सुडानकाे नदीमा बग्दै गरेका ३० शव भेटिए

रोयटर्स

सुडानको नदी किनारमा कम्तीमा ३० वटा शव भेटिएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। ती शवहरु इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिग्रेबाट नदीले बगाएर ल्याएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्।

इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा जारी द्वन्द्वमा मारिएकाहरुकाे शव सीमा क्षेत्रको नदीमा बगेर आएको र ती शवहरु आफूहरुले साेमबार निकालेकाे दुई इथियोपियन शरणार्थी तथा चार सुडानी प्रत्यक्षदर्शीले बताएको रोयटर्सले उल्लेख गरेको छ।

सुडान सेटिट नामले चिनिने नदी किनारमा शवहरु भेटिएका हुन्। इथियोपिया हुँदै सुडान तर्फ बग्ने सो नदीलाई इथियोपियामा टेकेजे भनिन्छ। इथियोपियाको सरकारी सेनाको नियन्त्रणमा रहेको क्षेत्र र हाल टिग्रे सुरक्षा बलले नियन्त्रणमा लिएको क्षेत्रको सिमानाका रुपमा सो नदी रहेको छ। बग्दै जाँदा सो नदी सुडान र इथियोपियाको सीमा क्षेत्रमा पनि पर्छ।

इथियोपियाको सीमावर्ती बजार हुमेराबाट बिस्थापित भएका डा. टेवूड्रोस टेफेराले समाचार संस्था रोयटर्सलाई बताए अनुसार पछिल्लो एक हप्तामा सुडानमा १० शव गाडिएको छ। यस्तै स्थानीय माझी र शरणार्थीहरुले सोमबार सातसहित २८ शव नदी किनारबाट निकालेका छन्।

छाती, पेट तथा गोडामा गोली लागेको अवस्थामा शव भेटिएका हुन्। फेला परेका मध्ये तीनजनालाई आफूले पहिचान गर्न सकेको डा. टेफेराले बताएका छन्। उनीहरु हुमेराका रहेको उनले उल्लेख गरे। भिडन्त सुरु भएपछि टिग्रेको हुमेराका धेरै बासिन्दाहरु सुडान बिस्थापित भएका छन्।

हुमेराबाट बिस्थापित भएर सुडान पुगेको एक इथियोपियन शरणार्थीले आफूले नौजनाको शव फेला पारेको बताएका छन्। उनले डोरीले बाँधेको अवस्थामा उनीहरुको शव फेला पारेको बताए। उनीहरुको शरीरमा कुटाइ वा गोलीको निशान नभेटिएकाले सबैलाई एउटै डोरीले बाँधेर नदीमा फालिएको हुन सक्ने उनले रोयटर्ससँग बताएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID