गरियो । यो गठबन्धनलाई ५० लाखभन्दा बढी मतदाताले अनुमोदन गरे । झण्डै दुई तिहाइ मत गठबन्धनको पक्षमा व्यक्त भयो । २०७५ जेठ ३ गते मदन आश्रितलाई विशेषढंगले स्मरण गर्दै पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भयो । नेपाल र नेपाली जनतामात्रै होइन, विश्वभरिका मुक्तिगामी जनसमुदायहरुमा खुशीको नयाँ तरंग पैदा भयो । विडम्बना ३ वर्ष पुग्दानपुग्दै कम्युनिष्ट केन्द्र अर्थात एकताको खुशी र हाँसो दुःख आँशुमा परिणत भयो ।

केपी ओली प्रवृत्ति एकताको लागि भयानक ढंगले बाधक बनेर आयो । कम्युनिष्ट केन्द्र बनाउने नियत र उद्देश्य अथवा नेपालका सबै कम्युनिष्टहरु एउटै केन्द्रमा केन्द्रित हुने अभियान कहिल्यै गलत हुँदैन । माओवादी र एमालेको एकता ठीक थियो, ठिक छ र ठिक भइरहेको छ । योभित्र देखापर्ने पात्र र प्रवृत्ति खराब हुन सक्छन् । इतिहास निर्मम हुन्छ । भविष्य त्यसको हकदार हुन्छ । केपी प्रवृत्ति एकदिन सबैले बुझ्ने गरी सतहमा आउने नै छ । पार्टी एकता केवल दुई तिहाइ जनमत, प्रम र राष्ट्रपतिका पद प्राप्ति, असीमित रुपले जागेको शक्तिको भोक र नयाँ महाराजा बन्ने कुत्सित मनशायमात्र लुकेको रहेछ । तर पनि पार्टी एकता गर्नु सही थियो । बरु केपी प्रवृत्ति समयमै चिन्न नसक्नु र सिंगो पार्टी पंक्तिलाई बुझाउन नसक्नु गम्भीर गल्ती भएको छ ।

कम्युनिष्ट पार्टीको मूल नेतृत्वको सरकारले संविधान मिचेको, लोकतन्त्र मासेको र राष्ट्रियतामा आँच पु¥याएको समग्रमा प्रतिगामी कदम चालेको तीतो सत्य सबैका सामु छर्लंग छ । कम्युनिष्ट पार्टीले नै मूल नेतृत्वका विरुद्ध झण्डा उठाएर सडक, सदन र अदालतसम्म पुगेर प्रतिगमन ढालेको ऐतिहासिक परिघटना पनि स्पष्ट नै छ । आन्दोलनका उपलब्धिहरुको रक्षा गरेर मात्र थप उपलब्धिहरु प्राप्त गर्न सकिन्छ । उपलब्धिहरुको रक्षा गर्न र थप उपलब्धिहरु प्राप्त गर्नको निम्ति आफ्नो शक्तिमात्र पर्याप्त नहुँदा संयुक्त मोर्चा गठन गर्नु स्वाभाविक नै हो ।

यतिबेला बाम लोकतान्त्रिक गठबन्धनले प्रतिगमन परास्त गर्दै सरकारको नेतृत्व गरिरहेको छ । संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र सुशासन कायम गर्र्दै समृद्धिलाई नयाँ उचाइँ प्रदान गर्ने कार्यभार पूरा गर्दै छ । एकातिर प्रतिगमनलाई सम्पूर्णरुपले परास्त गर्नुछ भने अर्कोतिर केपी प्रवृत्तिबाट भ्रमित भएको जनमतलाई स्पष्ट पार्नु छ । एकातिर केपी प्रवृत्तिले साढे तीन वर्षसम्म गरेको फोहोर सफा गर्नु छ भने अर्कोतिर जनअपेक्षा पूरा गर्दै समृद्धिको यात्रा अगाडि बढाउनु छ । अझ सर्वाधिक ठूलो र महत्वपूर्ण कुरा माओवादी पार्टी र यसको नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै समाजवाद निर्माणको ऐतिहासकि कार्यभार पूरा गर्नु छ ।

यो कटुसत्य हो कि माओवादी पार्टी र यसको मूल नेतृत्व कमरेड प्रचण्डले अगाडि सारेको भिजन र मिसनले नै देशको परिवर्तन सम्भव भएको हो । अब पनि यही पार्टी र यही नेतृत्वले अगाडि सारेको भिजन र मिसनले मात्रै जनताको जीवनस्तर बदल्दै समाजवाद निर्माणको आधार तयार हुनेछ । मौलिक ढंगले नेपाली विशेषतासहित एक्काइसौं शताब्दीको मोडेल समाजवादी क्रान्ति सम्पन्न हुनेछ । यसको निम्ति नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण अपरिहार्य भैसकेको छ ।

पहिलो, मालेमावाद समाज विज्ञान हो, जो धर्मसुत्र हैन, कार्यमा पथप्रदर्शक सिद्धान्तको भूमिका खेल्छ । भौतिक विज्ञानको पहिलो युगमा नयाँ आविष्कारकहरु मारिन्थे । एरिस्टोटल, कपर्नीकस र ग्यालिलियो ग्यालिलीहरु त्यसैका उदाहरण हुन् । भौतिक विज्ञानको दोस्रो युगमा नयाँ आविष्कारकहरु सम्मानित र प्रतिष्ठित मात्र होइन, राज्यका गहना हुन्छन् । न्युटन, जेम्सबाट, आइन्सटाइन र हकिंग यसका उदाहरणहरु हुन् । समाज विज्ञानको क्षेत्रमा नयाँ आविष्कारकहरु अहिले पनि मारिने चलन अन्त्य भएको छैन । दास युग र सामन्ती युग बेठिक र गलत छ, शोषणमूलक छ भन्नेहरु मारिए । पुँजीवादी युग खराब छ, जसले मजद्ररको खुन चुस्छ भन्नेहरु अहिले पनि मारिन्छन् । सत्य बोल्ने मान्छे मर्छ तर सत्य मर्दैन । मालेमावादलाई नेपाली धर्तीमा प्रयोग गर्नेहरु, विकास गर्नेहरु मारिए । तर यो विज्ञान मर्दैैन । बरु केही वर्षयता वैचारिक बहस मरेको जस्तो भएको छ । तर, विचार मरेको छैन । अब नयाँ विचार सम्प्रेषण गर्ने बेला भएको छ ।

नेपालमा मौलिक ढंगले १० वर्षीय जनयुद्व, शान्तिप्रकृया, संविधानसभा, संविधान निर्माण, व्यापक कम्युनिष्ट जनमत, कम्युनिष्टहरुकै करीब दुई तिहाइको सरकार बन्नुका पछाडि नयाँ विचारले काम गरेको छ । यो सबैको संश्लेषण गर्न जरुरी भएको छ । २६ सय वर्ष अगाडिका शान्तिका अग्रदूत गौतम बुद्धको शान्तिको सन्देशदेखि अहिलेको शान्ति प्रकृया र नयाँ संविधान निर्माणसम्मका ऐतिहासिक परिघटनाको सर्वोच्च संश्लेषण गरेर मात्र समाजवादी क्रान्तिको मार्गदर्शन गर्ने विचार बन्न सक्छ ।

दोस्रो, नेपालमा जनवादी क्रान्ति गर्न नयाँ जनवादका अगाडि या पछाडि धेरै फुर्काहरु झुण्ड्याएर मूर्तिकरण गर्ने कोशिसहरु भए । जस्तै, नयाँ जनवाद, नौलो जनवाद, जनताको बहुदलीय जनवाद, परिमार्जित नयाँ जनवाद, एक्काइसौँ शताव्दिको नयाँ जनवाद, जनताको जनवाद आदि आदि । तर नेपालमा नयाँ जनवादी क्रान्ति नितान्त भिन्न ढंगले पूँजीवादी जनवादी क्रान्तिका रुपमा सम्पन्न भयो ।

नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । समाजवादको विशेषता र समाजवादी क्रान्तिको मोडलका बारेमा बहसहरु सुरु भएका छन् । प्रजातान्त्रिक समाजवाद, रुसी मोडेलको समाजवाद, चिनियाँ विशेषतासहितको समाजवाद, समावेशी समाजवाद, बहुदलीय समाजवाद आदि आदि । कस्तो समाजवाद र कसरी समाजवाद । यो आजको बहसको विषय हो । बहस कतै विचलित नहोस् भनेर कमरेड प्रचण्डले एक्काइसौं शताव्दीको वैज्ञानिक समाजवादको अवधारणा अगाडि सार्नुभएको छ । विगतका कम्युनिष्ट आन्दोलनभित्रका सबै धाराहरु केन्द्रित गर्दैै क्रान्तिको कार्यदिशालाई विकास गर्न आवश्यक भएको छ ।

तेस्रो, एक्काइसौं शताव्दिको वैज्ञानिक समाजवाद नेपाली क्रान्तिको रणनीति हो अर्थात यसलाई विशिष्ट कार्यनीति पनि भन्न सकिन्छ र कार्यनीतिले रणनीतिको सेवा गर्दछ । रणनीति समग्र हो भने कार्यनीति अंश हो । एक थाल भात रणनीति हो भने एक गास भात कार्यनीति हो । सही कार्यनीतिक श्रृंखलाले मात्र रणनीति प्राप्त हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सही कार्यान्वयन, जनताको जीवनस्तर उकास्ने गरी आर्थिक समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा, दलीय प्रतिष्पर्धामा श्रेष्ठता कायम गर्दै समाजवाद निर्माणको आधार तयार पार्नु अहिलेका कार्यनीतिक श्रृंखला हुन् । उपरोक्त कार्यनीतिक श्रृंखलाहरुको एकीकृत कार्यान्वयनले नै समग्र रणनीतिक उद्देश्य पूरा गर्न सक्छ ।

चौथो, विगत लामो समयदेखिको राजनीतिक आन्दोलनले देशको व्यवस्था त परिवर्तन भयो तर जनताको अवस्थामा भने परिवर्तन ल्याउन सकेन । राज्यको पुर्नसंरचना भयो तर राजनीतिक पार्टीहरुमा पुर्नसंरचना भएन । तसर्थ अघि बढेको वस्तुस्थिति र पिछडिएको आत्मगत स्थितिबीच अन्तरविरोध छ । राज्यको पुर्नसंरचनासँगै राजनीतिक दलहरुको पुर्नसंरचना हुनुपथ्र्यो तर हुन सकेन । माओवादी केन्द्रले भर्खर पार्टीको पुर्नसंरचनाको अवधारणा अगाडि सारेको छ । यसले आगामी राष्ट्रिय सम्मेलनसम्म पूर्णता पाउने निश्चित छ ।

वर्गीय सर्वोच्चता कायम गर्दै दलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्ने जनआधारित कार्यकर्ताहरुको पार्टी निर्माण गर्ने चुनौतीहरु खडा छन् । नेतृत्व र पूँजीमुखी कार्यकर्ता हैन, विचार र जनतामुखी कार्यकर्ता बनाउन ५० पूर्णांकको कार्यकर्ताद्धारा मूल्यांकन र ५० पूर्णांकको सम्बन्धित समितिद्धारा मूल्यांकनको विधि अपनाएर समग्र मूल्यांकन प्रणालीको विकास गर्ने । महिला, दलितलाई विशेषाधिकारसहित ३५ र १५ प्रतिशतको संख्यामा सबै कमिटिमा समावेश गराउने । १ मा ३ को सिद्धान्तअनुसार ४५ वर्ष उमेर समूह मानेर युवाहरुलाई सबै तहमा समावेश गर्ने ढोका खोल्ने । सिंगो पार्टी कमिटिहरुलाई विधि पद्धतिमा मात्र सञ्चालन गर्ने ।

पाचौं, सबभन्दा शक्तिशाली संस्कार हो । संस्कार सरकारभन्दा पनि बलियो हुन्छ । किनकि सरकार आवधिक हुन्छ, संस्कार स्थायी हुन्छ । संस्कार बदल्नु भनेको ठूलो चुनौतीको सामना गर्नु हो । साँस्कृतिक रुपान्तरण यतिबेलाको महत्वपूर्ण कार्यभार हो । सिंगो पार्टीको रुपान्तरण र सामूहिक संकल्पविना समाजको नेतृत्व गर्न सकिँदैन । समाजवादी क्रान्तिको नेतृत्व झन परको विषय हो । (लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य हुन् । ) साभार : अग्रिम साप्ताहिक

मा प्रकाशित