त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी सांसद अन्जना बिसङ्खेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत साउन २० गते मानवशास्त्र संकाय तेस्रो सेमेस्टरको परीक्षा दिन त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी प्रतिनिधिसभा सदस्य बिसङ्खेलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । परीक्षा दिएर घर फर्केपछि सोही दिन बेलुकाबाट स्वास्थ्यमा समस्या आएपछि अर्को दिन अर्थात २१ गते स्वास्थ्य जाँच गराउँदा कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद बिसङ्खेले त्रिभुवन विश्वविद्यालयले परीक्षा लिँदा लापरबाही गरेको बताएकी छन् । परीक्षा दिन गएका विद्यार्थीहरुमा कोरोना नसर्नु भनेको भगवान भरोसा हो भन्दै उनले त्रिभुवन विश्वविद्यालयको लापरबाहीलाई व्यङ्ग्य गरेकी छन् ।
बिसङ्खे नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । नवगठित देउवा सरकारमा मन्त्री नियुक्तिका लागि माओवादी बृत्तमा उनको चर्चा चुलिएको छ ।